scheduleसोमवार श्रावण २६ गते, २०७७

‘सिकाइ र सहयोग’ बजारमा

काठमाडौं, २१ असार । सांग्रीला बुक्सले बन्दाबन्दी अगाडि नै मुद्रण भएका पुस्तक क्रमश: बजारमा ल्याउने भएको छ ।

सांग्रीला बुक्सका सञ्चालक मणि शर्माका अनुसार बन्दाबन्दी अघि १० बालबालिका पुस्तक सहित १३ ओटा पुस्तक मुद्रण भएर तयार भएका थिए । तर बजारमा पठाउनुअघि ‘लकडाउन’ शुरु भएकाले बजार पठाइएको थिएन ।

शर्माका अनुसार अब क्रमैसँग अड्किएका पुस्तक र अरु नयाँ पुस्तक पनि बजारमा उपलब्ध हुनेछन् । बन्दाबन्दीअघि दश विभिन्न शिर्षकका बालबालिकाका पुस्तक र खगराज बरालद्वारा लिखित ‘सिकाइ र सहयोग’ शिक्षा सम्बन्धि पुस्तक, जीवनप्रसाद राइद्वारा लिखित ‘समृद्धिका आधार’ र यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ प्रेसबाट आइसके पनि बजारमा पठाउन सकिएको थिएन, अब आइतबार बाट क्रमै संग यी पुस्तक बजारमा पठाइने शर्माले जानकारी दिए ।

आइतबारबाट सांग्रीला बुक्सले खगराज बरालद्वारा लिखित पुस्तक ‘सिकाइ र सहयोग’ बजारमा उपलब्ध गराउने उनले जानकारी दिए ।

‘सिकाइ र सहयोग’ पुस्तक सिकाइका प्रारूप– सुनाइ, बोलाइ, पढाइ र लेखाइका बारेमा विहंगम जानकारी दिने पुस्तक हो । लेखकले शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न विभाग र मन्त्रालयमा रहेर काम गर्दा शिक्षासम्बन्धि सैद्धान्तिक र व्यवहारिक समास्या र चुनौतीसँग आफुले सामना गर्नुपरेका अफ्ठ्यारा र तिनका सम्भावित निराकरणका बारेमा पुस्तकमा सरल तरिकामा वर्णन गरेका छन् ।

लेखकको यसअघि ‘सिकाउने शैली’ पुस्तक सांग्रिला बुक्सद्वारा नै प्रकाशित छ । पुस्तकका सन्दर्भमा लेखक भन्छन्, ‘सिकाउने शैलीमा शिक्षण सिकाइका विषयहरु कमै समेटिए, शिक्षा सेवामा लामो समय काम गर्दा कार्यक्षेत्रमा देखिएका, भोगिएका कुराहरु समेटिएको अघिल्लो पुस्तकमा नअटाएका र शैक्षिक प्रक्रिया सम्बद्ध विषय ‘सिकाइ र सहयोग’ पुस्तकमा उल्लेख गरेको छु ।’

लेखक बराल हाल नेपाल सरकारको सचिवको रुपमा कार्यरत छन् । उनका यस अघि करिब एक दर्जन विभिन्न विषयका पुस्तक प्रकाशित छन् । यो पुस्तकलाई थुप्रै अनलाइनसँगको सहकार्यमा सांग्रीला बुक्सले इ-बुक फर्म्याटमा समेत उपलब्ध गराएको छ ।

पुस्तक अमेजन, बार्न्स एन्ड नोबल जस्ता साइटमार्फत संसारका जुनसुकै ठाँउमा रहनुभएका पाठकले समेत पेपरब्याक संकरण पुस्तक प्राप्त गर्न सक्ने कुरा थुप्रैका सञ्चलाक राजु गोतामेले जानकारी दिएका छन् । ‘सिकाइ र सहयोग ‘ पुस्तकको मूल्य रु तीनसय पञ्चानब्बे रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय