scheduleबुधवार श्रावण २८ गते, २०७७

शितलनिवासमा पुगेर झलनाथले भने- चाहेको भए यहाँ म निकै पहिले नै पुगिसक्थेँ

काठमाडौं, २१ असार । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आइतबार राष्ट्रपति निवास शितलनिवास पुगे । उनीसँगै थिए नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।

राष्ट्रपतिलाई महाअभियोग लगाएर झलनाथलाई राष्ट्रपति बनाइँदैछ भन्ने हल्ला बालुवाटारबाटै चलिरहेको छ । यही हल्लाबारे सल्लाह गर्न पुगेका पूर्वप्रधानमन्त्री त्रयमध्ये झलनाथले राष्ट्रपति विद्या भण्डारीले अघि सरेर ‘हल्लाको पछि नलाग्न’ सल्लाह दिएको जानकारी प्राप्त भएको छ ।

‘हुन त मलाई समेत जोडेर हल्ला गरिएको छ,’ झलनाथको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंलाई हटाएर म रास्ट्रपति बन्न लागेको खबर हल्ला मात्रै हुन् । चाहेको भए म निकै पहिले नै यहाँ पुगिसक्थेँ ।’

उनले परिस्थिति जटिल भएको भन्दै राष्ट्रपतिलाई गम्भीर र संवेदनशील बन्न आग्रह पनि गरे । ‘यहाँ बस्नेले फुकेर पाइला चाल्नुपर्छ, पार्टीको नेताजस्तो बन्नुहुन्न, पक्षधरता देखाउन हुन्न, एकथरीको मात्रै कुरा सुन्दा गरिमामय संस्था बदनाम नहोस् ।’

निस्कने बेला झलनाथको कुरा थियो, ‘म भएको भए पर्याप्त सल्लाह नगरी कुनै पनि आदेश या अध्यादेश जारी गर्दिन थिएँ ।’

मन्त्रिपरिषदबाट सिफारिस हुनासाथ राष्ट्रपतिले आँखा चिम्लिएर हतारहतारमा अध्यादेश स्वीकृत गरेको प्रसंग झलनाथले स्मरण गराएका हुन् ।

केही समयको कुराकानीको क्रममा नेतात्रयले राष्ट्रपतिलाई भने, ‘यो गरिमामय ठाउँ हो, यहाँबाट अविभावकीय भूमिकाको अपेक्षा गरिन्छ ।’

‘पार्टी आफ्नो समस्या समाधान गर्न सक्षम छ, राष्ट्रपतिजस्तो संस्थालाई विवादमा नल्याउनु नै भलो होला,’ प्रचण्डले घुमाउरो भाषामा राष्ट्रपतिलाई चेतावनी पनि दिएको स्रोतको दावी छ ।

नेतात्रयलाई राष्ट्रपति भण्डारीले ‘सबैको कुरा सुनेर निर्णय गर्ने’ आश्वासन दिएकी बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय