scheduleशनिवार श्रावण २४ गते, २०७७

रित्तिँदै ओलीका अस्त्रहरुः न वामदेव धर्मराए, न दाहाल-नेपाललाई रिङ्गटा लाग्यो

काठमाडौं, २१ असार । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्ना खास झुण्ड बाहेक अरुका कुरा सुन्दैनन् । कुनैपनि कुरा कति सत्य छन् भन्ने नबुझी तत्काल प्रतिक्रिया फर्काउने र आफ्नो अडानमा चाहिँ अडिने नेता हुन् उनी । ओलीको यही जब्बर बानीका कारण पार्टी भित्रबाटै उनलाई हटाउने, गलाउने, थकाउने, फकाउने कुनै पनि प्रयास सफल भैरहेको छैन ।

हिजो गणतन्त्रको नारा लिएर जनता रत्नपार्कमा निस्कँदा ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने ओली नै हुन् । आज गणतन्त्र स्वीकार गरेर प्रधानमन्त्री हुँदा पनि उनि फेरिएका छैनन् । आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजीनामा माग्ने कुरामा होस् वा माओवादीसँग एकता गर्नेबेलामा होस् ओलीको बोलीमा जे आउनुपर्ने त्यै आईरह्यो ।

आजको दिनमा पनि लकडाउनमा कसैले दुःख पाएको छैन भन्नेदेखि तातोपानीले हात धोएर फ्याटीय तत्त्व पखाले कोरोना भाग्छ भन्ने कुरासम्म र कोरोनाले कोहि मरेको छैनदेखि बेसारपानी र हाछ्युँसम्म ओली आफ्नै कुरामा अडीग छन् । कोरोनाले ३४ जनाको मृत्यु भैसक्दा पनि प्रधानमन्त्री ओलीले ‘कोरोनाबाट भएको मृत्यु’ भन्ने स्वीकारेकै छैनन् ।

पछिल्लो समय पार्टी स्थायी कमीटी बैठक र प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट उनको राजीनामाको बिषयमा पनि ओली अडीग छन् । अझै भन्दैछन्, ‘मैले राजीनामा दिन्न, जसलाई जे गर्नु छ गरे भैहाल्यो ।’

सायद प्रचण्ड, माधव नेपाल,झलनाथ खनालको नाडी राम्रैसँग छामेको छु भन्ने लागेर होला ओली कुनै पनि अवस्थामा प्रचण्ड–नेपाल गुटलाई पार्टी र सरकारको नेतृत्व जिम्मा लगाउने पक्षमा छैनन् ।

भारतसँग आफ्नै पार्टीका नेता मिलेकोदेखि राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजेको कुरा पनि उनैले खुलाशा गरे । बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कित्ता क्लियर गर्न समेत निर्देशन दिएका ओली कुनैपनि अवस्थामा पछि हट्ने मनस्थितिमा देखिँदैनन् ।

सडकमा युवा विद्यार्थीले ओली हटाउन पाईंदैन भन्नु र पार्टीका अन्य नेतालाई भारतीय इशारामा लागेको आरोप आफैंले लगाउनुले पनि यो कुराको पुष्टि सजिलै गर्दछ ।

एक्लै पनि प्रचण्ड–नेपाल गठबन्धनसँग लडिरहेकाबेला ओलीले आवश्यक परेको बेला पुनः काँग्रेसको साथ पनि खोजेका छन् । सोही कामको लागि सुवास नेम्वाङलाई जिम्मा दिएका ओलीले प्रचण्ड–नेपाल गठबन्धनबाट पनि केहि नेतालाई आफ्नो गुटमा तान्न विष्णु पौडेल, शंकर पोखरेल लगायतलाई जिम्मा दिएका छन् ।

ओलीले प्रचण्ड–नेपाल गठबन्धनबाट अर्का नेता वामदेव गौतमलाई साथ लिन खोजिरहेका छन् । उनै वामदेवलाई ओलीले यस अघिको बैठकमा प्रधानमन्त्री बन्ने प्रस्ताव गरेर तरङ्गीत बनाईदिएका थिए ।

फेरी ओलीले आफ्ना विश्वासपात्रलाई वामदेव निवास पठाएर पार्टी अध्यक्षकै प्रस्ताव छाडिदिएका छन् । यो प्रस्तावले गौतमको मन धर्मराउने र प्रचण्ड–नेपाललाई रिगंटा लाग्ने अनुमान ओली पक्षले गरेको छ ।

वामदेवलाई भैंसेपाटी गएर फकाउनेदेखि शितलनिवास बोलाएर थर्काउनेसम्मको सबै हत्कण्डा प्रयोग गर्दा पनि वामदेव धर्मराएका छैनन् । विगतमा पाएका धोकाबाट वामदेव वाक्कदिक्क भइसकेकोले धर्मराउने सम्भावना कमै रहेको उनी निकट स्रोतले दावी गरेको छ ।

दाहाल-नेपाल गठबन्धनमा पनि एकअर्कालाई अविश्वास हुनेगरी काम नगर्न र ओली पछि नहटेसम्म नछाड्नेगरी हस्ताक्षर नै भइसकेको खुमलटार स्रोतले जनाएको छ ।

ओलीले आफु कुनै पद नछाड्ने तर प्रचण्ड–नेपालले यहि कुरालाई बटमलाईन बनाएर आउने हो भने पार्टी फुटाएपनि केहि नहुने निश्कर्ष निकालेका छन् ।

उनका सहयोगीले त अर्का अध्यक्ष प्रचण्डलाई नेकपामा भाडा ल्याईएको समेत भन्न थालेका छन् । प्रचण्डले ओलीको राजीनामा माग्नु भाडावालाले घरबेटी निकाल्न खोजेको जस्तै हुने उनीहरुको तर्क छ ।

‘प्रचण्ड माओवादीमा हुँदा के–के गरेर आउनुभयो बुझेकै छौं,’ एक नेता भन्छन्, ‘ओलीलाई निकालेर आफु एकलौटी गर्छु भन्ने कसैले नसोचे पनि हुन्छ ।’

तर्क गरेर, कुतर्क गरेर, जसरी हुन्छ ओली पार्टी सत्ता र सरकार दुवै छाड्न चाहँदैनन् । उनका लागि लोकप्रिय समाधान अर्थात् ढोकाहरु बन्द छन् । अब झ्यालबाट निस्किने अर्थात् अलोकप्रिय बाटोका लागि पनि उनी तयार हुन थालेका छन् ।

नेपाली कांग्रेसलाई महत्वपूर्ण मन्त्रालय लिएर अगाडि बढ्ने प्रयासमा पनि कांग्रेसको प्रतिक्रियासँगै झड्का लागेको छ । कांग्रेसले दोस्रो बनेर सत्ता साझेदारी नगर्ने प्रतिक्रिया दिएपछि ओलीलाई अर्को झड्का लागेको हो ।

अब ओलीसँग पार्टी फुटाएर पनि प्रधानमन्त्री छाड्नुपर्ने अवस्था सिर्जना भएको विश्लेषण गर्न थालिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय