scheduleबुधवार श्रावण २८ गते, २०७७

नेकपा विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय

 

काठमाडौँ, २२ असार । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् ।

सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौपचारिक गृहकार्य जारी छ ।

आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिक रुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ ।

कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँच बुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ ।

मन्त्रीसमेत रहेका स्थायी कमिटीका सदस्यद्वय घनश्याम भुसाल र योगेश भट्टराईले स्थायी कमिटीको बैठकमा विवाद बढेपछि सहमतिका लागि शीर्ष नेताहरुलाई सार्वजनिक आग्रहका साथै आफ्ना तर्फबाट विभिन्न पहल गरिरहेका छन् ।

स्थायी कमिटीका अर्का सदस्य टोपबहादुर रायमाझीले समृद्धि र स्थिरताका लागि मिलेर काम गर्नुपर्ने समयमा अहिले सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गर्दै आएका छन् ।

यसरी हेर्दा नेकपाभित्रको विवादमा पूर्व समूहरुको धार वा कुनै वैचारिक मतभेद भन्दा पनि शक्ति सङ्घर्ष र आपसी समन्वयको बेमेल मात्रै देखिन्छ ।

पार्टीलाई एकताबद्ध बनाउन युवा नेता हिमाल शर्माको पहलमा ५३ जना केन्द्रीय सदस्यबीच आइतबार जुम बैठक भएको थियो भने ती नेताहरुले आज पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराहीमा उपस्थित भइ दबाब दिने कार्यक्रम तय गरेका छन् ।

शर्माका अनुसार “पार्टी एकता अपरिहार्य छ । विभाजनको छुट कसैलाई छैन । यो आम कार्यकर्ताको आवाज हो ।” भन्ने सन्देशसहित कार्यालयमा साङ्केतिक धर्ना दिइनेछ । अर्का युवा नेता ठाकुर गैह्रेलगायतले केहीदिन अघि सो कार्यालयमा यस्तै प्रर्दशन गरेका थिए ।

नेकपाको प्रदेश नं १ का १४ वटा जिल्ला अध्यक्ष र सचिवले पनि सार्वजनिक अपिल गरी एकताका लागि दबाब दिएका छन् ।

यही असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद छताछुल्ल भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएपछि प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने अन्य कुरामा छलफल गर्न आफू तयार भए पनि राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिँदै आएका छन् ।

दोस्रो तहका नेताहरुले जनताको कार्यादेशअनुसार अस्थिरता ल्याउने र कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गरी कुनै निर्णय वा फुटको स्थितिमा नगई पार्टी एकताबद्ध भई समृद्धि र स्थिरताका लागि एकताबद्ध भएर लाग्न दबाब दिँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय