scheduleसोमवार श्रावण २६ गते, २०७७

तनहुँमा ६७ जनाले जिते कोरोना

तनहुँ, २२ असार । तनहुँमा सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट  फर्किएसँगै हालसम्म निको भएर घर फर्किनेको संख्या ६७ पुगेको हो ।

उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सोमबार निको हुनेमा सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका १८ जना, म्याग्दे गाउँपालिकाका ६ जना, व्यास नगरपालिकाका ५ जना र भानु नगरपालिकाका ३ जना रहेका छन् ।

आइसोलेशनमा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा रिपोर्टमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए ।

भारतबाट आएका उनीहरु दुई हप्तादेखि क्याम्पसको आइसोलेशनमा रहेर उपचार गराउँदै आएका थिए । भारतबाट फर्किएर पालिकाले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा स्थान्तरण गरी उपचार थालिएको थियो ।

क्याम्पसको आइसोलेशनमा रहेका अन्य ६ जनाको उपचार भइरहेको छ । जिल्लामा हालसम्म १४० जना कोरोना सङ्क्रमित पुगेका छन् भने उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय