scheduleशनिवार श्रावण २४ गते, २०७७

भूमिगत नामले बालुवाटारमा हाँसो, प्रधानमन्त्री नै झुक्किन्छन्

प्रतिक भट्ट

काठमाडौं, २३ असार । नेकपाभित्रको विवाद आफ्नै ठाउमा पेचिलो बन्दैछ । बैठक भन्ने बित्तिकै केही नेताको पसिना छुट्छ । बैठकस्थल प्रायः सरकारी निवास बालुवाटार हुने भएकोले त्यहाँ भित्र छिर्ने बित्तिकै धेरैको अनुहार मलिन देखिन्छ ।

पार्टी भित्रको विवादले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निद्रा खल्बलिएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना रुच्नै छाडेको छ । तर, बैठक स्थल प्रवेशदेखि बैठक बस्दा, निस्कँदा र छलफल चलिरहँदा कहिलेकाँही हाँसो ठट्टा पनि हुने गरेको नेताहरु बताउँछन् ।

खासगरी पूर्वमाओवादी नेताको नाम अध्यक्ष ओली र प्रचण्डले बोलाउँदा फरक फरक सुनिन्छ । मान्छे एउटै तर नाम अध्यक्षपिच्छे फरक । बैठकमा रामबहादुर थापालाई अध्यक्ष ओलीले थापाजी भनेर बोलाउँछन् र प्रचण्डले बादलजी भन्छन् । उर्जामन्त्री बर्षमान पुनलाई ओलीले बर्षमानजी भन्छन्, प्रचण्डले अनन्तजी भन्छन् ।

अध्यक्ष ओलीले नामै लिएर बोलाउने नेतालाई प्रचण्डले जनार्दन शर्मालाई प्रभाकर, देवेन्द्र पौडेललाई सुनिल, टोपबहादुर रायमाझीलाई अनिल र शक्ति बस्नेतलाई सुरेशसिंह भनेर बोलाउँछन्; जब उनिहरुको भूमिगत नाम माओवादीमा मात्रै चल्थ्यो । स्वयं प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई दाहालजी, अध्यक्षजी मात्रै भन्छन् । ‘प्रचण्ड’ शब्द उनि उच्चारण गर्न खोज्दैनन् ।

बालुवाटारमा जब प्रचण्डले भूमिगत नामले नेताहरुलाई बोलाउँछन् अनी अर्का अधयक्ष ओली पुलुक्क हेर्छन् र फिस्स हाँस्छन् । अध्यक्ष ओली हाँसेपछि कुरो बुझेजसरी केही नेता गलल हाँसिदिन्छन् र औपचारिक-अनौपचारिक बसाईमा मनोरञ्जन थपिन्छ ।

माओवादीमा केही नेतालाई वास्तविक नामले भन्दा पार्टी नामले बढी चिनिन्थ्यो । जस्तै- प्रचण्ड, बादल, गौरव, अनन्त, अनिल, सुनिल, रोशन चलेका नाम हुन् । तर देव गुरुङको पार्टी नाम कान्छाबहादुर, कृष्णबहादुर महराको अमरसिंह, अग्नि सापकोटाको कञ्चन, पम्फा भुसालको विद्युत, लेखराज भट्टको राकेश भएपनि यी नामले भन्दा वास्तविक नामले नै यी नेता चिनिए ।

पार्टी एकता भैसकेपछि पनि केही नेताको भूमिगत नाम लिएर बोलाईएको कुराले नेकपामा हाँसो मजाक हुने गरेपछि अहिले बोल्ने बेलामै नेताहरु सच्याएर बोल्न थालेका छन् ।

तर कतिपय अवस्थामा त नेता आफ्नै अगाडी भएपनि भूमिगत नामले बोलाउँदा प्रधानमन्त्रीले नचिन्ने गरेको थुप्रै उदाहरण रहेको नेकपाका एक स्थायी कमीटी सदस्यले बताए ।

‘पार्टी प्रवक्तामै प्रधानमन्त्री झुक्किनुहुन्छ’ ती नेता भन्छन्, ‘बैठक सकिएपछि अध्यक्ष प्रचण्डले अब बाँकी कुरा मिडियालाई प्रवक्ता कमरेड प्रकाशले बोल्नुहुन्छ भनिदिनुहुन्छ, अनि प्रधानमन्त्री पुलुक्क हेर्नुहुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय