scheduleबुधवार श्रावण २१ गते, २०७७

‘भारतीय दलाल’हरुको म्युजिकल चेयर

विश्वदीप पाण्डे

तत्कालीन माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतीय दलाल’ भनेको भिडियो अझै सामाजिक सञ्जालमा घुमिरहेको हुन्छ । त्यसमा प्रचण्डले भनेका छन्, ‘यी केपी ओली भन्ने मान्छे मान्नुस कि वामपन्थी आन्दोलनभित्रका सूर्यबहादुर थापा जस्तै हुन् । यी नेपालको कम्युनिष्ट आन्दोलनभित्रका भारतीय दलाल हुन् ।’

यिनै प्रचण्डलाई यसपटक तिनै केपी ओलीले ‘भारतीय दलाल’ करार गर्दिए । नक्सा प्रकरणपछि ‘भारतीय दलाल’ आफ्नो सरकार हटाउन सक्रिय भएको भन्दै ओलीले अन्तर्पार्टी संघर्षमा ‘भारतीय दलाल’ को रक्षाकवच प्रयोग गरे । ओलीले यसपाली प्रचण्डलाई मात्र हैन, माधब नेपाललाई पनि ‘भारतीय दलाल’ को कित्तामा धकिलिदिए ।

रमाइलो कुरा के छ भने एकिकृत महाकाली सन्धी र एमाले पार्टीको छैठौं महाधिवेशनको सेरोफेरोमा ‘माधब–केपी’ एउटै प्याकेजभित्र ‘भारतीय दलाल’ थिए । वामदेव गौतम् समूहले उनीहरुलाई लामो समयसम्म ‘भारतीय दलाल’ करार गरिरह्यो । २०५६ को आम निर्वाचनमा शुन्य सीट हासिल गरेपछि वामदेव गौतम नेतृत्वको तत्कालीन नेकपा (माले) फेरि एमालेमै विलय भयो । त्यसपछि गौतमले माधव–केपीमाथिको ‘भारतीय दलाल’ को बिल्ला स्थगन गरे ।

माओवादी आन्दोलनभित्र प्रचण्ड डा. बाबुराम भट्टराईलाई बदनाम गर्न ‘भारतीय दलाल’ को थेगो प्रयोग गर्थे । राजा ज्ञानेन्द्रको ‘कु’ पछि राजासँग मिलेर सत्तासाझेदारी गर्ने कि तत्कालीन ७ दलीय संसदवादी दलसँग मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशामा जाने भन्ने विवाद चर्किएका वेला प्रचण्डले भट्टराईलाई जनमुक्ति सेनाको गिरफ्तारीमा राखेका थिए, त्यसको आरोप त्यही ‘भारतीय दलाल’ थियो ।

नेपाली राजतीतिमा ‘भारतीय दलाल’ विरोधी पक्ष वा पार्टीलाई डाम्ने सजिलो उपाय हो । जसलाई ‘भारतीय दलाल’ भन्दियो, जनताले सजिलै पत्याउँछन् र उसमाथि हावी हुुन सकिन्छ भन्ने सोच नेपाली राजनीतिकर्मीहरुको मानसिकताबाट कहिल्यै गएन ।

यो म्युजिकल चेयरको खेलमा कहिले कस्कोे पालो, कहिले कस्को । यो कार्ड सधै प्रचण्डले खेल्न सम्भव थिएन, यसपटक ओलीले खेल्दिए । महाकाली सन्धि पश्चात् निरन्तर ‘भारतीय दलाल’ को आरोप खेपेका ओलीले ‘भारतीय दलाल’ले डाम्दा हुने पीडाको राम्रो अनुभूति गरेका थिए । यसपटक आफ्नै सहकर्मी दाहाल–नेपालतिर फर्काइदिए ।

विश्वदीप पाण्डे

नेपालमा ‘भारतीय दलाल’ बन्ने, बनाउने खेलको लामो इतिहास छ । २००७ सालमा राणा, शाह र कांग्रेसको त्रिपक्षीय दिल्ली–सम्झौतापछि नेपाली कांग्रेस र बिपी कोइरालालाई बदनाम गर्न कम्युनिष्टहरुले यो प्रचलन प्रारम्भ गरेका थिए । दिल्ली सम्झौता कस्तो अवस्थामा कसरी भयो भन्ने खुलासा बीपीले आफ्नो ‘आत्म–वृतान्त’ गरेका छन् ।

२०१७ सालमा पञ्चायतको उदयपछि राजा महेन्द्र र उनका सहकर्मीहरुले कांग्रेस–कम्युनिष्ट दुवैलाई ‘अराष्ट्रिय तत्व’ (अत) बनाइदिए । महेन्द्रवादी विश्लेषणमा नेपाली कांग्रेस ‘भारतीय दलाल’ थियो भने कम्युनिष्टहरु ‘चिनियाँ एजेन्ट’ थिए । यी दुवै शक्ति राष्ट्रवादी हैनन भन्ने अर्थमा ‘अराष्ट्रिय तत्व’ प्रयोग गरिन्थ्यो ।

राजावादीहरुले ‘अराष्ट्रिय तत्व’ को थेगो कांग्रेस र कम्युनिष्टहरुलाई गाली गर्न तीन दशकसम्म निरन्तर प्रयोग गरे । २०४६ मा पञ्चायतको अन्त्यसंगै ‘अराष्ट्रिय तत्व’ नेपाली राजनीतिको शब्दकोषबाट गायब भयो ।

तर, ‘भारतीय दलाल’ भने झनझन मौलाएर आयो । तत्कालीन एमालेले २००७ को पुरानो कम्युनिष्ट भाष्य पुनर्स्थापित गर्‍यो । नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालामाथि निरन्तर ‘भारतीय दलाल’ आरोप लाग्यो । नभन्दै ‘टनकपुर सम्झौता हैन, सहमति हो’ भन्दै कोइरालाले ‘भारतीय दलाल’ हुन् योग्य स्पेश निर्माण गरे । कोइरालालाई ‘भारतीय दलाल’ सिद्ध गर्ने खेलमा मदन भण्डारीसँगै माधव–केपी समूहको ठूलो भूमिका थियो ।

भाग्य भनौं मदन भण्डारीले त्यो आरोप सामना गर्नु परेन । लामो बाँच्थे भने सायदै उनी पनि यो आरोपबाट मुक्त हुन गाह्रो थियो । म्युजिकल चेयरको खेल अर्को राउण्ड गयो । अब ‘भारतीय दलाल’ हुने पालो ‘माधव–केपी’ को आयो ।

विवादस्पद एकिकृत महाकाली सन्धिले यो स्पेश बनाइदियो । कोइरालामाथिको बिल्ला पुरानिएर खुइलो देखियो । ‘माधप–केपी’ को ‘भारतीय दलाल’ को बिल्ला त्यो बेला भरभराउँदो थियो ।

यो खेललाई माओवादी सुप्रिमो प्रचण्डले नयाँ उच्चाईमा विकास गरे । उनले कोइराला–माधव–केपीलाई एउटै डालोमा मात्र हालेनन्, बरु डा. बाबुराम भट्टराईसमेत लगेर त्यही प्याकेजमा हुली दिए । कोइरालाको टनकपुर सहमति, माधव–केपीको एकीकृत महाकाली सन्धिजस्तो डा.भट्टराईलाई डाम्न कुनै घटना वा प्रकरण थिएन, तर अन्तर्पार्टी प्रतिस्पर्धामा भट्टराईलाई बिटुलो देखाउन प्रचण्डका लागि यो सजिलो उपाय थियो ।

फेरि मधेश आन्दोलन आयो, अधिकांश पुराना ‘भारतीय दलाल’ एक ठाउँ भए, अब मधेश आन्दोलन र यसका नेतालाई ‘भारतीय दलाल’ देख्न थाले । यो क्रम अझै रोकिएको छैन । त्यसको पछिल्लो शिकार प्रचण्ड आफै भएका छन् ।

यथार्थमा यो कुनै राम्रो प्रचलन हैन । कुनै पार्टी र देशभित्रका आन्तरिक सवाल वा दृष्टिकोणको भिन्नतालाई छिमेकी देशसँग लगेर जबरजस्त जोड्नु र आरोप, प्रत्यारोप गर्नु सभ्य र सुसंस्कृत राजनीतिको लक्षण त हैन, हैन, कुटनीतिज्ञ मर्यादाको दृष्टिकोणले पनि शोभनीय हैन ।

‘भारतीय दलाल’ को ट्याग नेपाली राजनीतमा बारम्बार प्रयोग हुनुमा नेताहरुको संकिर्ण सोच त जिम्मेवार छ नै, ‘भारतीय दलाल’ भन्दिए, सजिलै पत्याउने वा त्यसकै आधारमा ध्रुवीकृत भएर दृष्टिकोण निर्माण गर्न थाल्ने नेपाली मनोविज्ञान पनि जिम्मेवार छ । नेपालमा जे हुन्छ, वा भइरहेको छ, त्यो सबै भारतको कारणले हुन्छ भन्ने धारणा हिनताग्रस्त धारणा हो । नेपालको मिडिया र बौद्धिक जगतले पनि यो ‘राष्ट्रिय हिनताभाष’ लाई जानेर, नजानेर प्रवर्द्धन गरेका छन् ।

कसैले कसैलाई ‘भारतीय दलाल’ भन्दैमा पत्याउने वा त्यसैका आधारमा दृष्टिकोण बनाउन थाल्ने हो भने नेपालमा कोही ‘नेपाली’ बाँकी रहने छैन, सबै एक से एक ‘भारतीय दलाल’ ले देश भरिनेछ । लोकतन्त्रमा दृष्टिकोण र धारणाको भिन्नता स्वभाविक प्रक्रिया हो । राजनीतिक दृष्टिकोण र धारणा नमिल्दा कसैले कसैलाई ‘भारतीय दलाल’ भन्ने प्रचलन किमार्थ राम्रो हैन ।

भारतसँगका मुद्दामा सबै नेपाली एक ठाउँमा हुन सक्दछन् भन्ने कुरा ‘चुच्चे नक्शा प्रकरण’ ले पुष्टि भइसकेको छ । यो ‘भारतीय दलाल’ बन्ने, बनाउने यो म्युजिकल चियरको खेल सबैले परित्याग गर्न जरुरी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय