scheduleबुधवार श्रावण २१ गते, २०७७

‘चिनियाँ राजदूतको अवाञ्छित सक्रियता अस्वीकार्य छ’

साझापोस्ट टिप्पणी

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी पुनश्चः नेकपाको विवाद मिलाउन सक्रिय भएकी छिन् । आइतबार यता उनी नेकपाका विभिन्न नेताको घरघर, डेराडेरा पुगेको समाचार छ । उनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा झलनाथ खनाललाई मात्र हैन, नेकपाका विभिन्न तहका नेता कार्यकर्तालाई समेत भेटेको बताइन्छ । उनले भेटमा नेकपाभित्रको अन्तर्संघर्ष र गुटीय समीकरणको अवस्थाबारे गहिरो चासो राखेकी थिइन् ।

यान्छीको यस्तो सक्रियता यो पहिलोपटक भने हैन । गत बैशाखमा नेकपाभित्र अन्तर्संघर्ष चर्किदा उनी यसरी नै सक्रिय भएकी थिइन् । त्यतिखेर नेकपाभित्रको विवाद मिलाउन सहयोगको अपेक्षा गर्दै राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई फोन गरेको समाचार समेत बाहिरिएको थियो । राष्ट्रपति सीको विशेष निर्देशनमा राजदुत हुन्छी सक्रिय भएको समाचार प्रकाशित भएका थिए ।

नेपाल–चीन बीचको सम्बन्ध दुई राज्य बीचको सम्बन्ध हो । यान्छी चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलकोे सदस्य नभएर काठमाण्डौंका लागि चीन राज्यको राजदूत हुन् । चीनमा एक पार्टी प्रणाली भएको हुँदा त्यहाँ ‘राज्य’ र ‘पार्टी’ बीच खासै भेद नहोला ।

तर, नेपाल लोकतान्त्रिक राज्य हो । बहुदलीय लोकतान्त्रिक प्रणाली भएको देशमा ‘राजदूत’ र ‘पार्टी प्रतिनिधि’बीच धेरै भिन्नता हुन्छ । ‘पार्टी–पार्टी सम्बन्ध’ र ‘राज्य–राज्य सम्बन्ध’ बीचको भिन्नतालाई चिनियाँ राजदूतले बुझ्नैपर्छ । यान्छी नेपालका लागि चिनियाँ राजदूत हुन् । नेपालको राजनीतिक प्रणाली, यसको मर्म, मूल्यमान्यता र कुटनीतिक मर्यादाको पालना गर्नु उनको कर्तव्य हो ।

नेपालको कुटनीतिकसंहिताअनुसार मित्र राष्ट्र चीनको राजदुत मात्र हैन, कुृनै पनि देशको राजदुत कुनै एक पार्टीको आन्तरिक मामिलामा मुछिन मिल्दैन । राजदूतहरुका यस्ता क्रियाकलापलाई नेपाली जनताले कहिल्यै राम्रो मानेका छैनन् ।

यान्छीले आफ्ना भेटघाटहरु नेपालको कुटनीतिकसंहिताको सीमाभित्र बसेर गर्नुपर्ने हुन्छ । विदेश मन्त्रालयको जानकारी र अनुमतिविना नेपालका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरुसँग आकस्मिक भेटघाट गर्न पाउने प्रावधान नेपालको कुटनीतिक संहितामा छैन ।

त्यस्ता भेटघाटहरुमा परराष्ट्र मन्त्रालयका कर्मचारीको उपस्थिति आवश्यक हुन्छ । त्यस्ता भेटघाटहरु औपचारिक समयमा सामान्यतया दिउँसो कार्यालय समयमा हुनुपर्दछ । मध्यरातमा अर्काको देशका कुनै अमूक पार्टीको नेता, कार्यकर्ताहरुको घरघर, डेराडेरा चाहर्दै हिंडनुु विल्कुल अवाञ्छित क्रियाकलाप हो ।

केही वर्षअघिसम्म चीन नेपालका लागि बिल्कुलै सौम्य, शान्त र मर्यादित कुटनीतिक व्यवहार गर्ने देश थियो । नेपाल जनताले चीनको यस्तो व्यवहारलाई मन पराउँथे र सधैं हृदयदेखिको धन्यवाद दिने गर्दथे । बरु अरु कतिपय देशका कुटनीतिज्ञहरु वेलावेला विवादमा पर्थे । तर, चीनबाट त्यस्तो व्यवहारको कल्पना समेत कसैले गर्दैनथ्यो ।

पछिल्ला वर्षहरुमा चीनको व्यवहारलाई नेपाली जनताले आशंकाको नजरले हेर्न थालेका छन् । आर्थिक विश्व शक्तिका रुपमा चीनको उदय र भारत, चीन, अमेरिकाको त्रिकोणीय द्वन्द्वबीच चीनले नेपालमा फरक प्रकारको भूमिका बनाउन चाहेको देखिन्छ । विशेषतः गत संसदीय निर्वाचनको मुखमा दुई ठूला कम्युनिष्ट पार्टीको एकताको समयदेखि नै त्यस्तो आशंका बढ्न थालेको थियो । त्यसपछिका दिनका त्यो आशंका झनै बाक्लो भयो ।

नेकपा सत्तारुढ भएसंगै चीनले राज्य–राज्य सम्बन्धलाई कम र पार्टी–पार्टी सम्बन्धलाई बढी ध्यान दिन थालेको छ । नेपालमा चिनियाँ खर्चमा सि जि पिङ विचारधाराबारे पार्टी कक्षा चलाउनेदेखि पार्टी प्रशिक्षण दिने सम्मका काम भएका छन् । चीनले नेकपासँग सोभियत संघ र कोमिन्टर्न युगको ‘सेटलाइट पार्टी’को जस्तो व्यवहार गर्न खोजेको देखिन्छ । यस्तो कदम नेपालमा वाञ्छित मान्न सकिन्नँ ।

राजदुत यान्छीले पूर्व प्रधानमन्त्रीहरुसंग भेट्न पार्टी विवाद चर्किएको वेला र मध्यरातको समय छान्न जरुरी थिएन । कुटनीतिमा समय र सन्देशको ठूलो अर्थ हुन्छ । चिनियाँ कुटनीतिज्ञहरु यति सरल यथार्थ पनि बुझ्दैनन भन्ने मान्न सकिन्नँ । नेपालजस्तो लोकतान्त्रिक देशमा भेटघाटहरु लुकाउन सजिलो छैन । नेपाल प्रेस स्वतन्त्रता भएको देश हो । यहाँ सूचनाका बहुआयामिक स्रोत हुन्छन् । पारदर्शी राज्य प्रणालीमा विश्वास गर्ने नेपाली समाजमा कसैले चाहेर पनि सुचना लुकाउन सक्दैन ।

निःसन्देश चीन नेपालका लागि एक महत्वपूर्ण मित्र राष्ट्र हो । नेपालमा चीनका चासो र सरोकारलाई नेपालका सबै राजनीतिक शक्तिहरुले उच्च महत्व दिँदै आएका छन् । नेपाल सधैं एक चीन नीतिको पक्षधर रहँदै आएको छ । नेपाल– चीनको परम्परागत सांस्कृतिक सम्बन्धबारे सबै उत्तिकै सचेत छन् । चीनसँगको व्यापारिक तथा आर्थिक सम्बन्धलाई नेपालका कुनै पनि शक्तिले कम महत्व दिएका छैनन् । चीनका चासो, चिन्ता र सरोकारबारे नेपाल सर्बथा एक मत छ ।

यति हुँदाहुँदै चीनले कुनै राजनीतिक शक्तिसँग बिशेष सम्बन्ध र त्यसमार्फत् नेपालको आन्तरिक राजनीतिक मामिलामा भूमिकाकोे अपेक्षा गर्दछ भने त्यो कसैको पनि हितमा हुँदैन । नेपालका आफ्नै कुटनीतिक स्वार्थहरु छन । चीनका आफ्नै सीमा छन । नेपाललाई चीन अवश्य चाहिन्छ तर चीन मात्र भएर पुग्दैन । नेपाललाई बाँकी विश्व र मित्रहरु पनि चाहिन्छ । नेपाल स्वतन्त्र र तटस्थ कुटनीतिमा विश्वास गर्ने राज्य हो । नेपालको संविधानमा नै ‘पञ्चशील र असंलग्नता’लाई राज्यको मार्गदर्शक सिद्धान्त मानिएको छ ।

चीन विश्वको उदयमान शक्ति राष्ट्र पक्कै हो । चीनको आर्थिक उन्नति र प्रगतिले नेपाली जनतालाई सधै खुशी र उत्साहित बनाउने गरेको छ । तर चीन र नेपालको भूराजनीतिक जटिलताहरु भिन्न प्रकृतिका छन् । चीनले नेपाललाई चीनको आँखाबाट मात्र हेर्ने हैन, नेपालको भूराजनीतिक संवेदनशीलताको दृष्टिकोणबाट पनि बुझ्नु पर्दछ ।

चीन र नेपालको बीचमा अग्ला हिमाल र पहाड मात्र छैनन्, राष्ट्रिय स्वार्थ र आकांक्षाका फरकफरक आयाम र परिस्थिति पनि छन् । समकालीन विश्व शक्ति सन्तुलनमा नेपाल कुनै एक देशको रणनीतिक स्वार्थमा अर्को देशको विरुद्ध प्रयोग हुन सक्दैन ।

भारत–चीन तथा चीन–अमेरिका सम्बन्धका पछिल्ला जटिलताहरु नेपाली जनताले नबुझ्ने हैनन् । नेपाली जनता त्यो जटिलताको चंगुलमा आफ्नो शान्तिप्रिय देशलाई फसाउन चाहँदैनन् भन्ने कुरा पनि उत्तिकै सत्य हो । नेपाल बुद्धको देश हो, यसले हिटलर, स्टालिन वा माओको मार्गदर्शन अबलम्बन गर्न सक्दैन । नेपालको यो संवेदनशीलतालाई चीनले बुझ्नैपर्छ ।

नेकपा–चिकपा दुई पार्टी तहको सम्बन्धलाई लिएर नेपालमा कसैले आपत्ति गरेको छैन । ठीक छ– दुई मित्रवत् पार्टीहरु बीच विचार, अनुभव र सम्मानको आदानप्रदान होस् तर नेपालको आन्तरिक राजनीतिमा चीनको चासो वाञ्छनीय मानिंदैन ।

नेकपामा को पार्टी अध्यक्ष हुनुपर्छ वा पर्दैन, कुुन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ वा पर्दैन, त्यो शुद्ध नेपालको आन्तरिक राजनीतिको बिषय हो । कुनै पार्टी नेता वा प्रधानमन्त्रीको पद रक्षा गर्न सरोकारवाला पक्षलाई प्रभावित गर्दै हिंड्ने सुविधा चिनियाँ राजदूतले नेपालमा पाउन सम्भव छैन । यस्तो क्रियाकलाप नेपाली जनताले किमार्थ मन पराउने छैनन् ।

नेपालालाई चीनको साथ, सद्भभाव र प्रेम चाहिन्छ तर, निर्देशन, उपदेश र सुक्ष्म व्यवस्थापान चाहिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय