scheduleबुधवार श्रावण २१ गते, २०७७

क्रिकेट आजदेखि पुनः सुचारु हुँदै

काठमाडौं, २४ असार । कोभिड-१९को महामारीका कारण झन्डै ४ महिनादेखि स्थगित अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि आजदेखि पुनः सुचारु हुँदै छ ।

इंग्ल्याण्ड र वेस्टइन्डिज बीचको टेस्ट श्रृंखला आजदेखि इंग्ल्याण्डमा सुरु हुँदैछ । पहिलो टेस्टअन्तर्गतको पहिलो दिनको खेल आज अपरान्ह पौने ४ बजेदेखि साउथह्याम्प्टनमा सुरु हुने तय छ ।

महामारी रहिरहेका बेला खेल गतिविधि सुरु गर्नु केही चूनौतिपूर्ण भने अवश्य रहनेछ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही परिवर्तित नियमका साथ खेलहरु खेलाइनेछ ।

टेस्ट क्रिकेटमा बललाई चम्काउन थुकको प्रयोग गरिदैँ आएकोमा अब त्यसको सट्टामा पसिनाको प्रयोग गर्न सकिने छ । त्यसैगरी मैदानमा दर्शकहरु हुने छैनन् । तटस्थ अम्पायरको नियम हटाइएको छ भने उद्घोषकहरुको उपस्थिति रहने छ ।

इंग्ल्याण्डका खेलाडीहरुले ओभरको बीचमा संगीत बजाउन सुझाव दिएपनि उक्त कुरा कार्यान्व्यन हुने छैन । टिभीमा हेर्ने दर्शकहरुका लागि भने पृष्ठभूमिमा कम स्तरको भीडको आवाज सुनिने कुनै प्रकारको सेट हुन सक्छ तर खेलाडीहरूले भने यो सुन्न असक्षम हुनेछन् ।

उनीहरूले मैदानमा आफ्नै आवाज र ब्याटमा बल लागेको आवाजबाहेक अरु कुनै पनि श्रव्य सामग्री अनुभुति गर्ने छैनन् । यसैकारण पनि क्रिकेट केही फरक रहन सक्छ ।

आजदेखि सुरु हुने टेस्टमा वेस्टइन्डिजको कप्तानी जेसन होल्डरले गर्ने छन् भने इंग्ल्याण्डका नियमित कप्तान जो रुटको अनुपस्थितिमा पहिलो टेस्टमा उपकप्तान बेन स्टोक्सले टिमको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय