scheduleआइतवार श्रावण २५ गते, २०७७

सरकारलाई संसदीय समितिको निर्देशन- ट्याक्सी चलाउने व्यवस्था मिलाउ

काठमाडौँ, २४ असार । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सरकारलाई ट्याक्सी चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले स्वास्थ्य सचेतता अपनाएर सरकारले लकडाउनमा पनि केही पेसा, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले त्यसैलाई पछ्याएर ट्याक्सी चलाउने व्यवस्था गर्नुपर्ने तर्क गरेको छ । सरकारी मापदण्डलाई पूरा गरी ट्याक्सी चलाउँदा अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउन सकिने भन्दै समितिले ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

समितिले आयोजना गरेको छलफलमा उपस्थित अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मान्छेले चढ्ने गाडी सञ्चालन भइरहे पनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको स्पष्ट पारेका थिए ।

केसीले संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको धारणा राखे ।

उनले अगाडि थपे, ‘आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्छ । मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्छ, बिमा गर्नुपर्छ, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्छ र बैंकहरुको किस्ता र ब्याजदरमा सहजीकरण गरिनुपर्छ ।’

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई १ सय ७ दिनसम्मको निरन्तर लकडाउने श्रमिकको घरमा चुलो बल्न नसकेको बताए । उनले निजी क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको तथ्यांक प्रस्तुत गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय