scheduleसोमवार श्रावण २६ गते, २०७७

तनाव भारत र चीनको, निर्णायक भूमिका रुसको !

काठमाडौं, २४ असार । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भारत–चीन सीमा विवादमा रुसको भूमिका निर्णायक हुने विश्लेषण गर्न थालेका छन् । यो विश्लेषण पत्यारिलो नभए पनि आधारहीन भने छैन ।

सोभियत संघ शीतयुद्धताका भारतको सबैभन्दा ठूलो साझेदार मुलुक थियो । स्टकहोम रिसर्च सेन्टरका अनुसार रुस आज पनि भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । विगत १० वर्ष भारतले किनेका सैन्य उपकरण र हतियारमध्ये ६५ प्रतिशत रुसबाट किनेको छ ।

जुन १५ मा २० जना भारतीय सैनिकको ज्यान जाने गरी चिनियाँ जनमुक्ति सेनासँग भएको गल्वान भ्याली भिडन्तपछि तुरुन्तै भारतीय विदेशमन्त्री राजनाथ सिंह जुन २२ मा ३ दिने मस्को भ्रमणमा गएका थिए । यो भ्रमण औपचारिक तबरले दोस्रो विश्वयुद्ध जितेको ७५ औं वर्षगाँठको अवसरमा मस्कोले आयोजना गरेको सैनिक परेडमा भाग लिनका लागि थियो । सन् २०१५ यता भारतले मस्कोको यस्तो सैनिक परेडमा भाग लिएको थिएन ।

यो भ्रमणको क्रममा भारत र रुस बीच २.४ बिलियन डलरको सैन्य सामग्री खरिद सम्झौता भएको समाचार छ । यसभित्र ३३ फाइटर जेट र ५१ सैन्य जहाज समेत छन् । भारतीय रक्षामन्त्री सिंह कोराना महामारीबीच जोखिम मोलेर मस्को गएका थिए ।

तर, यो मस्कोको सैन्य परेडमा चिनियाँ विदेशमन्त्री समेत सामेल थिए । यस्तो सैन्य परेड मस्कोले सन् १९४५ यता प्रत्येक वर्ष मे ९ मा आयोजना गर्ने गर्दछ । यसपटक कोरोना महामारीको कारण दुई महिना पछाडि सरेको थियो ।

चीनले अहिले विवादित भारतसँगका विवादित सीमा इलाकाहरुमा एस–४०० एन्टी मिसाइल तैनाथ राखेको विश्वास गरिन्छ । यो क्षेप्रास्त्र सन १९९३ मा रुसी सरकारी सैन्य कम्पनी अल्माज एन्टेले उत्पादन गरेको थियो । सन् २००७ देखि रुसी सेनाले यो एस–४०० प्रयोग गर्न थालेको हो ।

चीन एस–४०० को पहिलो खरिदकर्ता मुलुक हो । सन् २०१४ मा चीनले एस–४०० खरिद गरेको थियो । सन् २०१८ मा रुसी राष्ट्रपति ब्लादिमिर पुटिनको भारत भ्रमण हुँदा पुटिन–मोदीले ५.२ विलियन डलर बराबरको सैन्य सम्झौता खरिद सम्झौता गरेका थिए । यसभित्र एस–४०० पनि पर्दछ । तर रुसले अहिलेसम्म एस–४०० भारतलाई हस्तान्तरण गरेको छैन ।

रुससंगको यो सम्झौतापछि अमेरिका भारतसंग रिसाएको थियो । भारतले अहिलेसम्म अमेरिकाको पेट्रियोटिक एन्टी मिसाइल प्रयोग गर्दछ । एस–४०० को मारक क्षमता अमेरिकी क्षेप्रास्त्रको भन्दा निक्कै बढी हुन्छ ।

रुसले अहिलेसम्म एस–४०० चीनका अतिरिक्त टर्की, अल्जेरिया, बेलारुस, साउदी अरेयिबा, इरान र भियतनामलाई बेचिसकेको छ । रुसले सिरियामा समेत एस–४०० तयार अवस्थामा राखेको छ । रुसकै सहयोगको कारण सिरिया असदको सरकार टिकिरहेको छ ।

भारत र चीन तनाव बढ्दै जाँदा रुसलाई फायदा र बेफाइदा दुवै छन् । दुवै देशलाई उसले हतियार बेच्न अवसर पाउने छ । तर निर्णायक युद्ध भइहाले कस्को पक्ष लिने भन्ने निर्णय गर्न रुसलाई गाह्रो हुने छ ।

शीतयुद्धकालमा चीन सोभियत संघको विरुद्धमा थियो । रुस आफ्नो पुरानो साझेदार भारतलाई पनि गुमाउन चाहँदैन । तर चीनसंग पछिल्लो समय रुसको लगनगाँठो निक्कै बलियो भइसेको छ ।

भारतीय बुद्धिजीवी तथा विश्लेषकहरुमा यसबारे द्विविधा देखिन्छ । एकाथरी रुसले भारतलाई झुक्याएर चीनलाई सहयोग गर्ने हुँदा भारतले अमेरिकासंगको सहकार्यमा ढिलो गर्न नहुने तर्क गर्दछन् । अर्कोथरि भारतले चीनको विरुद्धमा अमेरिका र रुस दुवैलाई सन्तुलित उपयोग गर्नु पर्ने ठान्दछन् । यसबारे भारत सरकार अहिलेसम्म कुनै निष्कर्षमा पुगि नसकेको ठानिन्छ ।

तर अमेरिका भने भारतलाई आफ्नो पक्षमा तान्न इच्छुक छ । गल्वान भ्याली झडपपछि अमेरिकाले आफ्ना सबै अन्तर्राष्ट्रिय सैनिक बेस क्याम्पको तैनाथीलाई चीनतिर फर्काएको सैन्य मामिलाका जानकारहरु बताउँछन् ।

विशेषतः ताइवान, इराक, दक्षिण कोरिया, जपान र जर्मनीका सैनिक बेस क्याम्पलाई अमेरिकाले सतर्क राखेको र चीनतिर फर्काएर तैनाथी गरेको छ । ताइवान बेस क्याम्पमा अमेरिकाले यसै हप्ता फाइटर विमानहरुको संख्या बढाएको समाचारहरुमा उल्लेख छ ।

भारत र चीन बीच विदेशमन्त्री र सुरक्षा सल्लाहकार तहमा टोलीफोन वार्तापछि विवादित क्षेत्रहरुबाट भारतीय र चीन सेना आआफ्नो इलाकामा फिर्ता भएका छन । तत्काललाई युद्ध हुने नहुने कुनै टुंगो छैन । तर, तनाव भने दुवैतर्फ चरमोत्कर्षमा छ ।

केही विश्लेषकहरुले गल्वान झडपलाई चीन–रुस षडयन्त्र हुन सक्ने बताएका छन् । चीनले भारतमाथि दबाब बढाउने र त्यही मौकामा रुसले भारतलाई हतियार बेच्ने रणनीति पनि हुन सक्ने ठानिन्छ । अमेरिका र युरोपियन युनियनसँग बिग्रदो सम्बन्धपछि चीनले रुससंगको सम्बन्धलाई बिशेष महत्व दिने गरेको छ । कोरोना लकडाउन कै बीचमा १६ हजार किमी भन्दा लामो ग्यासको पाइप लाइन बिच्छ्याउने काम भइरहेको छ ।

भर्खरै रुसमा भएको जनमत संग्रहले संविधान संशोधनको पुटिन प्रस्ताव अनुमोदिन गरेसँगै पुटिन रुसमा निक्कै बलियो भएका छन् । पुटिन स्टालिनपछिका अर्का लामो समय शासन गर्ने शासक बन्न पुगेका छन् । पुटिनको विश्वास जित्नु अहिले भारत र चीन दुवैको प्राथमिकताभित्र छ । यही गम्भीरतालाई बुझेर गत हप्ता भारतीय विदेश मन्त्री राजनाथ सिंह मस्को पुगेका थिए ।

पछिल्लो रणनीतिक अवस्थाले अमेरिका र ट्रम्प भने रणभुल्लमा परेका छन् । अमेरिका भारत, अष्ट्रेलिया, जपान, इन्डोनेशियासहितको इन्डो–प्यासिफिक गठबन्धन बनाउन चाहन्छ, त्यसमा आफ्नो भूमिकाबारे भारतले प्रष्ट गरिसकेकेको छैन । भारत र रुसबीचको सम्बन्ध नयाँ ढंगले विकास भएमा अमेरिकाले हिन्द–प्रशान्त रणनीतिबारे पुनर्विचार गर्नु पर्ने हुन्छ ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय