scheduleबुधवार श्रावण २१ गते, २०७७

ओलीलाई प्रचण्डको फोन- प्रायोजित प्रदर्शन रोक्नुहुन्छ कि बैठक बोलाएर प्रक्रिया थालौं ?

काठमाडौं, २४ असार । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी ओलीको पक्षमा देशव्यापीरुपमा सानातिना प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेको बेला ओली समूह निकट केही कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

‘नेकपाका दुई अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ । अनि एक अध्यक्षको पक्षमा चोक–चोकमा जुलुस सुरु भएको छ । यो कसो पो भा हो ?,’ तत्कालीन नेकपा एमालेनिकट प्रेस चौतारीका महासचिव राजेश राईको प्रश्न हो यो ।

यस्तै प्रश्न सामाजिक सञ्जालमा यत्रतत्र गर्न थालिएको छ । प्रदर्शनमा मुस्किलले एक दुई दर्जन मानिस जम्मा भएपछि नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा गरेको आलोचना पनि यतिबेला चर्चामा छ । झाँकीमाथि ओली समूहका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रमण बढाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रमेश पौडेल, ऐन महरलगायतका केही युवाहरुलाई केही दिनअघि बालुवाटारमा बोलाएर आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिएको प्रचण्ड-नेपाल समूहको आरोप छ ।

यता वार्ता चलिरहने, उता प्रदर्शन पनि भइरहने ! यस्तो गाईजात्रा देखेपछि नेकपा अध्यक्ष प्रचण्डले ओलीलाई फोन गरेको खुमलटारमा चर्चा छ ।

‘हामी एकातिर वार्ता गरिरहेका छौं, अर्कोतिर देशव्यापीरुपमा तपाईंको प्रायोजनमा जुलुश प्रदर्शन भइराखेको छ । यस्तो नाटक रोक्नुहुन्छ कि पार्टी बैठकबाटै आवश्यक प्रक्रिया सुरु गरौं ?,’ प्रचण्ड झोक्किएपछि ओलीले प्रदर्शन रोक्ने बताएको चर्चा प्रचण्ड निकटका नेताहरुबीच चलिरहेको छ ।

सोही संवादपछि बुधबार बोलाइएको बैठक पुनः स्थगित गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । बुधबार साँझ अध्यक्षद्वयबीच ‘वान टु वान’ वार्ता सुरु भइसकेको छ ।
ओली समूहले बुधबार कलंकीबाट प्रधानमन्त्रीको पक्षमा पाँच सय वटा मोटरसाईकल र्‍याली निकाल्ने तयारी गरेको थाहा पाएका प्रचण्डले त्यसलाई रोक्न भनेका थिए । ‘यस्ता गलत कार्य रोक्नुहुन्छ कि पार्टी बैठक बोलाएर केही निर्णय गरौं ?’ भन्ने प्रचण्डको प्रश्नसँगै ओलीले त्यसलाई रोक्ने वचनवद्धता व्यक्त गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय