scheduleबुधवार श्रावण २१ गते, २०७७

जाँदाजाँदै प्रहरी महानिरीक्षक ज्ञवालीले के भने ?

काठमाडौं, २४ असार । तीस वर्ष सेवा अवधि पुरा गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई बिदाई गरिएको छ । उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई उनीहरुलाई बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरेको प्रसन्नता प्रकट गरे । उनले आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गरे ।

प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए ।

कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएतापनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिई संगठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायतका विविध सुधारका पक्षलाई गति दिएको उनले उल्लेख गरे ।

प्रहरी सेवा नागरिकहरुका लागि हो तर यसमा दुवै पक्षवीचको परस्पर सहकार्य, सदभाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीको भनाई थियो । उनले अगाडि थपे, ‘दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।’

लामो र वृहत इतिहास र भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत रहनुपर्नेमा उनले जोड दिए ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गरे । उनले सेवानिवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।

सेवानिवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवनबारे चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने समेत बताए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उनीहरुलाई हार्दिक बिदाइ गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय