scheduleबुधवार श्रावण २१ गते, २०७७

मन्त्रीज्यु ! पर्यटन सुरक्षा प्रोटोकलपछि अब यसो गरौं

नारायण प्रसाद पोखरेल

पर्यटन स्वस्थ सुरक्षा प्रोटोकलसँगै स्वास्थ्य सुरक्षासँग जोडिएका सरसफाई, निर्माण, पर्यावरण तथा वातावरण आदिको लागि पनि सम्बन्धित मन्त्रालयमार्फत् प्रोटोकल जारी गर्ने कि ? अब यो बहस सुरुमार्फत् तार्किक निष्कर्षमा पुग्न ढिला भइसकेको छ ।

खुकुलो लकडाउन र जोर बिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न पाउने नियमको प्रयोग गर्दै काठमाडौंका केही भागको भ्रमण गर्ने क्रममा काठमाडौं महानगरको मुटु पुतलीसडक, न्युरोड, पशुपति क्षेत्र वरिपरि यत्रतत्र छरिएका र थुपारिएका फोहोर, निर्माणका लागि खनिएका खाल्टाखुल्टी, हिलो, धुलो, असुरक्षा, निर्माण सामग्री, निर्माण गर्न राखिएका औजार आदिले गर्दा मैले सरसफाईको बारेमा लेखेको लेख अनि हाम्रो ठूलो उपस्थिति र उत्साहसहित पर्यटन मन्त्रालयबाट जारी भएको प्रोटोकल बारेमा सोच्न पुगेँ ।

फोहोर, अव्यवस्था, असुरक्षा पर्यटन विकासका लागि बाधक र तगारो हुन् भन्ने कुरा हामी सबै पर्यटन व्यवसायीले बुझेकै कुरा हो। मेरो सानो आलेख यही विषयमा केन्द्रित छ । हाम्रो साझा प्रयासले पर्यटन विकासको बाधकका रुपमा रहेको फोहोर व्यवस्थापन, सरसफाई, विकास निर्माण गर्दा उचित नीति नियमको पालनाका सम्बन्धमा सम्बन्धित निकायहरु, हाम्रा जनप्रतिनिधिहरू, प्रशासकहरुका कानसम्म यस्ता अव्यवस्था र यसले पर्यटन विकासमा पार्ने नकारात्मक प्रभावका बारेमा उनीहरुलाई सोच्न र आवश्यक नीति नियम बनाई सुधारतर्फ लैजानको लागि योगदान पुग्छ ।

देशको इज्जत प्रतिष्ठा तथा पर्यटन विकासको आधार सरसफाई, वातावरण र निर्माण सुरक्षासम्बन्धि आचारसंहिता पनि हुन् ।

सरसफाई स्वस्थ सुरक्षाको एउटा आधार स्तम्भ पनि भएकोले स्वस्थ सुरक्षा सम्बन्धि प्रोटोकलसंगै स्थानीय विकास मन्त्रालय, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय, वातावरण मन्त्रालय र स्थानीय निकायहरुसँगको सहकार्यमा सरसफाई एवम् निर्माण आचारसंहिता पनि लागू गर्न पहल गर्ने कि ?

हामीले देशमा प्लास्टिकका झोलाहरुको उत्पादन र प्रयोगमा बन्देज लगाएको समाचार सुनेका थियौं । मेरो विचामा सबै पर्यटन व्यवसायी लगायत अधिकांस नागरिकहरुबाट समेत त्यो निर्णयको मुक्त कण्ठले प्रसंशा पनि भएको थियो तर त्यो निर्णय प्लास्टिक उद्योगीहरुको विरोधले हो वा अन्य कारणले हो, दुई महिना पनि टिक्न सकेन ।

हाम्रा वार्ड तहका जनप्रतिनिधिदेखि प्रधानमन्त्रीहरु सबैले अवश्य पनि देश विदेशको भ्रमण गर्नु भएकै होला । त्यसैगरी सबै तहका निर्माण व्यवसायीहरुले पनि अवश्य नै धेरै मुकुकहरुको भ्रमण गरिसकेको हुनुपर्छ ।

हामी धेरै टाढा नगई थाईल्याण्डलाई मात्र उदाहरणको रुपमा लियौं भने पनि देख्न सकिन्छ कि एउटा बाटोको छेउमा सानो खाल्टो मात्र खन्नु पर्दा त्यो खाल्टो खन्नु पर्ने एरियालाई कसरी चारैतिरबाट कभर गरेर विभिन्न प्रकारका सुरक्षा सूचनाहरु जारी गरेर निर्माण कार्यलाई अगाडि बढाइन्छ ? जस्तै- ‘तपाईहरुको सुरक्षा हाम्रो सबै भन्दा ठूलो जिम्मेवारी हो’, ‘यो हुन गई रहेको निर्माण तपाईहरुकै उत्तम सुविधाका लागि हो’ र ‘तपाईहरुलाई पर्न गएको असुविधाप्रति हामी क्षमा माग्दछौं’ भन्ने जस्ता सूचनाहरु राखेर निर्माण कार्य शुरु गरिएको हुन्छ । हामीले हाम्रो देशको राजधानी-महानगर भित्रको निर्माणमा अपनाइने सुरक्षात्मक व्यवस्थालाई मात्र हेर्ने हो भने देशका अन्य दूरदराजको अवस्था के होला, सहजै अनुमान गर्न सकिन्छ ।

नारायण प्रसाद पोखरेल

काठमाडौं महानगर भित्र कै फोहोर व्यवस्थापनको अवस्था झनै विजोग छ । धेरैजसो ठाउँहरुमा घरहरुको फोहोर चोक-चोकमा ल्याएर फाल्ने चलन अहिले पनि उस्तै छ । महानगरका हरेक वार्डले निश्चित स्थान तोकेर तीन प्रकारका फोहोरहरुलाई अलग अलग संकलन गर्ने व्यवस्था मात्र मिलाउने हो भने जैविक फोहोरलाई कम्पोस्ट मोल बनायर बेच्न सकिन्छ । रिसाइकल गर्न सकिने फोहोरहरुलाई तत्काल उद्योगहरुलाई बिक्री गर्न सकिन्छ र बाँकी रहेको नष्ट गर्नुपर्ने फोहोरलाई मात्र व्यवस्थापन गरे पुग्छ । सिसि टिभीको माध्यमबाट कसैले फोहोरलाई गलत फोहोरदानीमा हालेको अवस्थामा जरिवाना गर्ने व्यवस्था गरेमा नागरिक आफैं सजग हुनेगरी व्यवस्थापन पनि गर्न सकिनेछ ।

पर्यटक हरुले तिम्रो देश कति अव्यवस्थित छ, फोहोर छ, असुरक्षित छ भनेर भन्दा पर्यटन व्यवसायीको मात्र होइन सबै नागरिकले हिनतावोध महसुस गर्नु परेको हुन्छ । सामाखुसीमा निर्माण कार्यको लागि खनेको खाल्डोमा परेर एउटा बालकको ज्यान गएको, बसपार्क एरियामा बिजुलीको तार जमिनमा लत्रिँदा बटुवाको ज्यान गएको आदि तथा यत्रतत्र हुने फोहोरका डङ्गुरहरुका फोटोहरु नेपालप्रति चासो राख्ने र नेपाल भ्रमणको लागि योजना बनाउन चाहनेहरुले सामाजिक सञ्जालमार्फत् सजिलै देख्न र बुझ्न पाउने अवस्था छ । यस्ता घटनाले गर्दा नेपाल भ्रमण गर्न चाहने स्तरीय, पैसा खर्च गर्न सक्ने पर्यटकहरुले समेत आफ्नो नेपाल भ्रमण गर्ने योजनालाई अन्तै मोड्न सक्छन् । हामीले सरसफाई, निर्माण आचारसंहिता आदिमा ध्यान दिन नसकेको अवस्थामा हाम्रो मुलुक सबै प्रकारका खतरायुक्त सस्तो मुलुकको रुपमा मात्र चित्रित हुँदै जानेछ ।

सरसफाई, फोहोर व्यवस्थापन, निर्माण आचारसंहिता स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषय भयकोले पर्यटन मन्त्रालयले यसप्रति ध्यान दिने कि ?

देश तथा समाजको परिवर्तनको लागि कसै न कसैले पहल गर्नुपर्दछ । आफ्नो मातृभूमिको निस्वार्थ सेवा सबैभन्दा ठूलो धर्म मानिन्छ । हामी कुनै पनि व्यवसायमा लाग्ने व्यवसायीको आफ्नै समस्याहरु हुन्छन् । घर भाडा, परिवारको भरण पोषण, बैंकको ऋण र व्यवसायमा समय समयमा आउने विशेष परिस्थितिको कारणले हुने नोक्सानीहरुको व्यवस्थापनमा हामी सबै व्यवसायीहरुको समय गुज्रिरहेको हुन्छ । हामीले समाज र राष्ट्रको लागि केही राम्रा कामहरु गर्न चाहँदा चाहँदै पनि गर्न सकिरहेका हुँदैनौं । हाम्रो चाहना हामीले चुनेर पठाएका जनप्रतिनिधिहरुले हाम्रो भावनाको प्रतिनिधित्व गरुन् भन्ने रहन्छ ।

कोभिड-१९ ले जन्माएको स्वास्थ्य सुरक्षाको कारण सबै क्षेत्र र तहमा सरसफाई सम्बन्धि अभियान नै चलाउनुपर्ने स्थितिको निर्माण भएको छ । यो अवस्थालाई सहि सदुपयोग गर्दै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा निर्माण तथा यातायात व्यवस्था मन्त्रालय, स्थानीय विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्दै स्थानीय विकास मन्त्रालयमार्फत् स्थानीय निकायलाई परिचालन गरी फोहोर व्यवस्थापन र सरसफाई, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको सहयोगमा निर्माण आचारसंहिताको लागू, वन तथा वातावरण मन्त्रालयको सहयोगमा वृक्षारोपण तथा वातारारणीय र प्रयावरणीय प्रभावको न्यूनीकरणमा काम गर्न सकिने छ । यसबाट यो समय पर्यटन विकासको आधार स्तम्भको रुपमा रहेको सरसफाई, निर्माण आचारसंहिताको निर्माण तथा लागू, वातावरणीय तथा प्रयावरणीय प्रभाव न्यूनीकरणमा सबैलाई एकजुट बनाउने सुअवसर बन्न सक्नेछ ।

सरसफाई, निर्माण आचारसंहिता तथा वातावरणको लागि यति बेला गरिएको लगानीले पर्यटन विकासमा दुरगामी प्रभाव पार्नेछ-

देशको राजधानी काठमाडौंलगायत देशका विभिन्न शहर तथा गाउँ गाउँमा बाटो चौडा गर्ने कामको जस पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दिने गरिन्छ । उहाँबाट यदि काठमाडौंका सडकहरुलाई चौडा पार्ने कामको शुरुवात नभएको भए पोखरा, विराटनगर, भैरहवा, बुटवल, धरान आदिमा समेत यसको प्रभाव पर्ने थिएन र सबै सडकहरुको अवस्था साँघुरा नै रहेको अवस्था हुने थियो होला । उहाँ पुनः अर्को पटक प्रधानमन्त्रीको कुर्सीमा बस्ने मौका पाउनुहोला या नहोला तर उहाँको प्रधानमन्त्रीत्वकालमा शुरुवात भएको देशको विकास मा नै प्रभाव पार्ने सडक चौंडा पार्ने कामको श्रेय चीरकालसम्म पनि जनताले उहाँलाई नै दिइरहने छन् ।

समयमा बुद्धि पुर्‍याउन नसक्दा काठमाडौंको बागमती, बिष्णुमति, हनुमन्ते आदि नदिहरुको अवस्था हामीले देखी सकेका छौं । पोखराको सेती नदी र फेवाताल तथा अन्य सहरहरुको बीच तथा छेउबाट बहने नदीहरुको हालत पनि बागमती, विष्णुमति आदिको अवस्थामा पुग्ने तर्खरमा छन् । अहिले पनि हामी नेपालको जुनसुकै भागको भ्रमणमा जाँदा पनि देख्न सक्छौं- घरबाट निस्कने सबै प्रकारका फोहोरहरुलाई नदी, खोला मै लगेर मिसाउने प्रचलन रोकिएको छैन ।

हामी देख्न सक्छौं- विश्वका पर्यटकीय मुलुकहरुले कसरी वातावरण जोगाउने काममा लागि परेका छन् । यसको ज्वलन्त उदाहरणको लागि थाईल्याण्ड पनि पुग्न पर्दैन । भुटानलाई मात्र हेरे पुग्छ । भुटानको राजधानी थिम्पू र दोस्रो ठुलो शहर पारोको बीच भाग हुँदै बग्ने नदीको अवस्था हेरे पुग्छ। नदीको छेउमा बसेर हेर्दा आफैं आनन्दित भइन्छ र पानी पिउँ पिउँ लाग्छ । न कहिँ प्लास्टिकको बोतल फ्याकेको देखिन्छ न प्लास्टिकको झोला नै । उनीहरु पनि हामीजस्तै मान्छे नै हुन् मात्र उनीहरुले निरन्तर प्रयास गरे हामीले मात्र देखाउने काम गरेउ । हामीले हाम्रा नागरिक, हाम्रो समाज, हाम्रो प्रशासनिक निकाय, हाम्रा जनप्रतिनिधि तथा हाम्रो सरकारलाई जिम्मेवार बनाउन सकेनौं ।

यो समयलाई देशको सरसफाई, पर्यावरण तथा वातावरण जोगाउने र गाउँ गाउँमा कृषि पर्यटन तथा गाउँ पर्यटन सेवाको विकासमा लाग्ने वातावरणको निर्माणतर्फ लगाऊँ ।

सरसफाई, निर्माण आचारसंहिताको पालना, वातावरण तथा पर्यावरण देशको इज्जत प्रतिष्ठा तथा पर्यटन विकासको लागि कति महत्व राख्दछन् भन्ने कुरा पर्यटन व्यवसायी लगायत सबै नेपाली नागरिकले बुझेको कुरा हो। काठमाडौं भ्याली भित्रका नदी नाला दुषित हुँदा, रुख बिरुवाहरुको विनाश हुँदा काठमाडौं भ्यालीभित्रको पर्यावरणमा कति नराम्रो असर परिरहेको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

रैथाने चरा डाङ्गरे, गिद्ध, भंगेराहरुलगायत धेरै चराचुरुङ्गीहरु काठमाडौं भ्यालीबाट लगभग लोप भैसकेका छन् । पर्यावरणीय क्षतिको प्रभावले पर्यटन विकासमा नकारात्मक प्रभाव परिरहेको हुन्छ । काठमाडौं भ्याली वरिपरीका चराहरु अवलोकनका लागि आउने पर्यटकहरुको गन्तव्य अन्य मुलुकहरु हुन पुग्छ । त्यसैगरी काठमाडौं भ्यालीको सुन्दरता, संस्कृति हेर्न आउने पर्यटकहरुले आफ्नो गन्तव्य परिवर्तन गर्न सक्छन् ।

हाम्रो मुलुक तथा हामी आर्थिकरुपमा भन्दा पनि नीति नियमको परिपालना, जवाफदेहिता, आफ्नो जिम्मेवारीप्रतिको इमान्दारिता र बफादारिता, आफ्नो देश र समाजप्रतिको माया र स्नेहका हिसाबले गरिब छौं जस्तो महशुस हुन्छ । हाम्रो देश विश्वका अधिकांश मुलुकभन्दा धेरै नै हिसाबले धनी छ, तर मृगले आफ्नो नाभीको कस्तुरीको बासना खोज्दै हिँडेजस्तै हामी विश्वलाई आफ्नो श्रम र पसिना बेच्न र उनीहरुलाई धनी र सम्पन बनाउनमा नै व्यस्त छौं । हामी आफ्नो श्रम र पसिनाबाट प्राप्त सानो रेमिट्यान्समा नै लालायित बनिरहेका छौं ।

हामी सबैले यो समयलाई चिनौं । महसु गरौं । कोभिड-१९ को कारणले विश्व श्रम बजारबाट फर्किएका नागरिकहरुलाई देशको सरसफाई, वातावरण र पर्यावरण जोगाइ गाउँ गाउँमा कृषि पर्यटन, गाउँ पर्यटन सेवा, लगायतका पर्यटन विकासको सम्भावनाका ढोकाहरुलाई खोल्न तिर हाम्रो ध्यान केन्द्रित गर्नेतर्फ पहल गर्नको लागि हाम्रा युवा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री ज्यु लगायत पर्यटन क्षेत्रका अन्य सबै जिम्मेवार निकायहरुमा अनुरोध गर्दछु ।

सर-सफाई, स्वास्थ्य सुरक्षा, निर्माण आचारसंहिता, वातावरण तथा पर्यावरण, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता, मठमन्दिर, गुम्बाहरु पर्यटन विकासका आधारस्तम्भ भएकोले, यो स्वास्थ्य सुरक्षासम्बन्धि प्रोटोकलको जारीसँगै सरसफाई तथा फोहोर व्यवस्थापन सम्बन्धि प्रोटोकल, मर्मत तथा निर्माणसम्बन्धि प्रोटोकल, वातावरण संरक्षणसम्बन्धि प्रोटोकल, संस्कृति तथा परम्पराको संरक्षणसम्बन्धि प्रोटोकल, प्लास्टिकका झोलाहरुको निर्माण र प्रचलन सम्बन्धि प्रोटोकल पनि जारी गर्ने कि ?

(पोखरेल पर्यटन व्यवसायी हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय