scheduleबिहिवार श्रावण २९ गते, २०७७

बोल्सोरानोले बर्बाद पारे ब्राजिल !

साझापोस्ट टिप्पणी

काठमाडौं, २५ असार । ब्राजिल विरलै चर्चामा आउने देश हो । पेले, रोमारियो, रोनाल्डिनो, रोनाल्डो, नेइमारजस्ता स्टार फुटबलरहरुको देश ब्राजिल यसपटक कोरोनाको कारण बिशेषः चर्चामा छ ।

कोभिड–१९ को क्षतिको सुचीमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ । अहिलेसम्म त्यहाँ करिब १८ लाख संक्रमित पुष्टि भइसकेको छ । ब्राजिलमा अहिलेसम्म ६८ हजारभन्दा धेरै मानिसको कोरोना संक्रमणको कारण मृत्यू भइसकेको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोरानो आफैं कोराना संक्रमति भएका छन् ।

बोल्सोरानो बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनपछि कोरोना संक्रमित हुने दोस्रो बहालवाला सरकार प्रमुख बन्न पुगेका छन् । ब्राजिल प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भएको देश हो । बोल्सोरानो राष्ट्रप्रमुख तथा सरकार प्रमुख दुवै हुन् ।

बोल्सोनारोलाई अमेरिकी महादेशीय राजनीतिमा दोस्रो ट्रम्प भनिन्थ्यो । उनी ट्रम्पझैं ‘दक्षिणपन्थी पपुलिष्ट’ राजनीतिज्ञ हुन् । समकालीन विश्वका दक्षिणपन्थी ‘डेमागग’ हरुको सूचीमा विश्लेषकहरुले उनलाई पनि राख्ने गरेका थिए । ट्रम्पलेझैं बोल्सोरानोले पनि कोरानाबारे लापरवाहीपूर्ण प्रतिक्रिया दिने गरेका थिए ।

ब्राजिलमा गत फेब्रअरीको २५ मा सान पाउलोमा कोभिड–१९ को पहिलो केश पुष्टि भएको थियो । मार्च २९ बाट मात्र ब्राजिलले हवाई उडानहरु प्रतिबन्ध गरेको थियो । जुनदेखि ब्राजिल कोरोना क्षतिको विश्व सूचीमा दोस्रो स्थानमा पुग्यो ।

बोल्सोरानोले कोभिड–१९ बारे दिइएका चेतावनीहरुलाई ‘सञ्चार माध्यमको अतिरिन्जना’ भन्दै अस्वीकार गरेका थिए । गत मार्च १५ मा उनले राजधानी ब्रासिलियामा आयोजना गरेको एक ठूलो राजनीतिक र्‍यालीमा मास्क नलगाइकन भाग लिएका थिए ।

उनले कोरोना महामारीलाई प्रतिरोध गर्न सामान्य जनजीवनलाई कुनै प्रकारले व्यवधान गर्न नहुने तर्क गरेका थिए । उनको यो कदमको व्यापक आलोचना भएको थियो । उनलाई महाअभियोग लगाएर हटाउनु पर्ने नत्र ब्राजिल कोरोनाले बर्बाद हुने आवाज चर्को रुपमा उठेको थियो । तर, त्यसलाई उनले सामान्य राजनीतिक विरोध ठाने ।

उनले एक टेलिभिजन कार्यक्रममा–‘कोरोना भनेको सामान्य रुघाखोकी हो, यसले केही पनि हुँदैन, कोही पनि मर्दैन, सबैले आ-आफ्नो काम गरे हुन्छ’ भनेका थिए । स्वास्थ्यकर्मी तथा जनस्वास्थ्य विज्ञहरुले बोल्सोरानोको यो भनाईको चर्को आलोचना गरेका थिए ।

उनले सार्वजनिकरुपमा नै मास्क लगाउन जरुरी छैन भनेका थिए । मेसम्म उनी मास्क बिनै हिड्ने गर्थे । ब्राजिलमा सामाजिक दूरीको नियम पालना गर्न सर्वसाधारणालाई अनुरोध गरिएको थिएन ।

ट्रम्पलेझै बोल्सोरानोले मलेरियाको औषधी कोरोनामा पनि प्रयोग हुन सक्ने बताएका थिए ।

जुलाई ७ मा बोल्सोरानो आफैंमा कोरोना पोजिटिभ देखियो । त्यसपछि पनि उनले आफ्नो धारणा परिवर्तन गरेका छैनन् । कोरोना संक्रमण पुष्टि पछिको आफ्नो प्रतिक्रियामा उनले भने, ‘म एथलेटिक पृष्ठभूमिको मान्छे हुँ । यस्ता नाथे कोरोना सजिलै पचाउन सक्छु, त्यो बन्दाबन्दीको कुरा मसँग नगर्नोस् । म कोरोनाको निउँमा अर्थतन्त्र समाप्त गर्न सक्दिनँ ।’

ब्राजिलमा संघीय सरकारको तर्फबाट क्वारेन्टीनको बन्दोबस्त गरिएको थिएन । कतिपय प्रादेशिक र स्थानीय सरकारले भने शुरुवातदेखि नै आफ्नै निर्णयमा कोरोना प्रतिरोध मापदण्ड अपनाउने प्रयत्न गरेका थिए । त्यसमध्ये पिइँउ प्रदेश अग्रणी थियो, अहिले यो प्रदेश कोरोना क्षतिको सूचीमा सबैभन्दा कम क्षति हुने प्रदेश बनेको छ ।

जुलाई ७ को फोरेन अफेयर्समा ब्राजिलियन पत्रकार क्याथरिन ओसवर्नले ब्राजिलमा कोरोना महामारीको स्थितिबारे लामो लेख लेखेकी छन् । लेखको शीर्षक छ- ‘बोल्सोरानोले ब्राजिललाई कोरोना मृत्युकुन्ड बनाइदिए ।’

क्याथरिन लेख्छिन्, ‘ब्राजिलियन पपुलिष्ट बोल्सोरानोको गलत नीति, जनस्वास्थ्यप्रतिको बेवास्ता, सार्वजनिक स्वास्थ्य प्रणालीमा सुधार ल्याउने इच्छाशक्तिको अभाव, अन्तर्राष्ट्रिय सहकार्यका लागि अरुचि र विश्व स्वास्थ्य संगठनका मापदंडको अस्वीकृति आजको ब्राजिलको बर्बादीको मुख्य कारण हो ।’

उनले गैरजिम्मेवार बोल्सोरानोबाट केही नहुने हुँदा प्रादेशिक र स्थानीय सरकारहरुलाई जिम्मेवार हुन र ब्राजिलको रक्षा गर्न आग्रह समेत गरेकी छन् ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय