scheduleशुक्रवार श्रावण २३ गते, २०७७

चीन र भारत छिमेकी हुन् कि आफन्त ?

रुद्रप्रसाद भट्ट

नेपालीमा एउटा उखान खुबै चल्तीमा छ ‘ज्युँदाको जन्ती र मर्दाको मलामी’ । यी दुवै अवस्थामा साथ दिने भनेको आफन्त र छिमेकीले हो । भनिन्छ- कहिल्यै फेर्न नसकिने र फेर्न नमिल्ने भनेको पनि छिमेकी र आफन्त नै हुन् । त्यसैले यी दुई कुरा सधैं सन्तुलनमै राख्नुपर्छ ।

छिमेकीसँग सहयोग मात्रै लिईन्छ तर आफन्तसँग सहयोग र साथ दुवै लिईन्छ । आफन्तले घरभित्रको आन्तरिक झगडा थाहा हुँदा पनि जोगाउन खोज्दछ तर छिमेकीले चाह्यो भने घरकै कुनै सदस्यलाई उचालेर आगोमा घिउ थप्ने काम गर्दछ । छिमेकी गतिलो नहुँदा जीवनभर दुःख पाईन्छ । जुन हामीले भोग्दै आएको कुरा हो ।

नेपाली राजनीतिमा पनि यतिबेला यस्तै घटना घुमिरहेको छ । दुई छिमेकी चीन र भारतले यहाँको राजनीतिमा घर भाँड्ने काम धेरै अगाडिदेखि गर्दै आएका छन् । कहिले देखिनेगरी र कहिले अदृश्यरुपमा भारतले धेरैपटक हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ । २००७ सालदेखि २०७७ सालसम्म भारतले पटक–पटक आफ्नो हैसियतभन्दा तल झरेर पनि नेपाली राजनीतिमा हस्तक्षेप गर्न खोजेकै छ । उसको अनुकुल नहुँदा नाकाबन्दी गर्ने र कुटनितिक मर्यादा समेत बिर्सने गरेको भारतले आन्तरिक मामिला मात्रै होईन नेपाली भूमि मै हस्तक्षेप गर्दै आएको छ ।

रुद्रप्रसाद भट्ट

पछिल्लो पटक पनि भारतसँग किचलो छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालले नक्सा जारी गरेपछी बिच्किएको भारतीय पक्षले अहिले पनि राजनीतिमा हस्तक्षेप गर्न छाडेको छैन । हाम्रा केही नेता नै दिउँसो भारतको विरुद्ध सडकमा र राति भारतीय दुतावास लैनचौरमा भेटिने गरेको उदाहरण छँदैछ ।

हामीले पनि सबै दलका सबै नेतालाई भारतीय दलाल घोषणा गरिसक्यौं । फरक यत्ति हो हाम्रो नजरमा कहिले काँग्रेसका नेता भारतीय दलाल भए कहिले कम्युनिष्टका नेता । अहिले आएर आफ्नै पार्टी भित्रको पनि एक पक्षले अर्को पक्षलाई भारतीय दलाल देखेकै छ । नेपाली राजनीतिमा एकले अर्कोलाई नराम्ररी गाली गर्न एउटै शब्द काफी छ । ‘भारतीय दलाल’ भनेपछि अरु अश्लिल गाली गर्नै पर्दैन ।

यतिबेला भने नेपाली राजनीतिमा अर्को छिमेकी चीनको चासो बढेको छ । एकाथरीले भारतीय दलाल र अर्कोथरीले चिनियाँ हस्तक्षेप भन्न थालेका छन् । तर, हेर्दा स्वभाविक लागेपनि चिनियाँ राजदूतको हर्कत चाहिँ बेठीक छ । हाम्रा नेताको लम्पसारवाद झन् बुझि नसक्नुछ । ‘आमाको कुरा मामासँग’ भने जस्तो हाम्रा नेताहरु सबै आफ्ना गल्ती कमजोरी लगेर राजदूतलाई सुनाई रहेका छन् ।

सत्ताधारी दल नेकपा भित्रको विवाद अन्त्यका लागि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेकपा नेता भेट्न व्यस्त छिन् । नेपाल र चीनको सम्बन्ध धेरै पुरानो भएपनि प्रत्यक्षरुपमा दल भित्रको विवादमा चिनियाँ पक्ष मुछिएको विरलै पाईन्छ । तर, यसपटक विवादमा मुछिएको मात्रै होईन चीनको विरुद्ध सडकमा प्रदर्शन समेत हुन थालेको छ । घरको झगडामा छिमेकीले गाली खाईरहेको छ ।

नेकपा नेताहरुसँगको निकटता अनि प्रधानमन्त्री र राष्ट्रपतिसँगको घनिष्टताले राजदूत यान्छीलाई नेकपा भित्रको विवादमा हस्तक्षेप गर्न झन् सजिलो भएको देखिन्छ । नेकपाको विवादमा राजदूत यान्छी तानिएसँगै भारतीय मिडियाले घटिया टिप्पणी र निकृष्ट विचार सम्प्रेषण गरिरहेको छन् ।

सामान्य अर्थमा बुझ्दा राजदूत भनेको एउटा सहजीकरण गर्ने कर्मचारी मात्रै हो । खासगरी त्यो देशमा रहेका आफ्ना नागरिकको अवस्था, त्यो देशसँगको सम्बन्ध, अनि आफ्नो देशको परराष्ट्र नीतिभित्र रहेर काम गर्नु बाहेक राजदूतले अरु कुरामा सामान्यतयः चासो दिँदैनन् । नेपालमा चीन, भारत, अमेरिका बाहेक पनि धेरै देशका राजदूत छन् । तर तिनले ओहदाको प्रमाणपत्र बुझाउँदा र कार्यकाल सकिएर फिर्ता हुनेबेलाको बिदाई भेटबाहेक अरुबेला राष्ट्रपति लगायत शीर्ष नेतृत्व भेट गर्दैनन् ।

कमजोरी उनीहरुमा भन्दा हामी मै छ । जागिरको लागि आएर बसेको अर्को देशको व्यक्तिलाई हामीले आफ्ना आन्तरिक कुरा छताछुल्ल बनाएर थाहा दिने मात्रै होईन हामीलाई मिलाईदेऊ भनेर शरण पर्नु नै हाम्रो कमजोरी हो । चाहे भारत वा चीन दुवै हाम्रा छिमेकी मात्रै हुन्, आफन्त होईनन् । काम गर्न आएको खेतालासँग घर अंश माग्नु जस्तै मेरो पार्टी र सरकारको पद जोगाईदेऊ भन्दै हिँड्नु राष्ट्रवाद होईन लम्पसारवाद हो ।

नेपालको जुन रणनीतिक अवस्थिति छ र भारत र चीनको वैश्विक उपस्थिति बढ्दैछ । यतिबेला संसारभरीका शक्ति राष्ट्रहरुको ध्यान नेपालतिर देखिन्छ । यस्तो अवस्थामा हामीले देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्दै आर्थिक-राजनीतिक दृष्टिले समृद्ध बन्न आन्तरिक राष्ट्रिय एकतामा जोड दिनुपर्छ । आफू बलियो भयो भने संसारले हेप्न सक्दैन । नत्र जति चर्को स्वरले नारा लगाए पनि हामी कमजोर नै रहन्छौं ।

स्वतन्त्र र कसैसँग नझुकेको राष्ट्रका नागरिक भनेर चिनिएका हामी वीर गोर्खाली आज सरकार र पार्टी बचाउन छिमेकी देशको एउटा सामान्य कर्मचारीसँग लम्पसार परिरहेका छौं किन ? यो चलन कस्ले कुन स्वार्थमा चलायो ? म आफैंले निर्वाचित गरेको सरकार धर्मराउन थाल्यो वा पार्टीमा विद्रोह हुन थाल्यो भने मिलाईदिने अस्त्र चाहिँ छिमेकमा हुन्छ ? स्वतन्त्र नागरिकको रुपमा देशको सांसद र सरकार मैले नै चुनेको हुँ भनेर म कसरी भन्न सक्छु ? मेरो नेताहरु छिमेकी बिना आफ्नो पद मिलाउन सक्तैनन् भने म कसरी स्वतन्त्र राष्ट्रको नागरिक हुन सक्छु ?

नेकपा भित्र को प्रधानमन्त्री र को पार्टी अध्यक्ष हुने भन्ने कुरा नेकपाका नेता र सांसदले भन्ने हो की छिमेकीले ? यो त मेरो घरमा कस्तो रंग लगाउने, छोराको व्रतबन्ध र छोरीको बिहे कहिले कोसँग गराईदिने भन्ने कुरा छिमेकीलाई सोध्नु जस्तो भएन र ?

छिमेकीसँग सन्तुलित सम्बन्ध बनाउन नसक्नुले साँधसिमाना मिचिने, हेपिने–चेपिने, सामान हराउने, घर झगडा हुने र आफ्नै घरमा पनि अरुको हैकम चल्ने हुन्छ । त्यसैले चीन र भारतको पक्ष विपक्ष भएर घरभित्र कलह निम्त्याउने भन्दा घरभित्रकै अन्य सदस्य र आफन्त बसेर कलह टुङ्ग्याउनु बुद्धिमानी हुनेछ ।

आफु आफुमा हिलो छ्यापाछ्याप गर्दा दुवैको अनुहार हिलाम्मे हुन्छ, हिलोले आँखा छोपिएको बेला अर्कोले लडाईदियो भने नेपाली उखानमा भने जस्तै ‘… पनि सक्यो दैलो पनि देखियो’ हुनसक्छ । बेलैमा चेत खुलोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय