scheduleशनिवार श्रावण २४ गते, २०७७

नेकपा विवादमा चीनको चाहना के हो ?

साझापोष्ट विश्लेषण

सत्तारुढ नेकपाभित्र हुने अन्तर्संघर्षमा चीनले नजिकबाट चासो राख्दै आएको छ । तर, यो चासोको कारण के हो ? नेकपाभित्रको गुट संघर्षमा चीनको चाहना के हो ? नेकपामा को शक्तिशाली भए चीनको कुन उद्देश्य वा स्वार्थ पुरा हुने हो ? यो प्रश्न भने अनुत्तरित छ ।

नेकपा अन्तसंघर्षमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई कसैले राम्रो मानेको छैन । उनको सक्रियतालाई जोडेर भारतीय सञ्चार माध्यमले अनेक अनर्गल र आपत्तिजनक सामग्री प्रस्तुत गरिरहेका छन् । भारतीय सञ्चार माध्यमहरुको निकृष्ट शैली र प्रस्तुति नेपालीले विरोध गरिरहेका छन् । तर, नेपालभित्रै पनि यान्छीको सक्रियतालाई अवाञ्छित मानिएको छ ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक विरोधका बाबजुद राजदूत यान्छीले आफ्नो सक्रियता छोड्नुको साटो झनझन बढाउँदै लगेकी छन् । नेपालमा भइरहेका बहसका कोण-प्रतिकोणबारे चिनियाँ दुतावास बेखबर छ भन्न सकिन्न । तर, दुतावासले त्यसको कुनै आधिकारिक तथा मर्यादित प्रतिक्रिया दिइरहेको छैन ।

पछिल्लोपटक राजदुत यान्छीले नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहालसँग लामो कुराकानी गरेको खबर छ । यस अघि उनले माधव नेपाल, झलनाथ खनाललगायत नेकपा नेताहरुसँग भिन्नाभिन्नै भेट गरेकी थिइन । यी भेट कतिको आधिकारिक वा कुटनीतिकसंहिताअनुरुप हुन् भन्नेबारे परराष्ट्र मन्त्रालय मौन छ ।

राजदुत यान्छीले त्यस्तो बेलामा यी भेटघाट गरिरहेकी छन् कि नेकपाको स्थायी समिति बैठक जारी छ । बैठक बारम्बार स्थगन गर्दै आन्तरिक समिकरणका अनेक प्रयास भइरहेका छन् । राजदुत यान्छीको भेटघाटमा अरु कुनै उद्देश्य देखिँदैनन् । कुनै सार्वभौम देशको कुनै एउटा दलको बैठकबारे यति धेरै चासो राख्नु विदेशी राजदुतको पदीय मर्यादा र सीमाको दृष्टिकोणले शोभनीय हैन ।

राजदुत यान्छी र नेकपा नेताहरु बीचको भेटघाटमा के कुरा भए ? कसैले बताउन चाहेका छैनन् । भेटघाट गोप्य नभए पनि कुराकानीको बिषय गोप्य राख्ने प्रयत्न भइरहेको छ । तर, चीनसँग नेकपा नेतारुहरुसँग फरकफरक कुरा गर्न यतिखेर अरु कुनै एजेण्डा देखिँदैन ।

त्यसो भए नेकपा विवादभित्र चीनको स्वार्थ के हो त ? के चीन ओलीलाई सत्तामा जोगाइ रहन चाहन्छ ? ओलीले राजीनामा दिनुपर्ने अवस्था नआओस् भन्ने चाहन्छ ? वा अरु कुनै स्वार्थ छ ?

ओली सरकारबारे भूराजनीतिक सरोकारका आफ्नै आयाम होलान् । तर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ वा पर्दैन त्यसको आन्तरिक आयाम पनि हुन्छ । नेकपा स्थायी समितिको बहुमत संसदीय बहुदलीय लोकतन्त्र भएको देशमा आफैंमा एक संस्थागत प्रक्रियाको द्योतक हो ।

चीनका कुनै अमूर्त स्वार्थहरुको कारण नेपालको आन्तरिक राजनीति र संस्थागत प्रक्रिया अबरुद्ध हुने अवस्था आए त्यसलाई राम्रो मान्न सकिन्न ।

जानकारहरुका अनुसार चीन यतिखेर बहुआयामिक दबाव छ । विश्व राजनीतिका जटिलताले चीनका लागि नेपालको रणनीतिक महत्व बढेको छ । यतिखेर चीनको भारत र अमेरिकासंगको सम्बन्ध सन् १९७० को दशक यताकै सबैभन्दा नराम्र्रो विन्दूमा छ ।

ठीक भारत र अमेरिका नै नेपालमा सबैभन्दा बढी सरोकार राख्ने विश्व शक्ति हुन । अमेरिकासँग एमसीसीको सम्झौताको सवाल छ । चीन नेपालमा एमसीसी पारित नहोस् भन्ने चाहन्छ । त्यसका लागि चीनले दाहाल र खनाललाई प्रयोग गर्ने प्रयास गरिरहेको छ ।

ओली एमसीसी पास गर्ने पक्षमा थिए । नेकपाको आन्तरिक दबाबले त्यो सम्भावना टरेको छ । आकस्मिकरुपमा संसद अधिवेशन अन्त्य भएसँगै एमसीसी तुरुन्तै पास हुने सम्भावना छैन । हदम्याद टरी सकेको एमसीसीबारे अमेरिकाले के धारणा बनाउँछ, प्रष्ट छैन ।

भारतसँग चीन र नेपाल दुवै देशको सीमा विवाद एकै समय चर्किएको छ । यो परिदृष्यमा पनि चीन नेपाललाई आफ्नो अनुकुलतामा राख्न चाहन्छ । नेकपाभित्र कुनै ठूूलो विग्रह आए, आफू अनुकुलको अर्को राजनीतिक शक्ति नेपालमा तुरुन्तै तयार नहुने हुँदा नेकपाको शक्तिलाई जोगाइ राख्नु चीनको मुख्य स्वार्थ हो ।

राजतन्त्र रहुन्जेल चीनले सबै पार्टीहरुसँग समान हैसियतको समदुरी सम्बन्ध कायम गर्दथ्यो । राजतन्त्रलाई एक स्थीर र स्थायी मित्रका रुपमा बुझेको थियो । गणतन्त्र नेपालमा चीनले अर्को कुनै आफ्ना लागि परपर्दो राजनीतिक शक्ति देखेको छैन । तसर्थ, चीन नेकपालाई आफ्नो पोल्टाको शक्ति बनाउन चाहन्छ । कम्युनिष्ट–कम्युनिष्ट वैचारिक सम्बन्धले सृजना गर्ने मनोवैज्ञानिक सामित्यतालाई आफ्नो हितमा उपयोग गर्न सकिन्छ भन्ने चीनको अहिलेको मुख्य बुझाई हो ।

तर, नेकपाभित्र ओली चीनको रोेजाई हैनन् । सहज सत्ता हस्तान्तरण हुने हो भने ओलीभन्दा दाहाल वा खनाल चीनका लागि अझ उपयुक्त पात्र हुन । माधव नेपालबारे भने चिनियाँहरु दुविधामा छन् । माधव नेपाललाई उनीहरु भरपर्दो मित्र ठान्दैनन् । नेपालको आफ्नै खालको बुुझाई र स्वभाव भएको हुँदा उनले चीनतिर ढल्किनेभन्दा भारत, चीन र अमेरिकालाई समेत सन्तुलन गर्ने रणनीतिमा जाने सम्भावना चिनियाँहरु देख्दछन् ।

तर दाहाल र खनाल भने चीनसँगको सहकार्यमा सहज हुन सक्ने ठानिन्छ । खनाल प्रधानमन्त्री हुँदा उनलाई भारतले भ्रमणको निम्तो समेत दिएन । यसका लागि चीनले खनाललाई ‘क्रेडिट’ दिने गर्दछ ।

ओलीको मायाले चीनले नेकपाभित्रको विवाद मिलाउन चाहेको हैन । विवाद चर्किदै जाँदा नेकपाकोे शक्ति नगुमोस् र चीनसँग नजिकबाट आन्तरिक सहकार्य गर्ने राजनीतिक शक्तिको अभाव नहोस भन्ने चीनको चाहना हो ।

नेकपा कमजोर भए चीनका लागि त्यो स्पेश खाली हुन्छ । नेपाली कांग्रेसलाई उनीहरु पश्चिमा लोकतन्त्र पक्षधर शक्तिको रुपमा हेर्दछन् । कांग्रेस शक्तिशाली भए चीनभन्दा भारत र अमेरिकालाई नै धेर महत्व दिने चिनियाँहरुको बुझाई छ ।

जनता समाजवादी पार्टीबारे चिनियाँहरुको कुनै स्थिर धारणा बनिसकेको छैन ।

तसर्थ, यान्छीले नेकपा नेताहरुसँगको भेटमा ‘अहिले तपाईहरु मिल्नुस्, केही समय ओलीलाई नै चलाउन दिनुस् तर एमसीसी पास नगर्नुस्’ भन्ने आग्रह गरेको बुझिएको छ । चीनका अरु बुझाईबारे नेकपा नेताहरु सहमत नै भए पनि ओलीको कार्यशैलीले बेडा पार नलाग्ने उनीहरुको ठहर छ ।

तथापि यान्छीको सक्रियतापछि नेकपाभित्रको विवाद साँघुुरिदै गएको र केही दिनभित्र ‘सम्झौता र अस्थायी युद्ध विराम’ हुन सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय