scheduleशनिवार श्रावण २४ गते, २०७७

एकीकृत कृषि फार्म: एक युवा अनुभव

प्रेमबहादुर भट्टराई र वेदप्रसाद खतिवडा

कृषि प्रणालीका विभिन्न अवयवहरुलाई मैत्रीपूर्ण तरिकाले संयोजन गरी एक अर्कामा सहयोगी बनाउँदै उपलब्ध जमीनबाट अधिकतम एवं वर्षैभरि उत्पादन लिने कृषि प्रणाली नै एकीकृत कृषि प्रणाली हो । यस सन्दर्भमा, उपलब्ध जमीनको अवस्था, स्थानीय हावापानी, बजारसँगको दूरी, स्थानीय उपभोक्ताको आवश्यकताले कृषि प्रणालीका विभिन्न अवयवहरु मौसम अनुसार के हुन्छन् भन्ने कुरा निर्धारण गर्ने गर्छ । तर स्थानीय बजारमा माग हुने बेमौसमी तरकारी, लोकल कुखुरा, खसीबाख्रा, माछा, आदि नजिकैको बजारमा सजिलैसँग राम्रो मूल्य पाउने हुँदा यी कृषि उत्पादनले एकीकृत कृषि प्रणालीमा राम्रो स्थान पाइरहेको देखिन्छ । एकीकृत कृषिफार्म नेपालमा पारिवारिक रुपमा गरिने खेतीकै निरन्तरता हो तर थोरै फरक भनेको एकीकृत कृषि फार्म बजारको लागि उत्पादन लिइन्छ भने पारिवारिक खेतीमा भने परिवारको पोषण र खाद्य सुरक्षालाई जोड दिइन्छ । यस्ता फार्मको आकार ५ रोपनीदेखि केही बिगाहासम्म हुन सक्छ र सोही अनुसारका अवयवहरु राख्न सकिन्छ जुन कुरा उपलब्ध जमीन, मानव स्रोतसाधन, पूँजी र मुख्यतया बजारमा निर्भर रहन्छ ।

सामान्यतया नगरउन्मुख गाउँहरुको संख्यामा उल्लेख्य वृद्धि, परिवारहरुको गाउँबाट बजारमा बसाइसराई, कृषिकर्मप्रति आम मानिसको चासोमा कमी आदिका कारणले पनि शहरनजिकै रहेको कुनै पनि कृषि फार्मलाई सजिलै एकीकृत कृषिफार्ममा परिणत गरी आम्दानीका स्रोतहरु निकाल्न सकिन्छ । आजको यो अंकमा आफ्नो ४ रोपनी जतिको जमीनलाई एकीकृत कृषि फार्मको रुप दिनुभएका सामाजिक अभियन्ता तथा स्थानीय विकासका नेतृत्वकर्ता युवा प्रेमबहादुर भट्टराईसँगको अनुभव बाँडनेछौं । सुन्दरबजार नगरपालिका, लमजुङका स्थायी बासिन्दा भट्टराई विगत १६ वर्षदेखि विभिन्न संस्था मार्फत शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका विषयमा विभिन्न परियोजनाको नेतृत्व गर्दै हाल ग्रामीण सामुदायिक विकास केन्द्र लमजुङको कार्यकारी निर्देशक, गैरसरकारी संस्था महासंघ, लमजुङको अध्यक्ष, सुन्दरबजार अस्पतालको अध्यक्ष लगायतको जिम्मेवारीमा पनि हुनुहुन्छ  र पनि आफ्नै कृषिफार्मको सञ्चालनलाई पनि निरन्तरता दिइरहनु भएको छ । किसान एकीकृत कृषिफार्मका सञ्चालक श्री प्रेमबहादुर भट्टराईसँगको कुराकानीः

प्रेम सर, हामीलाई सुनाइदिनुस न यहाँले कहिलेदेखि र किन एकीकृत कृषि फार्म शुरु गर्नुभयो र अहिलेको अवस्था के छ ?

मैले स्थापना गरेको एकीकृत कृषि प्रणालीमा आधारित कृषिफार्म मेरो लागि एउटा नयाँ अभ्यास हो । हुन त मैले कृषि विषय पढेको छैन तर परम्परागत रुपबाट खेती किसानी गर्ने परिवारको सदस्य भएकोले खेती कसरी गर्ने भन्ने १६ वर्षको अनुभव लिएको छु । मेरो पढाइको क्षेत्र र नोकरीको क्षेत्र भनेको नै सामाजिक विषय र सामाजिक क्षेत्रमा काम गरेको अनुभव नै हो तर कृषिलाई व्यावसायीकरण गर्नुपर्दछ भन्ने कुराको वकालत भने सधैं गर्दै आएको छु । विदेशमा गइरहेका युवाहरुलाई आफ्नै स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने ज्ञान दिनको लागि मैले यो पेशालाई आफ्नो सहायक पेशाको लागि विकास गरेको हुँ । कृषिमा एकीकृत मोडल नयाँ नै त होइन । यस पेशालाई अँगाल्ने धेरै व्यावसायिक किसानहरु छन् । थोरै जग्गामा धेरै किसिमका कृषिका कार्य गर्नु नै एकीकृत कृषि हो भन्ने मलाई लाग्छ ।

मैले २०७५ सालबाट एकीकृत कृषि मोडललाई अँगाल्दै किसान एकीकृत कृषि, पशु तथा पंक्षी फार्म दर्ता गरी करिब ४ रोपनी जग्गामा कृषि व्यावसाय गर्दै आएको छु । यस फार्ममा तरकारी, विभिन्न जातका कुखुरा र माछापालन कार्य गर्दै आएको छु । हाल मसँग ३ वटा प्लाष्टिक घर छन्, ३०० वटा लोकल कुखुरा, ३०० वटा ब्रोइलर कुखुरा र ३०० वटा माउर जातका माछाहरु छन् । तरकारीबाट यो सिजनबाट मात्रै करिब ३५००० रुपैयाँ नगद आम्दानी भएको छ । लोकल कुखुरा, लौकाट, कडकनाथ, टर्की र बट्टाई गत साल ८०० वटा थियो तर उक्त कुखुराहरुबाट खासै फाइदा हुन सकेन । यसबर्ष लकडाउनको समयमा राखेको ब्रोइलर कुखुराबाट भने ५० हजार जति ३०० का दरले दुई लट पाल्दा फाइदा भएको छ । तरकारीमा लहरेबाली घिरौंला, करेला र काँक्रो उत्पादन भैरहेको र बिक्रिवितरण पनि भइरहेको छ । शुरुमा सिजनभन्दा अगाडि उत्पादन गर्दा लहरे तरकारीले राम्रो उत्पादन गर्नुको साथै बजार मूल्य पनि राम्रो थियो तर सिजनमा मूल्य कम भए पनि केही न केही उत्पादन भई आम्दानी भइरहेको छ । मेरो यस फार्ममा करिब २० लाख लगानी भएको छ । लगानीअनुसार मुनाफा कम भएता पनि आम्दानी विस्तारै बढ्दै जाने र लामो समयसम्म आम्दानी गर्न सकिने विश्वास लिएको छु ।

एकीकृत कृषि फार्ममा स्थानीय रुपमा के कस्ता अवसर सिर्जना गर्न सकिँदो रहेछ, बजार कस्तो रहेछ र तपाईंको सिकाई कस्तो रह्यो ?

एकीकृत कृषि फार्मबाट प्रत्येक सिजनमा केही न केही आम्दानी लिइरहन सक्ने भएकाले नगद आम्दानी केही न केही मात्रामा भैरहेको छ । जस्तै कहिले लोकल कुखुरा बिक्छ, कहिले ब्रोइलर कुखुरा, कहिले तरकारी र कहिले माछा । समयअनुसार यसले दिने आम्दानी निरन्तर भैरहेको हुन्छ । सिजनभन्दा अगाडि उत्पादन गर्दा अहिले बजारमा बिक्रि गरेको घिरौँला काँक्रो रु .३० प्रतिकिलो छ भने बेमौसममा रु. १५० प्रतिकिलोबाट बिक्रि गर्न शुरु गरिएको थियो । टमाटरको मूल्य पनि बजारभाउ अनुसार होलसेल नै रु.५० देखि ६० सम्म बिकेको थियो । त्यसैले एकीकृत पद्धतिबाट कृषि फार्म सञ्चालन गर्दा थोरै भए पनि नियमित आम्दानी लिन सकिने रहेछ भन्ने सिकाई भएको छ । विभिन्न अवयवहरु जस्तै कुखुरा र तरकारी खेती सँगसँगै गर्दा कुखुराको मलबाट तरकारी खेतीलाई आवश्यक खाद्यतत्व पूरा गर्न सहज हुने र तरकारी खेतीका खेर जाने पातहरु लगायतका कुराहरु कुखुरालाई खुवाउन पनि सकिने भएकाले एकअर्कालाई सहयोग गरिरहेको जस्तो लाग्छ ।

यस्ता किसिमका फार्म सञ्चालन गर्नका लागि तपाईंले कहाँबाट प्राविधिक सहयोग लिइरहनु भएको छ ?

यस क्षेत्रमा मेरो आधारभूत ज्ञान भएता पनि विशेषज्ञ ज्ञान नभएकोले स्थानीय सरकारको मातहतमा रहेको पशु सेवा शाखा र कृषि शाखाका प्राविधिक एवं स्थानीय रुपमा सञ्चालन भएका एग्रोभेट तथा भेटेनरीबाट प्राविधिक ज्ञान र सहयोग पाएको छु । जसले गर्दा अहिले  फार्म सञ्चालन गर्न केही सहज भएको छ । यसका अलावा म आवद्ध सामाजिक संस्थाहरुले विभिन्न समयमा कृषि क्षेत्रमा गरेका परियोजनाको सञ्चालन, किसानसँगको अन्तरक्रिया तथा प्राविधिकहरुसँगको उठबसले पनि मलाई धेरै मात्रामा यो कामका लागि आवश्यक प्राविधिक ज्ञान दिलाएको छ ।

एकीकृत कृषि फार्मको आम्दानीका लागि बजार एउटा महत्वपूर्ण पक्ष हो नै । यहाँले आफ्ना कृषि उपजहरुको बजार व्यावस्थापन कसरी गरिरहनु भएको छ ? र कसरी यसको बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने लाग्छ ? 

मैले उत्पादन गरेको कृषि उत्पादन लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा रहेको सुन्दरबजार क्षेत्रमा मात्र बिक्रिवितरण भइरहेको छ तर सबै उत्पादन स्थानीय बजारमा मात्र बिक्रि हुँदैन । यसका लागि स्थानीय सरकारले बिक्रिको ग्यारेन्टी दिनुपर्ने हुन्छ । अहिले कोभिड१९ ले गर्दा धेरै युवाहरु विदेशबाट फर्किएका छन् भने सबै जसो युवाले कृषि पेशालाई प्राथमिकता दिने निश्चित छ । प्रायः सबैका बाउबाजेले खेती गर्दै आएका केही न केही जमीन छ र राज्यले पनि यसै क्षेत्रलाई बढी महत्व दिएको छ । अब कुरा के हुन्छ भने सबैले कृषिकार्य गरेपछि कृषिमा उत्पादन आवश्य नै बढ्छ तर उक्त उत्पादनलाई प्राथमिकता दिनका लागि बजारको व्यवस्थापन हुन आवश्यक छ । अनि मात्र यस क्षेत्रको दीगो विकास गर्न सकिन्छ । लामो समयसम्म मानिसहरु यसै पेशालाई अँगाल्न सक्छन् । उत्पादित बस्तु कुहाएर र जोतेर फाल्ने स्थिति आयो भने फेरी यस क्षेत्रप्रति मानिसहरुको भरोसा घटेर जान्छ । त्यस्तैगरी स्थानीय रुपमा हाट बजार पनि सञ्चालन गर्न सके अझै स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्न सकिने निश्चित हुन्छ ।

यसक्रममा यहाँले कस्ता किसिमका चुनौतीहरुको सामना गर्नुभयो ?

सामान्यतया कृषि क्षेत्रमा उत्पादित कृषि उत्पादनले तराईबाट आएका तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्नु । किनभने लागत मूल्य बढी हुँदा बिक्रि मूल्य पनि बढी हुन जान्छ । स्थानीय सरकारले खरिद गर्ने ग्यारेन्टी नलिएसम्म यो चुनौती सधैं रहिरहन सक्छ । यसका अलावा उत्पादनको आधारमा किसानलाई कृषि यान्त्रीकरण, मल बिऊ र व्यवस्थापनमा अनुदान सर्वसुलभ रुपमा प्रदान नगरुन्जेलसम्म युवाहरु कृषि पेशाप्रति आकर्षित नुहन सक्छन् । एकीकृत रुपमा कृषि गर्दा धेरै जग्गा नहुँदा उत्पादनमा विविधीकरण र बाह्रै महिना उपलब्ध गराउन सकिँदैन  त्यसैले यसका लागि पनि जमीनको उपलब्धता बढाउनुपर्छ र कम्तिमा पनि एक विगाहा जमीन उपलब्ध हुन सके उत्पादनमा विविधीकरण र एक परिमाणको उत्पादन लिन सकिने र फाइदामा सञ्चालन गर्न सकिने देखिन्छ ।

एकीकृत रुपमा कृषिकार्य गर्दा कहिलेकाहिँ एक बालीमा लाग्ने रोग अर्को बाली वा एक कुखराबाट अर्को जातिका कुखुरामा सर्ने हुँदा रोग किरा व्यावस्थापन गर्न समस्या उत्पन्न हुने देखिन्छ । प्राविधिक ज्ञान कम हुने हुँदा कहिलेकाहिँ समस्या समाधान गर्न समयमा नसक्दा हानीनोक्सानी हुन जान्छ ।

अन्तमा एकीकृत कृषि फार्म सञ्चालन गर्दाका खास सिकाई र भविष्यमा यस क्षेत्रमा गर्न सकिने कामका बारेमा बताइदिनोस न ।

सारमा भन्दा एकीकृत कृषि प्रणालीबाट व्यावसायिक फार्म सञ्चालन गर्दा उत्पादन नियमित हुने र नगद आम्दानी पनि नियमित रुपमा हुने हुँदा यसको सञ्चालन खर्चलाई व्यवस्थापन गर्न सहज हुने देखिन्छ । यसरी उत्पादन गर्नुभन्दा अगाडि यसको बजार पनि नजिक हुनु अति आवश्यक हुन्छ । स्थानीय सरकारले स्टार्टअप व्यवसायको रुपमा एकीकृत फार्म स्थापना गर्नका लागि सहयोग गर्ने, प्राविधिक सहयोगका लागि कृषिसँग सम्बन्धित विज्ञ टिमको सहयोग, कृषिमा हुने जोखिमलाई कम गर्नका लागि निःशुल्क वीमा गर्ने, कृषि उपज किन्ने ग्यारेन्टी लिने गरेमा एकीकृत कृषि उत्पादनमा मानिसहरुको आकर्षण अझै बढाउन सक्नुका साथै कृषि पेशालाई मर्यादित बनाउन सकिने निश्चित छ । यसका अलावा कृषि क्षेत्रलाई पर्यटन व्यवसायसँग जोड्ने र होमस्टेको व्यवस्था गर्ने, स्थानीय अर्गानिक उपजहरुबाट पर्यटकहरुलाई आकर्षित गर्ने कार्य गर्न सकेमा एकीकृत कृषि फार्मबाट थप आम्दानी गर्न सकिने देखिन्छ । यसका अलावा कृषिमा उपलब्ध जैविक विविधता संरक्षण गर्ने, स्थानीय रुपमा उपलब्ध फलफूल तथा तरकारी बालीका जातहरुको संरक्षण गर्न सकेमा यसले दीगो रुपमा पनि एकीकृत कृषि फार्मको सुन्दरतालाई बढाउन सकिने र दीगो कृषिलाई पनि टेवा दिन सकिन्छ ।

—————————-

यस विषयमा थप प्राविधिक तथा व्यवस्थापकीय जानकारी लिन इच्छुक हुनुहुन्छ भने युवा अभियन्ता प्रेमबहादुर भट्टराईलाई ९८५६०६५१११ वा prem.brcdc@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

—————————-

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय