scheduleशनिवार श्रावण २४ गते, २०७७

जब प्रधानमन्त्रीमा महन्थको नाम आयो …

काठमाडौं, २७ असार । नेकपाभित्रको विवाद अन्त्यका लागि उपायहरुको खोजी भैरहँदा पार्टीलाई नै घाटा हुनेगरी प्रधानमन्त्री नेकपा बाहिरबाट ल्याउने सम्मको छलफल भएको खुलेको छ ।

प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि हटाउने योजनामा लागेको प्रचण्ड–नेपाल समूहमा यस्तो छलफल भएको स्रोतको दाबी छ । प्रचण्ड–नेपाल समूहको अनौपचारीक छलफलमा एक नेताले ओलीले साह्रै निहुँ खोजेमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर जान सकिनेसम्मको तर्क गरेपछि बैठकमा ‘तैं चुप मैं चुप’ को अवस्था आएको हो ।

यद्यपि यो कुरामा लामो छलफल भने भएन । तर, प्रधानमन्त्री ओलीले नछाड्ने अनि उनलाई राजीनामा गराएर प्रचण्ड वा माधव नेपाल प्रधानमन्त्री हुन पनि नसक्ने अवस्था भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा वा महन्थ ठाकुर मध्ये एकलाई ल्याउनेबारे समय कटाउने खालको हल्का गफ गरिएको स्रोतको दावी छ ।

तर, देउवाको पनि भर नभएको र ओलीसँगै बढी नजिक भएको निश्कर्षसहित महन्थ नै उपयुक्त पात्र हुनसक्ने चाहिँ कुराकानी चलेको छलफलमा सहभागी एक नेताले बताए ।

पार्टीभित्रको विवाद अन्त्यका लागि दुई अध्यक्षबीच सहमति हुन नसकिरहेको बेला अकस्मात प्रधानमन्त्री केपी ओलीलाई हटाएर महन्थ ठाकुर ल्याउन सकिनेसम्मको कुरा आएपछि प्रचण्ड–नेपाल समूहमै खट्पट हुनसक्ने भन्दै तत्काल उक्त बोली सच्याउन लगाईएको एक नेताले बताए ।

‘छलफल त जुनसुकै बिषयमा पनि हुन्छ नि, तर निर्णय के भयो भन्ने मुख्य हो,’ ती नेताले घुमाउरो शैलीमा भने, ‘पार्टी बैठकमा आएको भए गम्भीर विषय बन्नसक्थ्यो तर नेताहरुको अनौपचारिक भेटघाटमा भएको कुराको कुनै अर्थ हुँदैन ।’

समाजवादी र राजपा मिलेर बनेको जसपा अहिले संसदमा तेस्रो शक्ति हो । हिजो माओवादी तेस्रो हुँदा र एमाले तेस्रो पार्टी भए पनि त्यहीँ पार्टीबाट प्रधानमन्त्री भएको प्रसंग जोडेर यो बिषय उठेको भएपनि अहिले ओलीको विकल्प नेकपाकै नेता प्रधानमन्त्री हुने ती नेताले बताए ।

ओलीको राजीनामा नै प्रचण्ड–नेपाल समूहको अहिलेसम्मको बटमलाईन भएको उनको भनाई छ । तर प्रधानमन्त्री ओली निकट नेताहरु भने ओलीले राजीनामा दिने कुनै कारण नभएकोले प्रधानमन्त्री हुने नेताले अर्को चुनावसम्म धैर्य गर्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच शनिबार चितवन पुगेका प्रचण्डले नेकपाभित्रको आन्तरिक द्वन्द्व समाधान उन्मुख भएको बताए पनि समाधान कसरी हुँदैछ भन्नेबारे केही खुलाएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय