scheduleबिहिवार श्रावण २९ गते, २०७७

प्रिमियर लिगमा वाटफोर्ड र वेस्ट ह्यामको जीत, नर्विच रेलिगेसनमा

काठमाडौं, २७ असार । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आज भएको खेलमा वाटफोर्ड र वेस्ट ह्याम युनाइटेडले आआफ्नो खेलमा जीत हात पारेका छन् ।

पहिलो खेलमा वाटफोर्डले १-० ले पछि परेको अवस्था उल्टाउँदै न्यूकासललाई २-१ ले हरायो । उसका लागि दुवै गोल ट्रोय डिनेले पेनाल्टीमार्फत गरेका थिए । सुरुवाती अग्रता लिने क्रममा न्युकासलका ड्वाइट गेलले २३औं मिनेटमा गोल गरेका थिए । त्यसपछि डिनेले ५२औं र ८२औ मिनेटमा प्राप्त दुवै पेनाल्टीको सदुपयोग वाटफोर्डको जीत सुनिश्चित गरे ।

जीतसँगै वाटफोर्डको ३५ खेलबाट ३४ अंक भएको छ यद्यपि अंकतालिकामा १७औं स्थानमा रहेकाे छ भने न्यूकासल समान खेलबाट ४३ अंकसहित १३औं स्थानमा यथावत् छ ।

नर्विचविरुद्ध गोल गरेपछि वेस्टह्यामका माइकेल एन्टोनियो

त्यसैगरी दोस्रो खेलमा वेस्ट ह्यामले नर्विच सिटीमाथि ४-० को सहज जीत निकाल्यो । उसका लागि चारवटै गोल माइकेल एनटोनियोले गरेका थिए । उनले खेलको ११औं, ४६औं, ५४औं ७४औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै वेस्ट ह्याम पनि ३४ अंकसहित १६औं स्थानमा छ । समान अंक भएको वाटफोर्ड गोलअन्तरका आधारमा एक स्थान तल छ । पराजित नर्विच भने २१ अंकसहित तालिकाको पुछारमा रहेको छ र रेलिगेसनमा परेकाे छ । नर्विच यसै सिजन मात्र प्रिमियर लिगमा बढुवा भएर आएकाे थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय