scheduleशनिवार श्रावण २४ गते, २०७७

‘महानायक राजेश हमाल नै हुन्, दीपालाइ पनि गाली गर्न बन्द गरौ‌ं’

ज्वाला संग्रौला

साथीहरु ! आज बोल्न मन नहुँदा नहुँदै पनि अति भएपछि बोल्न बाध्य भएँ । मेरो विचारप्रति क-कस्ले विमति जनाउँछन्, त्यसमा मलाई कुनै सरोकार छैन । तर, मेरो विवेकले बुझेको लेख्नुपर्छ जस्तो लाग्यो र यो कुरा लेख्दैछु ।

हामीलाई थाहै छ- नेपाली चलचित्र उद्योगमा राजेश हमालको जति योगदान अरु कसैको छैन होला । उहाँले वर्षमा १० वटा चलचित्र खेले पनि, ती चलचित्रहरु व्यवसायिकरुपमा कति असफल भएपनि वहाँले कहिले हरेश खानुभएन । जस्तोसुकै सानो रोल भएपनि त्यसलाई म खेल्दिनँ भन्नुभएन ।

कहिल्यै अनावश्यक विवादमा आउनु पनि भएन । आलोचना, गाली ताली सबलाई आत्मसात गर्दै जीवनको उत्तरार्धतिर आईपुग्दा अहिले वहाँको नाममा महानायक हो कि होईन भन्ने बिषयमा सञ्जाल तातिएको छ !

दीपाश्री निरौलाले एउटा अन्तर्वार्तामा दिएको थोरै नमिल्दो अभिव्यक्ति पछि सञ्जालमा आएको सुनामी नजिकबाट मैले हेरेँ ! राजेश हमाल हरेक हिसाबमा मेरो लागि महानायक हुनुहुन्छ । चाहे वहाँको कामप्रतिको लगनशिलता होस् या वहाँको शैक्षिक धरातल होस् या वहाँको पर्सनालिटी होस् ।

राजेश हमाल बिनाको नेपाली सिनेमा जगत अधुरो नै छ र हुनेछ । वहाँ एउटा नायक मात्र नभएर अन्तराष्ट्रिय मञ्चमा पनि डिबेट गर्न सक्ने ज्ञान र क्षमता भएको व्यक्तित्व हुनुहुन्छ । जब हामीलाई यो सब थाहा छ भने कसैले दिएको थोरै नकारात्मक अभिव्यक्तिलाई लिएर किन बेकारमा समय खेर फाल्नुहुन्छ ? किन कसैको चरित्रमाथि औंला उठाउनुहुन्छ ? किन उसको बाँकी भविष्य नै ध्वस्त हुनेगरी उसको मानहानी गरिदिनुहुन्छ ?

मलाई थाहा छ- दिपाश्रीले बोल्दा गल्ती जरुर गर्नुभएको छ तर यसको मतलब यो हैन कि दिपा हरेक कुरामा ग़लत हो, काम नलाग्ने हो, चरित्रहिन हो, कसैको अघोषित श्रीमती हो । के यस्तो बोल्न मिल्छ ?

म सानी थिएँ जतिबेला रामबिलास र धनियाँहरु रेडियोमा बोल्न आउँथे । बुझे नि नबुझे नि खुब रमाईलो लाग्थ्यो । मेरा दिदी दाईहरुले मलाईपछि सिकाउनु हुन्थ्यो कि समाजमा भएका ग़लत कुराहरुलाई यसरी रमाईलो तरिकाले बोलेको हो भनेर । समाजलाई कलाको माध्यमबाट केहि सन्देश दिन खोजेको हो भनेर ।

पछि ठूलो हुँदै जाँदा दिपक र दीपाको तीतो सत्य लगायत दर्जनौ हाँस्यव्यङ्ग्य कार्यक्रमहरु हेर्ने अवसर जुट्यो । समाजमा भएका विकृति, सरकारमा भएका विकृतिहरुलाई रमाईलो पारामा घुमाएर दनक दिने यो शैली बडो गजबको थियो । हुँदाहुँदा दीपालाई र दीपकलाई देशले चिन्यो, जनताले चिने, एउटा नाम बन्यो !

यहाँसम्म आईपुग्न एउटी छोरी मान्छेले कति दुःख गरेको होला ? कतिको दमन र गाली सहेको होला ? कति दिन भोकै हिंडेको होला !

आज आएर उनले दिएको एक अभिव्यक्तिको कारण उनलाई चरित्रहिन बनाएर, उनलाई डिप्रेशनमा पुर्‍याएर, एउटा उर्वर कलाकारको भविष्य भत्काएर के पाईन्छ साथीहरु ? के उनी नाङ्गै झण्डा बेरेर हिँडेकी छिन् ? के उनले राष्ट्रको हितविपरित काम गरेकी छिन् ? के उनी विदेशी दलालहरुसँग मिलेर सरिता गिरीजस्तो गएगुज्रेको भाषण गर्दै हिँडेकी छिन् ? छैनन् नि ?

ल उनले राजेशलाई महानायक भनिनन् रे । उनले भन्दैमा राजेश हमालको संघर्षको इतिहास र नाम गुमनाम हुने हैन नि ? उनले गल्ती गरिन्, बोल्दा अलि बढी बोलिन् । यस्को मतलब यो हैन कि उनी साराका सारा खराब छिन् ! उनले गल्ती गरिन् यस अर्थमा कि उनी एक मानव हुन् । मान्छेबाट गल्ती हुन्छ यो स्वभाविक छ । जसको लागि उनले माफी पनि मागिसकिन् तर हामी भने उनलाई खेद्न अझै छाडेका छैनौ ।

साँच्चै भन्नुपर्दा दीपक र दीपाले थोरै चलचित्र गरे, जीवन ढल्किदै जाँदा फ़िल्म खेले तर उनीहरुले अभिनय गरेका थोरै चलचित्रले यो देशको सरकारलाई दिएको झापड हजारौं चलचित्रका छाडा चुम्बनका दृश्यहरुले विस्थापित गर्न कदापि सक्दैनन् !

अर्को कुरो दिपकराज गिरी भनेको अलिकति घमण्डी जस्तो देखिएता पनि समाज र सरकारका गलत क्रियाकलापलाई हामीजस्तै स्वतन्त्र हिसाबले सञ्जालमार्फत् सिधा दनक दिनसक्ने हिम्मत भएको कलाकार हो । ऊ एउटा सामाजिक मान्छे पनि हो । एउटा कुराकानीको क्रममा मलाई केहि महिना अगाडि रवि लामिछाने दाईले दीपकराज गिरी समाजमा प्रचारप्रसार नगरी लाखौं सहयोग गर्ने सफा मनको मान्छे हो, धेरै सहयोग गरेको छ तर नदेखाएरै गरेको छ भन्नु भएको थियो ।

ज्वाला सङ्ग्रौला

रवि लामिछाने जेल परेको बेला होस् या अन्य सामाजिक विसंगति र अत्याचारको बेला होस्, दीपक र दिपाले सत्यको लागि, न्यायको लागि बोलेको र सिङ्गो देशको लागि दिएको योगदान कम छैन । हेर्नुस्, मित्रहरु कलाकारिता भनेको डेमोक्रेटिक हुन्छ । चाहे त्यो हाँस्यव्यङ्ग्य होस् चाहे पुरातन होस् चाहे आधुनिक होस् ।

कसैको कलाकारितामाथि खिल्ली उडाउँदै उसलाई जोकर भन्नेचाहि संसारको सबैभन्दा ठूलो जोकर हो । हामी उसको विचारमाथि विमति राख्न सक्छौं तर जब हामी विचारबाट भड्किएर उसको चरित्रमाथि उत्रन्छौं । हामी संसारकै सबैभन्दा निकम्मा र विचारको धोती फुक्लेका बेसरम मान्छे हौं !

हामीलाई राजेश हमाल पनि चाहिन्छ, दीपा पनि चाहिन्छ दीपक पनि चाहिन्छ । तसर्थ सके सबैलाई सम्मान गरौँ । नसके चुपचाप बसौं । दिपा डिप्रेशनमा छिन् ।

उनीसँग मेरो चिनजान पनि छैन, फेसबुकमा साथी पनि छैनौं, कति म्यासेज गरेँ, रिप्लाई आएको छैन । उनलाई अझ बढी सक्रिय भएर काम गर्न र एक ईञ्च पनि हिम्मत नहार्न मेरो पनि थोरै हिम्मत थपिदिन चाहन्छु । धन्यवाद !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय