scheduleशनिवार श्रावण २४ गते, २०७७

शिक्षालयमा ‘शिक्षा’भन्दा ‘सिद्धान्त’ पढाएको भन्दै अनुदान रोक्ने ट्रम्पको धम्की

एजेन्सी, २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्कुल, कलेज र विश्वविद्यालयहरुलाई दिँदै आएको संघीय सरकारको सहयोग रकम दिन बन्द गर्ने धम्की दिएका छन् । ट्रम्पको यो धम्कीले अमेरिकी समाजमा नयाँ तरङ्ग र बहस सृजना गरेको छ ।

शुक्रबार बिहान ट्वीट गर्दै ट्रम्पले यस्तो धम्की दिएका हुन् । उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘ धेरै विश्वविद्यालय र स्कुलहरुको प्रणाली र्‍याडिकल लेफ्टहरुको सिद्धान्त सिकाउने खालको छ, शिक्षा दिने हैन । तसर्थ, मैले ट्रिजरी विभागलाई तिनीहरुको कर छुटको दायरा र हाम्रो सहयोगबारे पुनर्विचार गर्न भनेको छु ।’

उनले थपेका छन्, ‘यस्तो काम रोकिन्न भने ती सुविधा हटाइने छ । हाम्रा बच्चाहरुलाई शिक्षा चाहिएको छ, सिद्धान्त सिकाई हैन ।’

ट्रम्प कोरोना महामारीकै बीचमा पनि स्कुलहरु खुुल्नुपर्ने पक्षमा देखिएका छन् । उनीले भनेका छन्, ‘स्कुलको काम नै खुल्नुु र विद्यार्थी पढाउनु हो । यदि स्कुल खुल्दैनन र विद्यार्थी पढाईदैन भने उनीहरुलाई संघीय अनुदान किन दिने ?’

कोरोना महामारीबीच स्कुल खोल्ने नीतिको अमेरिकी शिक्षक युनियनले विरोध गर्दै आएको छ । युनियनको भनाईको आलोचना गर्दै ट्रम्पले यसलाई चुनावसँग जोडेका छन् ।

बिहिबारको अर्को एक ट्वीटमा उनले भनेका थिए, ‘स्कुल खोल, स्कुल खोल, स्कुल खोल, बन्द राख्ने मुर्खता नगर । स्कुल बन्द राख्दा नोभेम्बर थर्डमा उनीहरुलाई फाइदा हुन्छ भन्ने ठानेका होला, झन बेफाइदा हुने छ ।’

नोभेम्बर ३ अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचनको दिन हो ।

शिक्षक युनियनको आरोप छ, ‘राष्ट्रपति ट्रम्पले हरेक कुरालाई नकारात्मक र राजनीतिक दृष्टिकोणले हेरेको, शिक्षक र विद्यार्थीको जीवनलाई ठूलो जोखिममा हाल्न खोजिएको छ ।’

न्यूयोर्कका एक प्राध्यापकले प्रतिक्रियामा भनेका छन्, ‘अमेरिकाको शिक्षा प्रणाली नै उदार लोकतान्त्रिक मूल्य प्रणालीमा आधारित छ । त्यो हाम्रा संस्थापक पिताहरुले दिएको वैचारिक विरासत हो । त्यसलाई अपमान गरेर ट्रम्प अमेरिकाको इतिहास र औचित्यलाई नै गलत सावित गर्न खोज्दैछन् ।’

ट्रम्पको भनाइप्रति अभिभावका संघले पनि आपत्ति जनाएको छ । संघले भनेको छ, ‘जीवनलाई जोखिममा हालेर बच्चाले शिक्षा लिने छन् भन्ने विश्वास गर्न सकिन्न । स्कुलहरु खोल्न अझै केही समय पर्खिनु राम्रो हुन्छ ।’

ट्रम्पको ट्वीटरमा एक पाठकले यस्तो प्रतिक्रिया लेखेका छन्, ‘ट्रम्प महोदय, तपाईको कुरा बुुझ्न बाँकी थिएन । अब स्कुल, कलेज र विश्वविद्यालय सबै बन्द गर्नुस्, तिनीहरुलाई दिने अनुुदान चर्चहरुलाई दिनुस् । इसुले भोट हालेर तपाईलाई नोभेम्बर थर्डमा जिताउने छन् ।’

अर्का एकले यस्तो प्रतिक्रिया लेखेका छन्, ‘तानाशाहहरुको पहिलो असन्तुष्टि सधै विश्वविद्याय र बौद्धिक वृत्तप्रति हुन्छ । त्यसको कारण शिक्षित समूहले तानाशाहीलाई बेलैमा चिन्छ र प्रतिवाद गर्दछ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय