scheduleबुधवार श्रावण २१ गते, २०७७

प्रचण्डले हतार गरेकै हो त !

काठमाडौं, २८ असार । सत्तारुढ नेकपाभित्रको विवादमा आफुले हतार गरेको भए नेकपा दुर्घटनामा परिसक्थ्यो तर हतार गरेर फुर्सदमा पछुताउनुपर्ला भन्ने बुझेर नै त्यसो नगरेको भन्ने नेकपा अध्यक्ष प्रचण्डको भनाईलाई उनकै पार्टीका केहि नेताले हाँस्यास्पद भनेका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर शनिबार यस्तो बताएका थिए । ‘पार्टीमा विवाद भएपनि हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने पक्षमा म छैन,’ प्रचण्डले भनेका थिए, ‘हाम्रै प्रयत्नले पार्टीभित्र हुनसक्ने दुर्घटना रोकिएको छ ।’

तर, अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले भने प्रचण्डले आवश्यकता भन्दा बढी हतार गरेको टिप्पणी गरेका छन् । ‘आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन पार्टीभित्रै गुट बनाई षड्यन्त्र गर्नु भन्दा हतार अरु के हुन सक्छ ?,’ ओली पक्षीय एक नेताले भने, ‘केपी ओली हटाउन खोजेकोमा कार्यकर्ता सडकमा आएपछी डराएर उहाँ अहिले सच्चिन खोजेको मात्रै हो ।’

यद्यपि, ओलीको राजीनामा प्रचण्डले मात्र नभएर सिंगो देशले नै मागिरहेको छ । प्रचण्ड पक्षीय एक नेता भन्छन्, ‘कतिपय अवस्था र प्राविधिक प्रतिकूलताले हामी समयमै राजीनामा माग्न चुक्यौं । सिंगो देश नै ओली नेतृत्वबाट आहट भइसकेको छ ।’

पाँच वर्षको लागि संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्र गर्नु र पार्टीका अन्य नेतालाई उचालेर गुट बनाउने काम प्रचण्डबाटै भएको भन्दै ओली पक्षीय नेता आक्रोशित छन् । सडकमा ओली हटाउन पाईंदैन भन्नेहरुको प्रदर्शन, भारतीय पक्षसँगको ओली अडान र चिनीयाँ राजदूतले भेटेर सम्झाएपछि प्रचण्ड-नेपाल पक्ष पछि हट्दै गएको ओली पक्षको बुझाई छ ।

आफ्नो निर्वाचन क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकनसँगै अध्यक्ष प्रचण्डले चितवनका पार्टी नेता कार्यकर्तासँग शनिवार भेट गरेका थिए । आफ्नै गृह जिल्लामा ओली समर्थकको जुलुश निक्सेकोमा पनि अध्यक्ष प्रचण्डले चासो राखेका थिए ।

उनले पार्टीमा विवाद हुनु सामान्य कुरा भएको तर पार्टी फुट्न नदिन अन्तिमसम्म आफु लागिरहने प्रतिबद्धता जनाउँदा हलमा ताली बजेको थियो । पार्टी फुट्न नदिने उनको भनाईमा कार्यकर्ताले ताली बजाएर हुटिङ गरेका थिए ।

चितवनमा पूर्व माओवादीका तर्फबाट पार्टी अध्यक्ष यमबहादुर परियार छन् भने भरतपुर महानगरको मेयर प्रचण्डकै छोरी रेणु दाहाल छिन् ।

पूर्व एमालेसँग पार्टी एकता भएपछि चितवनमा प्रचण्ड पक्ष बलियो भएपनि हाल चितवनमा प्रचण्ड पक्षमै ४ गुट देखिएको कार्यकर्ता बताउँछन् ।

नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलको छुट्टाछुट्टै गुट अस्तित्वमा छन् भने प्रचण्ड परिवार भित्रै रेणु दाहाल र नारायण दाहालको छुट्टाछुट्टै गुट चितवनमा सक्रिय रहेको गुनासो कार्यकर्तामा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय