scheduleशनिवार श्रावण २४ गते, २०७७

नेकपा विवादको अन्तर्यमाथि एक अनिच्छित टिप्पणी

डम्बर खतिवडा

नवकिशोर उमेरमा मलाई दारीजुुँगाको खुबै रहर लाग्थ्यो । मनमनै कामना गर्थेँ– अलिक छिटो पलाए हुने । दारीजुँगा झ्याप्प पलाए समाजको सम्मानित सदस्य हुन पाइन्थ्यो । ठूलाबढाले पनि मान गर्थे, मान नगरे गणनासम्म गर्थे । नत्र त्यो अहिले ‘बच्चै छ’ भन्थे । हेप्थे । समाजमा ‘पहिचानको संकट’ आइरहथ्यो ।

त्यतिबेला सामाजिक सम्बन्धका आफ्नै प्रक्रिया थिए । गोठालो जाने जंगल बाक्लो थियो । ‘केटाकेटी जंगलमा हराउँछ, गोठालो नपठाउँ,’ भन्थे । गोठालाको टिमबाटै अस्वीकृत हुइँन्थ्यो । बाटो, पैनीको ह्यैसेरी हुन्थ्यो । श्रमदानमा ‘केटाकेटी हैन, प्रत्येक घरबाट ठूलै मान्छे आउनुपर्छ’ भन्ने उर्दी हुन्थ्यो । पर्म गर्न बालश्रम स्वीकृत थिएन । पञ्चकचहरीमा त झन केटाकेटीको के काम ? परैबाट खेद्थे ।

दारीजुँगा आए यस्ता अस्वीकृतिबाट मुक्ति पाउने सम्भावना हुन्थ्यो । ऐना हेर्थेँ– जुँगाको रेखी भर्खर बसेको हुन्थ्यो । छिटफुट दारी उम्रेका हुन्थ्ये । गाउँका नाई लक्ष्मी ठाकुर दाईसँग कपाल काट्न जान्थेँ । उनलाई भन्थेँ– ‘लक्ष्मी दाई, मेरो दारी, जुँगामा छुरा लगाइ दिउँन, छिटो आउँछ रे ।’

उनी हाँस्दै हप्काउँथे– ‘धत, किन हतार गरेको, एकपटक छुरा लगाएपछि छिटोछिटो बढ्छ, हप्ताहप्तामा काट्नु पर्छ । मैले तिमीसँग दारी काटेको भिन्नै पैसा लिन्छु, खर्च पनि बढ्छ ।’

तर मनमनै सोच्थेँ– बढ्न त देऊ, म जिन्दगीभर दारी काट्दिनँ । वास्तवमा छिटो दारी पलाओस् भन्ने भावना ममा कार्ल मार्क्सको दारीवाल फोटो देखेर आएको थियो । त्यो उमेरमै मैले ‘कम्युनिष्ट घोषणापत्र’ र ‘पुँजी’ देखेको थिए । सोभियत प्रकाशन गृहहरुले निकाल्ने बलियो, मोटो र चिल्लो गातामा कार्ल मार्क्सको दारी सुम्सुम्याउँदा भिन्नै प्रकारको मज्जा आउँथ्यो ।

तर कुरा भने बुझिँदैनथ्यो । त्योबेला पुँजीको क्लिष्टतालाई बुझ्ने सामर्थ्य नहुनु अस्वभाविक थिएन । साम्यवादको सिद्धान्तभन्दा बढी हामी साहित्यले रोमाञ्चित हुन्थ्यौं । चम्किलो रातो तारा, युवाहरुको गीत, बाल सिपाही, राता पालहरु, आमा, अग्निदीक्षा आदि । आमा र अग्निदीक्षा दुवैका नायकहरु ‘पावेल’ थिए । पावेल भ्लास्भब र पावेल कर्चागिन ।

डम्बर खतिवडा

पावेल कर्चार्गिनको व्यक्तित्व झनै आरोपित ममा हुन्थ्यो । म सपनामा उनलाई देख्थे । सपनामा हामी साटिन्थ्यौं । म कर्चागिन भए वा कर्चागिन म भयो, भ्रम हुन्थ्यो । ह्वारह्वार बल्ने रातो पत्थर कोइराले चल्ने रेल, परपरसम्म लिक देखिने रेल आउँदै गरेको र बेल्चा लिएर उभिएको, मोटो लङ कोट र ह्याट लगाएको आफू जस्तै नवयुवकको फोटो । म जसरी मार्क्सका दारी सुम्सुम्याउँथे, उसरी नै कर्चागिनको फोटो एकहोरो हेरिरहन्थेँ ।

रुसको कुनै गाउँको रेल्बे स्टेशन थियो त्यो । नाम बिर्सी सकेँ । म त्यसलाई भीमनगर–चतरा रेल्वेसँग सादृष्य बनाउथेँ । करिब ६० किमी लामो रमाइलो छोटी लाइन रेलवे थियो भीमनगर-चतरा । त्यसैले अपरिचित रुसी गाउँको रेल्वे स्टेशन अनौठो लाग्दैनथ्यो । त्यो आफ्नै गाउँ जस्तो लाग्थ्यो । हामी कर्चागिनझैं परपर रेल आउँदै गरेका लिकमा सन्तुलन बनाएर हिंड्ने अभ्यास गर्थ्यौं ।

पल्लोे गाउँका हृदयराज बा मार्क्सको जस्तै दारी पाल्थे । उनी ठूला जमिन्दार थिए । गाउँमा कामत घर थियो उनको । विराटनगरमा घर । उनी कामत घर आइरहन्थे । दारी मात्र हैन, उनको कपाल पनि कार्ल मार्क्सकै जस्तो लट्टा परेको हुन्थ्यो । मान्छे भन्थे– ‘त्यो हृदय राज कम्युनिष्ट हो, मार्क्सजस्तै देखिन दारी पाल्छ, लट्टा परेको कपाल पाल्छ ।’

मनमा अनौठो खुल्दुली र जिज्ञासा बोकेर कहिलेकाही ठिटाहरु ग्रुप बनाएर उनलाई भेट्न जान्थ्यौं । उनी द्वन्द्वात्मक भौतिकवादबाट आफ्नो कुरा शुरु गर्थे र ऐतिहासिक भौतिकवादमा लगेर टुङ्ग्याउँथे । उनी ज्ञान प्रक्रियादेखि संज्ञानसम्मका कुरा गर्थे । मार्क्सेली ज्ञानमिमांसाको कुरा गर्थे । संसार बोधगम्य छ र यसलाई चाहेको दिशामा बदल्न सकिन्छ भन्थे ।

हृदयराज बाका ९५ प्रतिशत कुरा म बुझ्दिनथेँ । ५ प्रतिशत मुश्किलले बुझ्थेँ । कार्ल मार्क्स र हृदय राज बा, दुबैको दारी र लट्टा परेको कपाल राति निदाउनुअघि मेरो मानषमा खेल्न आउँथ्यो । बिहानै उठेर लक्ष्मी ठाकुर कहाँ पुगेर भन्थेँ– ‘लक्ष्मी दाई, मेरो जुँगादारीमा छुरा लगाइ देउन ।’

मैले यो उट्पट्याङ स्मरण कमरेडहरुलाई गिज्याउन लेखेको हैन । यथार्थमा अचेल मलाई कम्युनिष्ट पार्टीबारे खासै धेरै लेख्न, चर्चा गर्न यहाँसम्म विरोध वा आलोचना गर्न समेत मन लाग्दैन । असान्दर्भिक बिषयमा किन समय खर्च गर्ने भन्ने भान आउँछ मनमा । कम्युनिज्मको कुरा उठ्दा एक किसिमको बेवास्ता, अण्यमनस्कता वा अरुचि पैदा हुन्छ । विरोध किन र कति गर्ने ? आलोचना किन र कति गर्ने ? गरेर के हुन्छ ? जसले आफ्नो सान्दर्भिकता आफैं गुमाएको छ, जुन आन्दोलनले आफैं आफ्नो निष्ठामाथि अविश्वास गर्छ, त्यसलाई के आलोचना गर्ने जस्तो लाग्दछ ।

तर, हामी आज एउटा फरक यथार्थमा छौं । लक्ष्मी ठाकुर दाईले भने जस्तो दारीजुँगा नआउँदा कहिले आउला भन्ने रहर थियो । आएपछि जिन्दगीभर काट्दाकाट्दा हैरान । त्यस्तै नेपालमा कम्युनिष्ट पार्टीको सरकार हेर्ने धेरै ठूलो रहर थियो । सरकार हेरेपछि यसकै आलोचना र विरोेधमा लेख्दालेख्दै हैरान ।

कम्युनिज्मको सिद्धान्त, नेकपा र ओली सरकारको सम्बन्धबारे कुनै चर्चा गर्न चाहन्नँ आज । कम्युनिज्मबारेको मेरो जीवनभरिको अध्ययन, अनुभव र निष्कर्ष मैले आफनो किताब ‘समाजवादको यात्रा’ मा लेखिसकेको छु । त्यो राजनीति केन्द्रित छ । दर्शन केन्द्रित भएर अर्को एउटा किताब लेख्ने रहर छ– ‘सिद्धान्तको पुनर्व्याख्या ।’ ५५ अध्याय हुने यो किताब ३१ अध्यायमा पुगेर अड्किएको छ । कहिले सकिन्छ वा कहिल्यै सकिन्नँ थाहा छैन ।

कार्ल मार्क्सको दारी र पावेल कर्चागिनको फोटो हेरेर साम्यवादप्रति आकर्षित हुने युग अब रहेन । त्यो एउटा भिन्नै युग थियो । आज हामी भिन्नै युगमा छौं । दर्शनशास्त्रमा ‘दिक र काल’ सम्बन्धको विश्लेषण सर्वथा एक आधारभूत प्रवर्ग बन्दछ । समय विनाको स्थान र स्थान विनाको समय हुँदैन । ठीक त्यस्तै अब साम्यवाद सिद्धान्त र साहित्यको ‘स्पेश’ मा खोज्ने ‘समय’ यो हैन ।

साम्यवाद त्यतिखेर एक ‘हाइपोथेसिस’ थियो ‘अनटेष्टेड’ । आज एउटा निर्मम ‘प्राक्टिस’ हो ‘टेष्टेड’ । त्यो समय सिद्धान्त र साहित्यलाई मानक बनाएर साम्यवादको मुल्याङ्कन गर्नु स्वभाविक थियो । आज फेरि त्यही गर्ने हो भने त्यो मुर्खता हुन्छ ।

एंगेल्सले ‘ड्युहरिङ मत खण्डन’ भने जस्तो ‘सिद्धान्त त्यति बराबरले सही हुन्छ जुन व्यवहारबाट पुष्टि हुन्छ, त्यति बराबरले गलत हुन, जुन व्यवहारबाट पुष्टि हुँदैन ।’ साम्यवादी, लेनिनवादी जनवादी–केन्द्रियतावादी पार्टीहरुका अभ्यासको संसारभरि आफ्नै सीमाहरु रहे । मार्क्सेली हाइपोथेसिसहरु स्टालिनवादी व्यवहारले अधिकाशतः गलत सावित गरिदिए ।

त्यो सोेभियत संघमा भएन, पूर्वी युरोपमा भएन, युगोस्लाभिया वा पश्चिम बंगालमा भएन, उत्तर कोरिया वा क्युवाामा भएन, चीन वा भियतनाममा भएन, संसारभरि भएन, नेपालमा चाहिँ हुन्छ भनेर म कसरी पत्याउँ ? हुन्छ, हुुन सक्छ वा गरेर कसैले पुष्टि गर्दछ भने त्यो अर्कै कुुरा, अहिलेसम्मको स्थिति हेर्दा पत्याउनुपर्ने कुनै आधार छैन ।

तसर्थ म नेकपा विवादलाई अपेक्षाहीन ढंगले हेर्छु । जहाँ अपेक्षा हुँदैन, त्यहाँ वितृष्णा पनि हुँदैन । न राग न बैराग । त्यसैले मैले यसलाई शीर्षक नै अनिच्छित टिप्पणी भनेको हुँ ।

अहिलेको नेकपा विवादको वास्तविकतालाई बुझ्न यसलाई सर्वप्रथम साम्यवादका सबै सिद्धान्त, साहित्य र आदर्शको मानकबाट बाहिर निकाल्नपर्छ वा स्वयं नेकपा त्यसबाट बाहिर निस्किसकेको छ भन्ने स्वीकार गर्नु पर्दछ । एक पूर्ण ‘प्रग्माटिष्ट एप्रोच’ मा जानु पर्दछ ।

आम तबरले सत्ता, शक्ति र स्रोतसाधनको पहुँचमाथि हुने संघर्ष, विशिष्ट तवरले वैयक्तिक मनोविज्ञान र अहं संघर्षको मैदानमा ल्याएर कुस्ती–चक्रलाई ओराल्नुपर्दछ, अनि मात्र यसको अन्तर्यलाई राम्ररी ठम्याउन सकिन्छ ।

यो कुस्ती–चक्र संसारका सबै जसो साम्यवादी आन्दोलनमा थियो ।

सोभियत संघमा यो संघर्ष स्टालिन भर्सेस त्रोत्स्की, कामेनेभ, जिनोवियेव, बुखारिनआदिमा देखिएको थियो ।

चीनमा यो संघर्ष माओ वा ग्याङ आफ फोर भर्सेस लि स्याओ ची वा देङ स्याओ पिङ मार्फत् अभिव्यक्त भएको थियो ।

युगोस्भाभियामा यो संघर्ष माार्सल टिटो भर्सेज मिलोवन दजिलासमा देखिएको थियो ।

उत्तर कोरियाको कुरै नगरौं,त्यहाँ ‘नाति जर्नेल’ आज पनि आफ्नै सौतेला दाजु र फुपाजुलाई मारिरहेका छन् ।

यो मान्नु पर्छ कि नेपालमा त्यो स्तरको क्रुरता छैन । किनकी यहाँ ती देशमा जस्तो एकदलीयता हैन, लोकतन्त्र छ । लोकतन्त्र जतिसुकै ‘बेकामे’ किन नहोस्, त्यसको प्रणालीले नै कयौं चीज आफैं सन्तुुलन गर्दछ ।

अन्यथा ओली र प्रचण्ड बीचको संघर्ष स्टालिन र त्रोत्स्कीको संघर्षभन्दा कम क्रुर हुने थिएन । माओ र लि स्याओची बीचको संघर्षभन्दा कम निर्बस्त्र हुने थिएन । देङ र चियाङ चिङको भन्दा कम भयावह हुने थिएन । टिटो र दजिलासको भन्दा कम रोमाञ्चक हुने थिएन ।

लेनिनवादी स्कुलिङ ‘राजनीतिको केन्द्रिय प्रश्न राज्यसत्ता हो’ भन्ने स्कुलिङ हो । स्मरण रहोस् कि यो मार्क्सवादी स्कुलिङ हैन । मार्क्सवादले राज्यलाई एक अपरिहार्य ऐतिहासिक प्रक्रियाका रुपमा हेर्दछ र ऐतिहासिक प्रक्रियाकै कारण विलुुप्त भएर जाने संस्था भन्दछ ।

नेकपासँग जुन भाष्य थियो, त्यो आज एकाएक यसरी संकटग्रस्त भएको हैन । यसको पनि आफ्नै ऐतिहासिक प्रक्रिया छ र ऐतिहासिक प्रक्रियाकै कारण नेकपा कुनै दिन विलुप्त हुनेछ, जसरी संसारमा धेरै देशमा साम्यवादी पार्टीहरु आज विलुप्तप्रायः छन् । त्यसको जरो कुुरा हो– जे चिज जुन कारणले अस्तित्वमा आउँछ, त्यो कारण कै अन्त्य भएपछि कारणको अन्त्य भएपछि अस्तित्व पनि स्वतः अन्त्य हुुन्छ ।

जस्तै– विद्यालय भन्ने संस्था पढाउने उद्देश्यले बन्छ । जब पढाउनुपर्ने रहँदैन वा पढ्ने नै हुँदैनन् स्कुल, कलेज अस्तित्वमा रहिरन सक्दैनन् । नेपालमा साम्ययवादी पार्टीलाई यदि लामो लाने हो भने यसको आधारभूत बुझाई मैं पुनर्संकथन गर्न जरुरी हुन्छ । अन्यथा त्यसले सकिनै पर्छ । अहिले विवादको अन्तर्य सकिने बाटोको ऐतिहासिक कडी हो, पुनर्संकथनको हैन ।

ओलीले सत्ता छोडे वा छोडेनन् त्यो मुख्य प्रश्न हैन । प्रचण्ड– माधव कति कडा भए वा भएनन् त्योे पनि मुख्य प्रश्न हैन । मुख्य प्रश्न हो– जे उद्देश्य र एजेण्डमा साम्यवाद भन्ने सिद्धान्त र आन्दोलन बनेको थियो, त्यससँग नेकपाको कुनै साइनो सम्बन्ध बाँकी छ कि छैन भन्ने हो । यदि बाँकी छ भने ओलीले सत्ता नछोडे पनि हुन्छ । यदि बाँकी छैन भने प्रचण्ड–माधव आएर पनि केही खालो सार्ने हैनन् ।

यदि साम्यवादका सबै सिद्धान्त, आर्दश र एजेण्डाबाट टुटाएर सामान्य संसदीय लोकतन्त्रको मानकबाट हेर्दा ओलीको राजीनामाको खासै कानुनी आधार छैन । यद्यपि म आफैं बारम्बार फेसबुक र ट्वीटरमा ओलीको राजीनामा मागिरहेको हुन्छु तर त्यसका कारण कानुनी छैनन् । कानुनी दृष्टिकोणबाट ओलीलाई चुनौति दिने अधिकार हामी कसैसंग छैन ।

ओली सत्तारुढ पार्टीका पहिलो अध्यक्ष हुन् । उनीको अध्यक्ष पद यसअघिको एमाले महाधिवेशनकोे वैधानिकताबाट निःसृत छन् । गत चुनावमा उनी पार्टीको तर्फबाट मुख्य क्याम्पेनर थिए । संसदीय दलमा बकाइदा उनले सर्वसहमतिको समर्थन पाएका हुन् । आज कुन संस्थागत प्रक्रियाले त्यो खण्डित भयो त ? के नेकपाको कुनै कमिटी वा संसदीय दल अल्पमत बहुमतको प्रक्रियाद्वारा ओली अल्पमतमा छन् भन्ने पुष्टि गर्न राजी भएको छ ? त्यो त छैन ।

तसर्थ ओलीको राजीनामाको प्रश्न शुद्ध नैतिक हो, कानुनी हैन । मूलतः यति, ओम्नी र बाँस्कोेटा प्रकरणजस्ता भ्रष्टाचार, अध्यादेश प्रकरण र दल विभाजनका लागि सरकारले गरेका फोहोेरी खेलहरु, कोरोना प्रतिरोध रणनीतिमा गम्भीर त्रुटीहरु, चरम आर्थिक संकट र भूराजनीतिक जटिलताले ओली सरकारमाथि गम्भीर नैतिक संकट सृजना गर्दछन् । यी स्थिति बीच ओली सरकारले राम्रो काम गर्न सक्ने कुनै सम्भावना बाँकी छैन । तर, नैतिक प्रश्न त फेरि व्यक्तिले अनुभूत गर्ने हो । ओलीमा त्यो स्तरकोे नैतिक चेत भएको पुष्टि गर्ने आधार छैनन् ।

तसर्थ यो खेलमा जताबाट नापे पनि प्रचण्ड–माधव–झलनाथ कच्चा र कमजोर देखिन्छन् । यदि उनीहरुसंग आँट छ भने ओलीसंग नियोरा गर्नुको साटो पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया शुरुवात गर्न सक्नुपर्दछ । जे परिणाम आउँछ, त्यसलाई सामना गर्ने साहस हुनुपर्दछ । अन्यथा सधै गनगन र कचकच गर्नुको कुनै अर्थ छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय