scheduleबुधवार श्रावण २८ गते, २०७७

प्रचण्डको प्रश्न- नक्सा तुरुन्तै प्रकाशन गर्न मैले नै भनेको हुँ, के यो लम्पसारवाद हो ?

चितवन, २८ असार । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई नेपालको नयाँ नक्सा जारी गर्न निर्देशन आफैैले दिएको दावी गरेका छन् ।

पार्टीभित्रै कसैलाई महान राष्ट्रवादी र ठूलो राष्ट्रघाती भनेर नाराजुलुस हुने अवस्था सिर्जना भएकोप्रति लक्षित गर्दै प्रचण्डले उक्त दावी गरेका हुन् । आइतबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैठक जारी भइरहेकोले आफूले धेरै कुरा बोल्नु सम्भव र उचित नहुने बताए ।

उनले पार्टीमा आफूले कार्यकारी अध्यक्षको अधिकार पाएपछि बसेको पहिलो स्थायी समिति बैठकले तत्काल नयाँ नक्सा जारी गर्न आफ्नै नेतृत्वमा सरकारलाई निर्देशन दिएको स्मरण गराए ।

नेकपाको विवाद उत्कर्षमा पुगेको बेला शनिबार चितवन पुगेका उनले भने, ‘मैले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि, हुन त त्यो राम्रोसँग कार्यान्वयन हुन त पाएन, तर पनि मेरै नेतृत्वमा बसेको स्थायी समितिको बैठकले नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको हो ।’

उनले भारतले नयाँ नक्सा जारी गर्नासाथ आफूले स्थायी समिति र केन्द्रीय समितिबाट नयाँ नक्सा जारी गर्न निर्देशन दिएको स्मरण गराए । ‘मैले नै नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएँ, के यो लम्पसारवाद हो ?’

उनले अगाडि थपे, ‘केन्द्रीय समितिको बैठकबाट पनि नक्सा प्रकाशन गर्नुपर्दछ भनेर सरकारलाई निर्देशन दिएका थियौं । के यो लम्पसारवाद हो ।’ उनले पार्टीभित्र दुवै अध्यक्षलाई उचाल्नेहरु पनि अहिले सक्रिय रहेको भन्दै फुटको पक्षमा कुनै एक नेताको पक्षमा नाराबाजी र अनावश्यक आरोपप्रत्यारोपमा नउत्रन भने ।

चितवनमा पनि अर्का अध्यक्ष ओलीका समर्थकहरुले जुलुस निकालेका थिए । उनले त्यसैतर्फ संकेत गर्दै भने, ‘दुवैलाई उचाल्ने छन् । कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भन्ने छैन । हामीले मिलेर नै नक्सा जारी गरेका हौं । पार्टीले निर्णय गरेर मात्रै पुग्दैनथ्यो, ओलीले सरकारमार्फत् वैधानिकता दिएकोमा मैले पनि धन्यवाद दिएको थिएँ ।’

उनले हिजो पनि पार्टी एकता हुन नदिन धेरै शक्तिहरु लागेको स्मरण गरे । ‘एकता सजिलै प्राप्त गरेको होइन । धेरै ठूलो मेहनत, बहस र बलिदान गरेका छौं । जनता र कार्यकर्ताहरुको चाहनाअनुसार, इतिहास र मुलुकको आवश्यकताले भएको हो । यो असाधारण पहलबाट भएको हो,’ उनले भने ।

कुनै पनि पार्टीको विकास वा बिनाशको प्रमुख कारण आन्तरिक नै निर्णायक हुने उनले स्पष्ट पारे । विगतमा संघीय गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था, संघीयता, धर्म निरपेक्षतासहितको संविधान जारी नगर्न ठूलो कसरत भएको उनले बताए । यी व्यवस्थासहितको संविधान जारी नगर्न देश र विदेशबाट धम्की आएको पनि उनले खुलासा गरे ।

उनले पार्टी एकतावद्ध राख्न आफू प्रतिवद्ध रहेको र अन्तिमसम्म प्रतिवद्ध रहने दृढता व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय