scheduleशनिवार श्रावण २४ गते, २०७७

कोरोना सङ्क्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल

काठमाडाैं, २८ असार । कोरोना भाइसरको सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गरिएको छ ।

मृतकको घर गल्ली सिल गरी उहाँको सम्पर्कमा आएका १३ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिकृष्ण उपाध्यायले बताए ।

५४ वर्षीय पुरुषको निधन भइसकेपछि गरिएको परीक्षणमा कोरोना रहेको पुष्टि भएको हो । मधुमेह, उच्च रक्तचापलगायत रोगबाट पीडित भई उपचारका क्रममा निधन भएपछि पिसिआर परीक्षण गरिएको हो ।

कोरोनाबाट नगरपालिकामा निधन भएको यो पहिलो घटना भएको जनाइएको छ । नगरपालिकाको वडा नं ५ मा पनि विदेशबाट फर्किएका एक जनामा कोरोना देखिएपछि हाल उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मूलपानीस्थित सिर्जनाटोलका अर्का एक जनामा पनि कोरोना पुष्टि भएको नगर अस्पताल मूलपानीका प्रमुख डा विप्लब अधिकारीले सुनाउनुभयो । मूलपानीका सङ्क्रमित पनि विदेशबाट फर्किएको जनाइएको छ ।

मूलपानी र जोरपाटीका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि यस क्षेत्रमा असार पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ । यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो । पोजेटिभ भेटिएका गोकर्णेश्वर– ७ शिवचोककी १९ वर्षीया महिला र शङ्खरापुर नगरपालिका– ४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए ।

नगरपालिकाकै वडा नं ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ । नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेशनमा राखी उपचार भइरहेको छ ।

सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको छ । स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएको जनाइएको छ । नगरपालिकामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको खबर फैलिएपछि नगर क्षेत्रमा चहलपहल घट्न थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय