scheduleबिहिवार श्रावण २९ गते, २०७७

इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको जीत

काठमाडौं, २८ असार । इंग्ल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले तीन टेस्टको श्रृंखला अन्तर्गतको पहिलो टेस्टमा जीत हासिल गरेको छ । आइतबार अन्तिम दिनको खेलमा २०० रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २३.४ ओभर बाँकी रहँदै ४ विकेटको जीत दर्ता गरेको हो ।

वर्षा र खराब प्रकाशका कारण पहिलो र दोस्रो दिनको खेल केही प्रभावित भएको थियो । पहिलो पारीमा इंग्ल्यान्डलाई २०४ रनमा अलआउट गरेपछि ब्याटिङमा आएको वेस्टइन्डिजले आफ्नो पहिलो पारीमा अलआउट हुनुपूर्व ३१८ रन बनाएर ११४ रनको अग्रता कायम गरेको थियो । त्यसपछि पुनः दोस्रो इनिङ थालेको इंग्ल्यान्डले ३१३ रन बनाएर अलआउट हुँदै वेस्ट इन्डिजसामू २०० रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा वेस्ट इन्डिजले पाँचौ दिनको अन्तिम सत्रसम्ममा ६४.२ ओभर खेल्दै  ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । उसका लागि जर्मेन ब्ल्याकवूडले ९५  रन र राेस्टन चेजले ३७ रनको योगदान दिए ।

पहिलो पारीमा वेस्ट इन्डिजका कप्तान जेसल होल्डरले ६ तथा शेनन ग्याब्रियलले ४ विकेट लिएपछि इंग्ल्यान्ड सस्तैमा समेटिएको थियो । ग्याब्रियलले दोस्रो पारीमा पनि ५ विकेट लिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय