scheduleसोमवार श्रावण २६ गते, २०७७

भानुलाई सम्झँदा …

प्रतिक भट्ट

भानुभक्त आचार्यको बारेमा थाहा नहुने व्यक्ति कमै हुनुहोला । पृथ्वी राजमार्गमा यात्रा गरिरहने व्यक्तिले त तनहुँको घाँसीकुवामा रहेको भानु स्तम्भको पनि अवलोकन गर्नुभएकै होला । स्कुल पढ्दा शिक्षकहरुले पनि भानुभक्त र घाँसीको बारेमा पनि पक्कै कथा सुनाउनुभयो होला । तिनै भानुभक्तको आज २०७औं जन्मजयन्ती मनाइँदै छ ।

विं. सं. १८७१ सालमा तनहुँ जिल्लाको चुँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको थियो । ब्राह्मण परिवारमा जन्मिएका भानुभक्तको शिक्षादीक्षा धार्मिकरुपले संस्कृत भाषामै भएको थियो । त्यसबेला खस भाषाको प्रचलन रहेको थियो तर खस राजाहरु परास्त भएसँगै त्यस भाषा पनि ओझेलमा पर्दै गइसकेको थियो ।

भानुभक्त नेपाली भाषाका प्रथम कवि हुन् । उनले मर्मश्पर्शी भावनाहरुलाई नेपाली भाषामा सरल रुपले अभिव्यक्त गर्थे । त्यसबेला संस्कृत भाषा नै प्रयोगमा आउने हुँदा संस्कृतलाई नेपालीमा बुझ्ने र बुझाउने ब्राह्मणहरुको छुट्टै महत्व हुने गर्थ्यो ।

भानुभक्तले वाल्मीकिद्वारा लिखित रामायणको संस्कृतलाई नेपाली भाषामा लिपिबद्ध गरे । नेपाली संस्करणको रामायणको भाव र छन्द पनि उतिकै गहकिला थिए । भानुभक्तले आफ्नो ज्ञानलाई भाषाबाटै सरलीकृत गरेर नै नेपालीहरुको पहुँचमा सरलरुपले विस्तार गरेका हुन् भन्दा फरक नपर्ला किनकि उनले आफ्नै समाज र परिवेशबाटै ज्ञान हासिल गरी त्यसलाई आफ्नो रचनामा समावेश गरेका छन् । त्यसैले पनि उनका रचनाहरुमा समाजवादको भाव पाइन्छ ।

भानुभक्तले जीवनमा एकजना घाँसीबाट प्रेरणा प्राप्त गरेका थिए । घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजका लागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई भने आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केहि गर्न प्रयत्न नगरेको कुराले आत्म ग्लानि हुन्छ ।

तर भानुभक्तले आफ्नो रचनामार्फत नेपाली साहित्यकाे क्षेत्रमा फरक किसिमको योगदान दिएका छन् । भानुभक्तका शब्दले रचिएका काव्यहरु अझैपनि नेपाली दलिन एवम् पुस्तकालयहरुमा सुरक्षित रुपमा राखिएका छन् । रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारीत्रिक शिक्षा प्रदान गरेको छ ।

भानुभक्तकाे घाँसी कविताकाे अंश

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उनी रामायणमा नै बढी जीवन्त छन् । उबेलामा गाँउलेहरु एकैठाँउमा जम्मा भएर रामायण वाचन गरेर सुन्नु अहिलेको डिजिटल माध्यममा एचडी चलचित्र हेरेको भन्दा बढी रोचक र उत्साहप्रद हुने गर्दथ्यो । आजकलको लोक तथा दोहोरी गीतहरुको उद्गम बिन्दु पनि भानुभक्तको सरल रामायण नै हो भन्न सकिन्छ ।

भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग अनि नेपालीहरु भएका अन्य देशहरुमा असार २९ गते भानुजयन्ती मनाउने गरिन्छ । हरेक नेपालीको मनमस्तिष्कमा भानुभक्तको लय र रचना  जीवितै छन् । भानुभक्त कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी समेत हुन् । नेपाली भाषाको अध्ययन, अनुसन्धान र विकास नै भानुप्रतिको सच्चा श्रद्धासुमन हुनेछ ।

भानुभक्तको भौतिक शरीर यस संसारमा नरहेपनि उनका रचना र अभिव्यक्तिहरुबाट उनी सदा अमर रहनेछन् । आदिकविका रुपमा भानुबाजेको महत्व नेपाली समाजमा सदा रहिरहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय