scheduleशुक्रवार श्रावण २३ गते, २०७७

रवीन्द्र मिश्रका दुःखहरू

राम बहादुर घले

निश्चय नै रवीन्द्र मिश्र एक लोकप्रिय पत्रकार थिए । नेपालजस्तो सानो बजार र विविधिकृत भाषिक स्रोता भएको देशमा पत्रकारितामार्फत् त्यो स्तरमा ख्यातिनाम हुनु चानचुने सफलता थिएन ।

बीबीसी नेपाली सेवामा अतिथिलाई खरो प्रश्न सोधेर होस् वा भूमध्यरेखा स्तम्भमा भावनाप्रधान र विचारोत्तेजक लेखहरु लेखेर उनले राम्रै स्रोता र पाठकहरु कमाएका थिए ।

आज पनि उनको ट्वीटर एकाउन्टमा करिब १० लाख फलोअर छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापापछि सबैभन्दा धेरै ट्वीटर फ्लोेआर हुने उनी तेस्रो नेपाली हुन् ।

तर लोकप्रियताले यदाकदा मानिसमा भ्रम सृजना गर्दछ । त्यसले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर हात हाल्न प्रेरित गर्दछ । एकपटक पूर्व भारतीय जर्नेल मानिक शाँले भनेका थिए, ‘मानिसको नाक जति सुकै लामो किन नहोस्, त्यो अर्काको काखी मुनी घुसार्दै हिड्नलाई हैन ।’ लामो नाक प्रकारान्तले दुःख र बदनामीको कारण बन्दछ ।

राम ब. घले

सेलिब्रेटीहरुको राजनीति मोह धेरैजसो त्यस्तै देखिन्छ । कुनैबेला भारतीय अभिनेता अमिताभ बच्चनमा यस्तै ‘लोकप्रियताको भ्रम’ सृजना भएको थियो । सिनेमाको उनको ‘एङ्ग्री यङम्यान’ व्यक्तित्व चुनावी मैदानमा खुबै जम्यो । उनले उत्तरप्रदेशका प्रभावशाली राजनीतिज्ञ तथा पुर्व मुख्यमन्त्री हेमवत्ती नन्दन बहुगुणालाई इलाहावाद निर्वाचन क्षेत्रको मैदानमा पछारेनन मात्र बहुगुणाको राजजीतिक जीवनको अन्त्य नै त्यही हारले भयो ।

तर ३ वर्ष नपुग्दै बच्चनले लोकसभा सदस्य र कांग्रेसबाट राजीनामा गरे । त्यसपछि जय बच्चन समाजवादी पार्टीबाट राज्यसभा सदस्य बनिन् । अमिताभले केही समय श्रीमती र समाजवादी पार्टीलाई सहयोग गरे । तर, केही वर्षभित्रै उनले बुझेकी यो उनको क्षेत्र हैन । उनले राजनीतिबाट सन्यास लिए । सन्यास मात्र लिएनन्, राजनीतिमा प्रवेश ‘मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो’ भन्ने अभिव्यक्ति दिए ।

भारतमा विभिन्न क्षेत्रबाट ठूलो ‘स्टारडम’ कमाएका सेलिब्रेटीहरु राजनीतिमा पुग्दानपुग्दै फिका हुने गरेका छन् । त्यसका केही अपवाद पनि छन्, जस्तै– तमिल नायिका जय ललिता । जय ललिता लोकप्रिय मुख्यमन्त्रीको छवि बनाएर बितिन् । भाजपामा मोदी–शाह समूहसंग निहुँ खोज्ने हुँदा ‘बिहारी बाबु’ शत्रुघन सिन्हाको राजनीतिक करिअर नै समाप्त भयो ।

कुनै समयकी लोकप्रिय नायिका हेमामालिनी अझै राजनीतिमा छिन् । तर, उनी पार्टीको आम प्रक्रियाभित्र साँघुरिएर टिकेकी छन् । स्टारडमले उनलाई भिन्नै सुविधा दिएको छैन ।

इमरान खान पाकिस्तानमा साना सेलीब्रेटी थिएनन् । आफ्नो कप्तानीमा देशलाई क्रिकेट विश्वकपको उपाधी दिलाउनु सानो स्टारडम थिएन । तर पनि उनलाई नयाँ पार्टी बनाएर सत्तामा आउन २२ वर्ष लाग्यो । २२ वर्षको निरन्तर संघर्ष, नयाँ पार्टी बनाउने उतरचढाव र धैर्यता सानो दुःख हैन ।

बाहिरबाट हेर्दा राजनीतिमा जेजति ग्लेमर र शक्ति देखिन्छ राजनीतिको आन्तरिक दुःख उत्तिकै धेरै हुन्छ । ती दुःखले कसैलाई छोड्नेवाला छैन । राजनीतिका दुःखले रवीन्द्र मिश्रलाई मात्र माया गर्दैन भन्ने निश्चित थियो । रेडियोमा अरुलाई खरो प्रश्न सोध्न जति सजिलो हुन्छ, अरुद्वारा त्यस्तै खरो प्रश्न सोधिने व्यक्तित्व धान्न त्यति नै सजिलो हुँदैन भन्ने सायद आज उनी राम्ररी बुझ्दैछन् ।

मिश्रको मात्र हैन, अन्य क्षेत्रको लोकप्रियता र सेलिब्रेटी व्यक्तित्वले नेपालको राजनीतिमा अधिकांशलाई टिकाउन सकेको छैन । टिकाए पनि सम्मानित बनाउन सकेको छैन । दोस्रो संविधानसभाताका भुवन केसी निक्कै खल्लीबल्लीका साथ एमाले प्रवेश गरे । काठमाण्डौं–१ को टिकट के पाएनन्, तुरुन्तै बेनाम भए ।

रेखा थापा माओवादी प्रवेश गरेको, पार्टी टिकट लिएर चुनाव लड्न पर्सा पुगेको, ६ दिने आमहडतालमा सिंहदरबार नजिक सडकमा प्रचण्डसँगै नाँचेको दृश्य अहिले पनि धेरैको आँखामा आउँछ । तर, केही समय नबित्दै राप्रपा प्रवेश गरिन् । राप्रपा के प्रवेश गरिन्, त्यहाँको टुटफुटको शिकार भइन् र राजनीतिबाटै बिलाइन् ।

कोमल ओलीको राजनीतिक यात्रा उत्तिनै दुःखान्त रह्यो । राप्रपामा लागेर सडकमा टाउको फुटाएको भोलिपल्ट उनी एमालेमा पुगिन् । एमालेभित्र टिकटको जुन दौड पुरा गर्नुपर्‍यो, त्यसले उनलाई नामभन्दा बढी बदनाम दियो । आज उनी राष्ट्रियसभा सदस्य त छिन्,तर उनको सेलिब्रेटी व्यक्तित्वलाई त्यो पदले कुनै ठोस फाइदा गरेजस्तो लाग्दैन ।

करिश्मा मानन्धर तुलनात्मक रुपमा बढी धैर्यवान सेलिब्रेटी मानिन्थिन् । नयाँ शक्ति पार्टी स्थापनाको तामझामपूर्ण सभामा सञ्चालिका बनेर देखिएकी उनी समानुपातिक सूचीको एक नम्बरमा थिइन । पूर्व प्रधानमन्त्रीले त्यति ठूलो तामझामका साथ खोलेको पार्टीले समानुपातिकको १ सीट पनि नल्याउला भनेर कमैले सोचेका थिए ।

नयाँ शक्तिले एक सीट मात्र ल्याएको भए उनी सांंसद हुने पक्का थियो । डा. बाबुराम भट्टराईले त्यतिधेरै महत्व दिँदा पनि उनले आफनो सेलिब्रेटी आकांक्षामाथि लगाम लगाउन र आफूलाई राजनीतिकरण गर्न सकिनन् । अन्ततः पार्टी नै छोडेर हिँडिन् ।

यी दृष्टान्तहरुको तुलनामा रवीन्द्र मिश्र पक्कै अलिक फरक हुन् । कम्तीमा उनी आफै पहिलोपटक काठमाण्डौं–१ बाट प्रत्यक्ष निर्वाचन लड्ने साहस गरे ।

काठमाडौंको राजनीतिमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई आच्छुआच्छु बनाउनु र सम्मानजनक दोस्रो मत ल्याउनु सानो सफलता हैन । देशभरि वाम गठबन्धनको विशाल आँधी चलिरहेको बेला आफ्नो निर्वाचन क्षेत्रमा वाम उम्मेद्वारलाई थोरै मत पाउने तेस्रो उम्मेद्वारमा धकेल्नु मिश्रको राजनीतिक इनिङको निक्कै ठूलो सफलता हो ।

थ्रेसहोल्ड नकाटे पनि गत संसदीय निर्वाचनमा विवेकशील साझा पार्टीले पाएको मत उल्लेखनीय थियो । राप्रपाजस्तो पुरानो शासकहरुको पार्टी र नयाँ शक्तिजस्तो पूर्व प्रधानमन्त्रीको पार्टीले धन्दा धेरै भोट ल्याउन र पहिलो निर्वाचनमा नै पाँचौ ठूलो पार्टी हुनु दीर्घकालीन राजनीतिक दृष्टिकोणबाट उल्लेखनीय सफलता नै हो ।

तर त्यसपछिका उतरचढावले मिश्रका दुःख झनै बढाए । विवेकशीलको फुट र तिक्कताले मिश्रको व्यक्तित्व र साझा पार्टीलाई फिका बनाइदियो । देशमा राजनीतिक ध्रुवीकरणको तीव्र लहर शुरु भयो । तीन टुक्रा राप्रपा एक भयो । करिब २६ वटा सानाठूलो समूह मिसिदै भर्खरै जसपा बन्यो । फुटेकाहरु नजुटे भविष्यको यात्रा र प्रतिस्पर्धा सहज नहुने अनुभूति सायद मिश्रले गरे ।

तर, यही निहुँमा मिश्रका मुख्य सहयोगी मुमाराम खनाल र डा. सुर्यराज आचार्यले पार्टी परित्याग गरिदिए । मिश्रलाई यो दुःख सहन पक्कै निक्कै गाह्रो परेको हुनु पर्दछ । चरणचरणमा सायद उनी आफ्नो महत्वाकांक्षाको उच्चाईबाट झर्दै र थेचारिएर थलिंदै गएको होलान् भनेर अनुमान गर्न गाह्रो छैन ।

पत्रकारिताको लोकप्रियताको चरणमा उनको महत्वाकांक्षाको स्तर निक्कैमाथि थियो । उनी गगन थाापदेखि रामकुमारी झाँक्रीसम्म, रवीन्द्र अधिकारीदेखि जुगल भुर्तेलसम्मलाई एक ठाउँमा ल्याएर पहिलो चुनावमै जादु गर्न सक्ने पार्टी बनाउने सपना देख्थे ।

एक लोकप्रिय पत्रकारसँगको अनौपचारिक भेटघाटमा धेरैले उनलाई गुलियो वचन दिएका थिए पनि होला । तर जब साँच्चै राजनीतिको चट्टाने मैदानमा आए, साथ दिनै तिनै मुमाराम र आचार्य बाँकी रहे ।

मुमारामको साथ पनि पनि खासै अर्गानिक थिएन । उनी भर्खरै नयाँ शक्तिबाट कारबाहीमा परेका थिए । उनमा वैकल्पिक राजनीतिको स्पेशमाथि नयाँ शक्तिको दाबीप्रति प्रतिशोधको भावना थियो । त्यो प्रतिशोध मिश्रमार्फत् तुष्टिकरण हुन सक्थ्यो ।

डा. आचार्यलाई भने नेपाली समाजले निक्कै परिपक्क र विश्वासिलो व्यक्तित्वको रुपमा हेरेको थियो । लामो समय जापान बसेर फर्केका टेक्नोक्र्याट्स आचार्यको विद्धता र विनम्रताले धेरैलाई आकर्षित गरेको थियो ।

हुनतः यसअघि नै केही मिश्रले मुर्धन्य ठानेका केही व्यक्तित्वहरु जस्तो डा. सरोज धिताल, अधिवक्ता ओमप्रकाश अर्याल, दिनेश प्रसाई आदिले पार्टी छाडिसकेका थिए । पार्टी छोडेर हिड्नेले दिने घाउचोट सहन सायद उनी अभ्यस्त भइसकेको पनि हुन सक्दछ ।

फेरि गर्न लागेको विवेकशीलसँगको एकता मिश्रको राजनीतिक जीवनको दोस्रो इनिङ सरह हुने देखिन्छ । यदि उनी साँच्चै समर्पित भावले राजनीतिमा आएका हुन् भने त्यसको स्पेश समाप्त भइसकेको छैन । देशका सबै भागमा उत्तिकै फैलिने आधार नभए पनि शहर, नयाँ पुस्ता र विकल्प चाहने खसआर्य समाजमा मिश्रको जस्तो पार्टीलाई अझै केही स्पेश बाँकी देखिन्छ ।

तर त्यसका लागि मिश्र र उनको बाँकी टिममा राजनीतिका दुःख भोग्ने र पार लगाउने बलियो मनोविज्ञान तयार हुन आवश्यक छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय