scheduleबुधवार श्रावण २१ गते, २०७७

मानव अधिकार उल्ल‌ंघन र ज्यादतीका घटनाबाट लकडाउनभर ११ सय १९ जना पीडित

काठमाडाैं, २९ असार । लकडाउन अवधिका तीन महिनामा १ हजार १ सय १९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेकाे तथ्यांक अनुसार लकडाउनकाे तीन महिनाको आवधिक प्रतिवेदनमा यस्ताे तथ्यांक सार्वजनिक भएकाे हाे ।

प्रतिवेदनमा समेटिएका तथ्य तथ्याङ्कहरू २०७६ चैत ११ गतेदेखि २०७७ असार १० गतेसम्मका रहेका पनि इन्सेकले जनाएको छ ।

यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार १ सय १९ जना पीडित भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ ।

‘अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४ सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भए । त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेख गर्‍यो ।’–प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ ।

मानव अधिकारको संरक्षण र संवर्द्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय