scheduleशनिवार श्रावण २४ गते, २०७७

किन बारम्बार विवादास्पद अभिव्यक्ति दिन्छन् प्रधानमन्त्री ओली ?

साझापोस्ट टिप्पणी

काठमाडौं, ३० असार । बारम्बार विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा एक अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ‘भगवान राम भारतीय राजकुमार नभएर नेपाली भएको र अयोध्या नेपाल कै ठोरी क्षेत्रको पश्चिमतिर वाल्मिकी आश्रमको छेउछाउ हुनुपर्ने’ अभिव्यक्ति दिएका हुन् ।

यो तर्कलाई पुष्टि गर्न भने उनले सरलीकृत र वचकनापूर्ण तर्क गरेका छन् । उनले भनेका छन्, ‘त्यो बेला न फोन थियो, न मोबाइल थियो । त्यति टाढाबाट राम कसरी जनकपुर आउँथे । भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक अतिक्रमण गर्‍यो ।’

यो निक्कै महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दावी हो । कुनै अनुसन्धानकर्ताले अनुसन्धानमुलक लेखमार्फत् यस्तो दावी गरेको भए स्वभाविक हुन्थ्यो । अझ संस्कृति तथा पर्यटन मन्त्रालय वा पुरातत्व विभागले कुनै विज्ञ टोली गठन गरेर प्रमाणका आधारमा दाबी गरेको भए त्यसको अर्थ र औचित्य हुन्थ्यो ।

यति ठूलो धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दावी जसले विश्वस्तरको महत्व राख्दछ, यदि त्यो सत्य हो भन्ने प्रधानमन्त्री ओलीलाई भित्र हृदयदेखि नै लागेको छ वा उनीसँग त्यस्तो प्रमाणिक अध्ययन छ भने राज्यस्तरको कार्यदल बनाएर काम अगाडि बढाउन सकिन्थ्यो । तर ओली नेतृत्वको सरकारले त्यसो गरेको कुनै खबर छैन ।
केपी ओली कुनै प्रतिपक्षी दलका नेता होइनन् जो माग गर्ने ठाउँमा हुन्छ । उनी देशका प्रधानमन्त्री हुन् । यदि उनलाई लाग्छ कि राम नेपालमै जन्मिएका थिए भने उनी किन यसबारेमा अध्ययनलाई अगाडि बढाउन सक्दैनन् ? पार्टी र राज्यका सबै शक्ति प्रधानमन्त्रीमा केन्द्रित गरेका उनलाई सत्यतथ्य खोजबीन गर्न र सत्यको पक्षमा आधिकारिक निर्णय गर्न कसले रोकेको छ ?

भारत–चीन विवाद बढ्दै गएको, नेपाल–भारतसम्बन्धमा कयौं सवालहरु पेचिलो बन्दै गएको र देशले भूराजनीतिक जटिलताको दबाब महसुस गर्दै गरेको बेला प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति कति आवश्यक थियो कि थिएन ? प्रम ओलीको मनसाय के हो ? के यो बोल्दा बोल्दै ब्रह्मचेतबाट स्वस्फूर्त फुस्किएको अभिव्यक्ति हो कि यसको कुनै राजनीतिक उद्देश्य छ ? सोच्नु पर्ने बेला आएको छ ।

हुनतः प्रम ओलीका यस्ता विवादास्पद अभिव्यक्तिलाई एक ठाउँ संकलन गर्ने हो भने निक्कै मोटो ग्रन्थ बन्न सक्दछ । विवादास्पद अभिव्यक्ति दिनु र पानीको फोकाझैं दुई चार दिन चर्चामा रहेर फुट्नु प्रम ओलीको हकमा सामान्य कुरा हो । आफ्ना अभिव्यक्तिको प्रमाणिकता र विश्वासनीयताका लागि उनले कुनै अध्ययन, अनुसन्धान वा सन्दर्भग्रन्थलाई आधार बनाउने गरेका छैनन् ।

उनका विवादास्पद अभिव्यक्तिहरुको श्रृंखलालाई मिहीन विश्लेषण गर्ने हो भने अनेक अर्थ निकाल्न सकिन्छ । ओलीका त्यस्ता अभिव्यक्तिहरु स्वस्फूर्त कम र प्रायोजित बढी प्रतीत हुन्छन् । उनी खास समयको खास मनोविज्ञानलाई राजनीतिक दोहन गर्ने मनसायबाट प्रेरित देखिन्छन् ।

जनतामा हुने भावुकता र स्वैरकल्पनाको राजनीतिक दोहन गर्नुलाई राजनीतिशास्त्रमा ‘पपुुलिज्म’ भनिन्छ । पपुलिष्ट राजनीतिकर्मीहरु जानी जानी त्यस्ता कुरा गर्दछन् जसले जनतालाई एक प्रकारको क्षणिक खुशी र आनन्द त दिन्छ तर त्यसको कुनै दीर्घकालीन महत्व र सान्दर्भिकता भने हुँदैन ।

पपुलिज्मको अभ्यास गर्नेहरुलाई आधुनिक राजनीतिशास्त्रले ‘डेमागग’ भन्ने गरेको छ । पपुलिष्ट सोच र डेमागग शैली अहिले विश्व राजनीति मैै व्यप्त छ । प्रम ओली समकालीन विश्वका एकल पपुलिष्ट वा डेमागग भने हैनन् । अमेरिकाका ट्रम्प र भारतका मोदीको उदय र अस्तित्वको आधार पनि यही हो ।

एकीकृत महकाली सन्धिदेखि ओलीको व्यक्तित्व राष्ट्रिय राजनीतिमा विवादास्पद बन्न थालेको हो । भारतमा भएको युपिए गठबन्धनको हार र सत्ता परिवर्तनपछि ओली अलिक बढी छरिएका, छिरलिएका देखिने गरेका थिए । त्यो समयमा दुई महत्वपूर्ण आन्दोलनहरु माओवादी र मधेश आन्दोलनको विरुद्ध कडा अभिव्यक्ति दिएसंगै उनको छवि फरक प्रकारको बन्न थाल्यो ।

विस्तारै ओेलीले जनताको भारतविरोधी भावनाको राजनीतिक दोहन सम्भव छ भन्ने ठाने । नेपाली जनतामा भारत विरोधी भावना हुनुका कयौैं वस्तुगत तथा कयौं आत्मगत कारण छन् । त्यसको भिन्नै विश्लेषण गर्नुपर्ने हुन्छ । यो टिप्पणीका त्यो पक्षको चर्चा गरिएको छैन ।

उनको नजरमा ‘भारत फ्याक्टर’ फोहोर फाल्ने यस्तो खाडल बनेर उदायो कि जसले जस्ता सुकै असक्षमता, भ्रष्टाचार, नालायकी र जनविरोधी क्रियाकलापको राजनीतिक ढाकछोप गर्न सक्छ । उनका पछिल्ला कतिपय अभिव्यक्तिहरु त्यसैका प्रमाण हुन् ।

अन्यथा प्रम ओली कालापानी, लिम्पियाधुरा, लिपुलेक मामिला र नक्शा संशोधनको सन्दर्भमा पनि खासै संवेदनशील थिएनन । उनले ‘भारतले कालापानी–लिपुलेक क्षेत्रमा सडक बनाउँदै गरेको जानकारी आफूलाई कसैले नदिएको’ भन्दै त्यो समाचारलाई टार्न खोजेका थिए । ‘चुच्चे नक्सा आफूले कहिल्यै नपढेको’ भनेर एक टेलिभिजन अन्तर्वार्तामा प्रष्ट बोलेका थिए ।

जबकी त्यहाँ भारतले सन् २००८ मा प्रधानमन्त्री मनमोहन सिंहको सरकारकै पालोमा सडक बनाउन शुरु गरिसकेको थियो । निशान छाप संशोधनका लागि पनि ओली तयार नरहेको, त्यसका लागि पार्टी बैठकमा दबाब दिनु परेको उनैका पार्टीका अन्य नेतारु दहाल, नेपाल खनाल र गौतमले सार्वजनिक रुपमा बताउँदै आइरहेका छन् ।

पार्टी स्थायी समिति बैठकको पृष्ठभूमिमा उनले ‘आफ्नो सरकार हटाउन भारतीय दुतावास सक्रिय रहेको’ अर्को विवादास्पद अभिव्यक्ति दिए । सामान्यतयाः कुटनीतिक मर्यादाको दृष्टिकोणले यस्तो अभिव्यक्ति दिइँदैन । दिइसकेपछि कि त राजदूतलाई फिर्ता पठाउन कि त देश निकाला गर्न सक्नुपर्दछ । ओली सरकारले त्यसो गर्ने कुनै सम्भावना थिएन ।

ओलीले कुटनीतिक मर्यादा नबुझेर त्यस्तो अभिव्यक्ति दिएका हैनन् । पार्टी स्थायी समितिमा अल्पमतमा पर्ने प्रष्ट भइसकेपछि सत्ता लम्ब्याउने अन्तिम शस्त्रका रुपमा त्यो तुरुप प्रयोग गरेका हुन् । प्रधानमन्त्रीको त्यति गम्भीर अभिव्यक्तिपछि न त परराष्ट्र मन्त्रालयले भारतीय राजदूतसँग कुनै सोधीखोजी गर्‍यो, न त फिर्ता पठाउने प्रक्रिया गर्‍यो, देश निकालाको त कुरै छोडौं ।

बदलामा चिनियाँ राजदूतको कहिल्यै नदेखिएको सक्रियता देखियो । यसबारे ओली सरकार मौन रह्यो । चिनियाँ राजदूतको सक्रियतापछि नेकपाभित्रको विवाद कति मत्थर भएको हो वा हैन अझै दृष्य स्पष्ट भएको छैन ।

ओलीको सरकार अहिले पनि उत्तिकै संकटमा छ । नेकपा स्थायी समितिको बैठक स्थगन भएको हो, समाप्त भएको हैन । बैठकले उनको राजीनामाको एजेण्डा छोडेको, नछोडेको प्रष्ट छैन । त्यो मुद्दा फेरि पनि ब्युँतिने सम्भावना छ ।

ठीक यही अवस्थामा ओलीले ‘राम र अयोध्या’ को विवाद झिकेका छन् । यो विवादको सिधा प्रहार भारतको सत्तारुढ पार्टी भाजपामाथि हुने प्रष्ट छ । भारतमा रामजन्मभूमि र अयोध्या मन्दिर निक्कै लामो र ठूलो राजनीतिक मुद्दा हो । यो बिषयमा भारतमा बेलाबेला ठूल्ठूला दङ्गा, राजनीतिक झडप भएका छन् । हज्जारौंले ज्यान गुमाएका छन् । साँच्चै भन्ने हो भने अहिलेको सत्तारुढ पार्टी भाजपालाई यति शक्तिशाली बनाउने र सत्तामा ल्याउने एउटा प्रमुख मुद्दा नै राम जन्मभूमि र अयोध्या मन्दिर विवाद हो ।

ओली यी सूचनाबाट बेखर छन् मान्न सकिन्न । सीताको जन्म जनकपुरमा भएको थियो भन्ने विषया भारतमा कुनै विवाद छैन । मोदी जनकपुर आउँदा ओली आफैं स्वागतमा जनकपुर पुगेका थिए । त्यहाँ ओली र मोदीले जनकपुर–अयोध्या बस सेवाको संयुक्त उद्घाटन गरेका थिए । मिथिला–अयोध्या रेल मार्ग र सर्किट नेपालको तर्फबाट भारत सामू प्रस्तावित योजना मध्ये एक हो ।

आफ्नै सरकारले अघि बढाएका यी योजनालाई आफ्ना अभिव्यक्तिले के कस्तो असर पर्दछ, त्यो ज्ञान ओलीलाई नभएको मान्न सकिन्न । तर, सत्ता स्वार्थले शासकलाई साँच्चै संकुचित बनाउँदो रहेछ ।

निश्चय नै नेपाल भारत सम्बन्धको बीचमा थुप्रै समस्या छन् । कुटनीतिक माध्यमबाट तिनको हल हुनै पर्दछ । भारत यी सवालबाट सधै भाग्न सक्दैन र भाग्न पाउँदैन । मोदी सरकारको नेपाल नीति ठीक छैन भन्ने भारतमै ठूलो जनमत बन्दै गइरहेको छ । केही सीमित व्यवसायिक मिडियाले मात्र भारतीय जनमतको प्रतिनिधित्व गर्दैनन् ।

भारत कुनै एउटा ‘व्यक्ति’ हैन कि त्यहाँ नेपालप्रति कुने सोलोडोलो धारणा होस् । भारत हामी जस्तै एक लोकतान्त्रिक मुलुक हो । मोदी सरकार वा भाजपाले जे भन्यो, सबै भारतीयले नेपाललाई त्यसरी नै हेर्छन्, बुझ्छन् भन्ने ठान्नु हुन्न । त्यहाँ नेपालका थुप्रै मित्र र हितचिन्तकहरु पनि छन् । नेपाल–भारत बीचका समस्या हल गर्न कुनै दिन ती मित्र र हितचिन्तकहरुको समर्थन र सहयोग नेपाललाई चाहिन्छ ।

प्रम ओलीले पक्कै यति कुरा बुझेछन् । तर ‘आफू नरहे संसार नै नरहोस्’ भन्ने मनोभावनाग्रस्त भएर उनले सत्ता स्वार्थका लागि नेपाल–भारत सम्बन्धका शदिऔं पुराना आयामहरुलाई समेत दाउमा च्याँखे थाप्ने प्रयास गरेका छन् । प्रम ओलीको यस्तो अभिव्यक्तिलाई ‘सन्तुलित मानसिकता’ को उपज मान्न सकिन्नँ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय