scheduleमगलवार श्रावण २० गते, २०७७

हामीले मास्क लगाउनै जानेनौं, भौतिक दुरीसमेत कायम नहुँदा कोरोनाको जोखिम बढ्यो

डा. सन्त कुमार दास

पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण नै सकिएको जसरी मान्छेहरु बाहिर निस्कन थालेका छन् । संक्रमण सकिएको होईन र अझै अवस्था बिग्रन सक्ने कुरालाई कसैले भुल्न हुँदैन । यो तुरुन्तै १ देखि २ महिनामै सकिनेवाला पनि छैन । कोरोनासँग भागेर होईन, जुधेर अघि बढ्नुपर्ने अवस्था छ । कोरोनासँगै आफ्ना क्रियाकलाप सहज बनाउँदै लैजानुपर्ने हुन्छ । तर, पहिलेकै अवस्थामा जस्तै गरी कुनै मापदण्ड नै पालना नगरी क्रियाकलाप सञ्चालन गर्न भने हुँदैन । कोरोनाले हामीलाई असर नगरोस् भनेर केही कुरामा ध्यान दिएर दैनिक जीवनयापन अघि बढाउनुपर्ने हुन्छ ।

सर्जिकल मास्क पानीमा भिज्यो भने त्यसलाई फेरी प्रयोग गर्न हुँदैन । सर्जिकल मास्क छैन भने ३ तह भएको कपडाको मास्क पनि प्रयोग गर्न सकिन्छ ।

मास्क लगाउने तरिका बदलौँ
महत्वपूर्ण कुरा मास्क लगाउन नछाडौँ । कम्तिमा पनि ६० प्रतिशत व्यक्तिले तरिका मिलाएर मास्क लगायो भने यसको सर्ने चक्रमा प्रभाव पर्न जान्छ । अहिले धेरै व्यक्तिले मास्क लगाएर हिडिरहेको देखिन्छ । तर, लगाउने तरिका मिलिरहेको छैन । मास्क लगाउने तरिका जानिएन भने त्यो लगाउनु र नलगाउने कुनै अर्थ छैन ।
कसैले चिउँडोमा लगाएको देखिन्छ भने कसैले मुखमा लगाएर नाक खुल्ला छाडेको देखिन्छ । खोल्दा र लगाउँदा पनि त्यति धेरै ध्यान दिएको पाईंदैन । मास्क कोरोनाका लागि मात्रै लगाएको भनेर बुझ्नुभएन । मास्क लगाईयो भने अरु रोगको संक्रमणबाट पनि बच्न सक्छौँ ।

मास्क सही तरिकाले लगायौँ भने हात सिधै नाक र मुखमा जान पाउँदैन । अर्को भनेको नजिकै कोरोना संक्रमित छ भने पनि त्यसले छेक्ने काम गर्छ । तर, तरिका मिलेन भने मास्कले झन असर गर्न सक्छ ।

मान्छेहरुले मास्क लगाउँदा मास्कको बाहिरी भाग छोईराखेको हुन्छ । बाहिरी भाग भनेको सबैभन्दा फोहोर जम्मा हुने ठाउँ हो । त्यो भागमा छोईयो भने संक्रमण सर्ने डर हुन्छ । यदि बाहिरी भागमा छोईयो भने तत्काल कि त हात धुनुपर्‍यो की त सेनिटाईजर दल्नुपर्‍यो ।

सर्जिकल मास्क पानीमा भिज्यो भने त्यसलाई फेरी प्रयोग गर्न हुँदैन । सर्जिकल मास्क छैन भने ३ तह भएको कपडाको मास्क पनि प्रयोग गर्न सकिन्छ ।

भौतिक दुरी अनिवार्य कायम गरौँ
भौतिक दुरी अनिवार्य कायम गरौँ । दुरी १ मिटर राख्ने की २ मिटर भन्नेबारेमा फरक मतहरु आईरहेका छन् । अगाडीको मान्छेले मास्क लगाएको छ भने १ मिटरको दुरीमा बस्दा पनि हामी सुरक्षित हुन्छौँ । तर, मास्क लगाएको छैन भने १ मिटरले पुग्दैन २ मिटरभन्दा धेरै नै दुरी कायम गर्नुपर्छ ।

अहिले बजारमा मान्छेहरु हिडेको देख्दा कतैपनि दुरी नै कायम गरेको पाईदैन । जथाभावी हिंडिरहेका छन् । यसले उनीहरु स्वयं आफैं असुरक्षित छन् । हामी जहाँ जान्छौँ, जे काम गर्दै छौँ, भौतिक दुरी अनिवार्य कायम गरौँ । सके २ मिटरभन्दा बढी नै कायम गरौँ, सम्भव छैन भने १ मिटरको मात्रै भए पनि दुरी कायम गरौँ ।

डा. सन्तकुमार दास

बेलाबेला हात धुने र सेनिटाईज गर्ने गरिरहौँ
हामीले थाहा नपाउँदा नपाउँदै पनि हाम्रो हातले धेरै कुराहरु छोईरहेको हुन्छ । कहिले नाक, आँखा, मुख त कहिले टाउको र शरीरका अंगबाहेक अरु ठाउँहरुमा पनि हाम्रो हात गैरहेको हुन्छ ।

हातमा जस्तोसुकै संक्रमण पनि रहने भएकोले कोरोनाबाट बच्न मात्रै नभई अरु रोगको संक्रमणबाट बच्न पनि बेलाबेलामा साबुन पानीले हात धोईरहनुपर्छ । सबै ठाउँमा साबुन पानीको उपलब्धता नहुने भएकोले गोजीमा सेनिटाईजर राखेर हिड्ने गरौँ । जहाँ जान्छौँ, बेला बेलामा सेनिटाईजर प्रयोग गरिरहनुपर्छ । यसो गरियो भने हातमा संक्रमण छ भने पनि नष्ट हुन्छ । हाम्रो शरीरभित्र संक्रमण प्रवेश गर्न पाउँदैन ।

कार्यलयमा कसरी सजह गर्ने ?
हामी कार्यलयमा छौँ भने आफूभन्दा नजिकको या अगाडीको व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी राखौँ । स्वास्थ्यका मापदण्डअनुसार आवश्यक सामग्री कार्यलयले व्यवस्थापन गर्नुपर्छ । सेवाग्राही आयो भने गेटमै पनि सावुन पानीले हात धुने व्यवस्था गर्नुपर्छ ।

हात धोएर कार्यलयभित्र गयो र मास्क लगायो भने त यसले केही पनि गर्न पाउँदैन । मान्छेहरु भीडभाड हुने कार्यलयमा केही सिष्टमहरु विकास गर्नुपर्छ, जसले भौतिक दुरी कायम गर्न सहयोग पुगोस् । अनलाईनमार्फत गराउन सकिने कामहरुमा हामी त्यो बाटो अवलम्बन गरौँ ।

नभेटी नहुने भएमात्रै कार्यलय जाने गरौँ । अनलाईनबाटै गर्न सकिने सबै कामहरु घरबाटै गरौँ । कर्मचारीहरुले पनि भौतिक दुरी कायम गरी काम गरौँ र बेलाबेलामा आफ्नो हातलाई सेनिटाईज गरिरहनुपर्छ ।

सार्जजनिक गाडीमा कसरी सजग बन्ने ?
सरकारले केही मापदण्डसहित गाडी चलाउने स्वीकृती दिएको छ । सिटमा एकजना मान्छे मात्रै राख्ने, बीचबीचमा गाडीहरुलाई सेनिटाईज गरिरहने, गाडीमा आउने व्यक्तिहरुलाई पनि सेनिटाईजको व्यवस्था गर्ने, सबैलाई मास्क लगाएर मात्रै गाडीमा चढ्न दिने गर्नुपर्छ । यी मापदण्डहरु अभ्यासमै उतार्नुपर्छ । गाडी सञ्चालकहरुले योबारे निक्कै ध्यान पुर्याउनुपर्ने देखिन्छ । हामीसँग रहेका सार्वजनिक गाडी धेरै नै असुरक्षित छन् ।

तरकारी बोकेर घर पुगुन्जेलसम्म हातले मुख, नाक र आँखा छुने काम नगरौँ । सामन लिएर घर पुग्ने बित्तिकै हात धुनुपर्छ ।

हामीकहाँ रहेका सार्वजनिक गाडीहरुमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यकारी अवस्था छ । गाडीभित्र बस्दा गाडीको झ्याल बन्द गर्नु हुँदैन । बन्द ठाउँमा भाईरसको संक्रमणण चाँडै फैलने भएकोले गाडीमा यात्रा गर्दा झ्यालहरु सबै खोेलेर राख्नुपर्छ । २ देखि ३ घण्टाको बीचमा गाडीलाई भित्रको भागमा सेनिटाईज गरिरहनुपर्छ । यति काम गरेर गाडी चलाउँदा फरक पर्दैन ।

बाढी पहिरो प्रभावित क्षेत्रमा के गर्ने ?
बाढी पहिरो प्रभावित क्षेत्रमा मान्छेहरुलाई क्याम्प गरेर नै राख्नुपर्ने हुन सक्छ । क्वारेन्टिनका केही गाईड लाईनहरु पनि छन् । क्वारेन्टिनमा झण्डै २ लाख मान्छे हुँदा सरकारलाई निक्कै गाह्रो भएको थियो । बाहिर खुल्ला आकाशमा त थोरै नजिक भएर केही फरक परेन ।

प्रभावित क्षेत्रका मानिसहरुलाई सुरक्षित ठाउँमा राख्दा कम्तिमा पनि मास्कको व्यवस्था सरकारले गरिदिनुपर्छ । बाढी पहिरो प्रभावितलाई सेनिटेशनको व्यवस्था, दिशा, पिसाब गर्ने ठाउँको व्यवस्था, हात धुने ठाउँलगायत न्युनतम यतिको व्यवस्थापन त गर्नु नै पर्छ । नत्रभने बाढी प्रभावित क्षेत्र नै कोरोनाको हटस्पट हुन बेर छैन ।

खाद्यान्न तथा तरकारी किनबेच हुने ठाउँमा के गर्ने ?
तरकारी बेच्ने एवं पसलेहरुले आफूले मास्क लगाईराख्नुपर्छ । किन्न जानेहरुले त झन बाटोमा विभिन्न व्यक्तिसँग सम्पर्क हुन सक्ने भएकोले अनिवार्य मास्क लगाउनु नै पर्छ । यदि कसैले मास्क नलगाई सामान किन्न आएको अवस्था हो भने त्यो मान्छेलाई सुरुमै मास्क लगाउन आग्रह गर्नुस् ।

सामान, तरकारी र खाद्य बस्तु छुँदा विभिन्न संक्रमणको डर हुन सक्छ । तरकारी बोकेर घर पुगुन्जेलसम्म हातले मुख, नाक र आँखा छुने काम नगरौँ । सामन लिएर घर पुग्ने बित्तिकै हात धुनुपर्छ ।

अस्पतालमा के गर्ने ?
सबैभन्दा धेरै स्वास्थ्यका हिसावले चुनौती रहेको ठाउँ भनेको अस्पताल हो । टिकट अनलाईन मार्फत बुकिङ गर्ने गरौँ । बिरामीको रिपोर्ट पनि अनलाईनमार्फत नै उपलब्ध गराउने गरौँ । यसो गरियो भने मानिस मानिसबीचको सम्पर्क रहँदैन । एक व्यक्तिमा रहेको संक्रमण अर्को व्यक्तिको शरीरमा सर्ने खतरा रहँदैन ।

बिरामी अनिवार्य अस्पताल जानैपरे पनि बिरामीसँग अरु धेरै व्यक्ति नजाऔँ । बिरामीसँग एकजना कुरुवा साथि मात्रै जाँदा राम्रो हुन्छ । कोही व्यक्ति अस्पतालमा भर्ना गरेर राखिएको छ भने फलफुल लिएर जाने, भीडभाड गर्ने चलन छ, त्यसो कहिल्यै नगरौँ । यसले संक्रमण बढाउन सक्छ । अस्पतालमा बिरामीको उपचार चिकित्सकहरुले गरिरहेका हुन्छन् । आफन्तहरु घरमै बस्ता राम्रो हुन्छ ।

सुरुमा डाक्टरहरुमा पनि धेरै डरहरु थिए । डाक्टरहरु सबैभन्दा धेरै खतराको घेरामा रहेकाले उनीहरुले धेरै ध्यान दिनुपर्ने हुन्छ । बिरामी जाँच्न डाक्टरहरु आफूले अनिवार्य मास्क लगाउने, मास्क नलगाएका बिरामीलाई अस्पतालमा छिर्न नदिने, जाँच गर्ने ठाउँमा साबुन पानी अनिवार्य व्यवस्था गरेर राख्नुपर्ने हुन्छ ।

स्कृन टेष्टहरुबाट लक्षण परीक्षण गरेर कोरोना छ की छैन भनेर जाँचेर मात्रै उपचार पद्धति अघि बढाउनुपर्छ । त्यस्तो लक्षण देखियो भने तत्काल कोभिड-१९ का लागि छुट्याईएको आईसोलेशनतिर पठाउँछौँ । यदि संक्रमण छैन भने मात्रै जनरल ओपीडीमा छिर्न दिने काम हुन्छ । उहाँहरुले बस्दा, उठ्दा, कतै जानुपर्दा दुरी कायम गर्नुपर्ने हुन्छ ।

(कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दाससँग साझापोष्टले गरेको कुराकानीमा आधारित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय