scheduleबुधवार श्रावण २१ गते, २०७७

ओलीको बोली र राम जन्मभूमि विवादको नालीबेली

साझापोस्ट टिप्पणी

काठमाडौं, ३१ असार । गत सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम भारतमा हैन, नेपालको ठोरी क्षेत्रमा जन्मिएको’ अभिव्यक्ति दिएसँगै नेपाल र भारतमा तीव्र प्रतिक्रिया देखिएको छ । सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था तथा पुरातात्विक खोजको विषयलाई सत्तास्वार्थका लागि राजनीतिकरण गरेको भन्दै ओलीको आलोचना भएको हो ।

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले ओली अभिव्यक्तिको तत्काल खण्डन गरे थिए । शास्त्रीले तीव्र रोष व्यक्त गर्दै भने, ‘भगवान राम हाम्रा आस्थाका प्रतिक हुन् । कसैलाई पनि यसमाथि खेलवाड गर्ने अधिकार छैन । ती व्यक्ति कुनै देशको प्रधानमन्त्री नै किन नहून् ।’

उनले वामपन्थी पार्टीहरुले जनताको धार्मिक आस्थामाथि बारम्बार खेलवाड गरेको आरोप लगाउन समेत भ्याए । शास्त्रीले अगाडि भनेका छन्, ‘यस्तै कारणले गर्दा भारतका वामपन्थीहरु सकिएर गए । कुनै दिन नेपालका वामपन्थीहरुको पनि त्यही हालत हुन बेर छैन ।’

विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका एक नेता अभिशेक मनु सिंघवीले पनि ओली अभिव्यक्तिमाथि चर्को प्रतिक्रिया दिए । उनले ट्वीट गरेका छन्, ‘यस्तो लाग्छ कि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मानसिक सन्तुलन गुमाएका छन् ।’

यी प्रतिनिधिमुलक प्रतिक्रिया मात्र हुन् । भारतीय मिडियाले ओली अभिव्यक्तिमाथि अनेक कोणबाट बहस चलाइरहेका छन् । राजकीय स्तरमा नेपाल–भारतसम्बन्ध ओलीको यो अभिव्यक्तिभन्दा अगाडिदेखि नै तिक्त थियो । उनले गत हप्ता भारतीय ‘दुतावास आफ्नो सरकार हटाउन सक्रिय भएको’ बताएका थिए ।

राम जन्मभूमि विवादले भने जनस्तरको सम्बन्धमा समेत तिक्तता आएको छ । यही कुरा बुझेर हुनुपर्दछ, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको अभिव्यक्ति ‘राजनीतिक नभएको’ एक प्रेस विज्ञप्तिमार्फत् प्रष्ट गरेको छ ।

भारतमा राम जन्मभूमि विवादको लामो कथा छ । भारतीयहरु उत्तर प्रदेशको फैजापुर जिल्लास्थित अयोध्यानगरलाई रामायण महाकाव्यमा उल्लेखित राजा दशरथको दरबार भएको स्थान मान्दछन् । सरयु नदीको किनारामा दशरथको दरबार थियो भन्ने वाल्मिकी रामायणको भाष्यलाई त्यसको प्रमाण मान्ने गरिन्छ । त्यहाँ सरयु नामको नदी छ ।

१६ औं शताब्दिमा मुगलहरु भारतीय उपमहादेशमा आए । मुगलहरु तुर्कमेनिस्तानको ‘तैमुरलेङ’ वंशको एक मुस्लिम धर्मालम्बी हाँगो थियो भन्ने विश्वास गरिन्छ । मुगलहरु सिन्धु वेसिन हुँदै भारत पसेका थिए । उनीहरुलाई अटोमान साम्राज्यको समर्थन थियो । अटोमान सम्राज्य त्यतिखेर अफगानिस्तानसम्म फैलिएको थियो । मुगल लडाका बाबरले पानीपत र दिल्लीको युद्धमा स्थानीय रजौटाहरुलाई हराएपछि दिल्लीको सत्ता मुगलहरुको हातमा गएको थियो ।

भारतमा मुगल शासन करिब ३३० बर्ष चल्यो । यस वंशमा बाबर, अकबर, औरगजेब, शाहजँहाजस्ता प्रतापी महाराज जन्मिए । उनीहरुले सम्पूर्ण भारत वर्षलाई एउटै राज्यमा गाभेका थिए । बहादुर शाह जफर यो वंशका अन्तिम राजा थिए । जफरको पतनपछि सन् १८५७ मा भारतको सत्ता इष्ट इन्डिया कम्पनीले हत्याएको थियो ।

भारतीय हिन्दू भाष्यअनुसार अयोध्याको जुन भागमा राम मन्दिर हुनुपर्ने हो त्यहाँ बाबरी मस्जिद थियो । त्यो मस्जिद मुगल साम्राज्यको युगमा जबरजस्त बनाइएको थियो । बाबरका जर्नेल मिर बाँकीले सन् १५२८ तिर राममन्दिर भत्काउन लगाएर आफ्ना राजा बाबरको नाममा बाबरी मस्जिद बनाएका थिए । हिन्दू विश्वासअनुसार बाबरी मस्जिद भएको ठाउँ नै रामजन्मभूमि हो ।

हिन्दूहरुले बाबरी मस्जिद भत्काएर पुन राममन्दिर बनाउनु पर्ने माग गर्न थाले । यो विवादले पहिलो दंगा सन् १८५० मा भएको थियो । सन् १९५९ मा अंग्रेज शासकले बीचमा पर्खाल लगाएर एकातिर राममन्दिर र अर्कोतिर बाबरी मस्जिदको क्षेत्र छुट्याए । सन् १८८५ मा राम मन्दिरका महन्त रघुवीर दासले फैजापुर जिल्ला अदालतमा त्यो ठाउँमा राम मन्दिर बनाउँन पाउनुपर्ने भन्दै मुद्दा हालेका थिए । अदालतले उनको निवेदन अस्वीकार गरेको थियो ।

भारतको स्वतन्त्रतापछि सन् १९४९ मा गोरखनाथ मठका सन्त दिग्विजय नाथले ९ दिन लामो रामायण सभा अयोध्यामा आयोजना गरे । यो सभामा भेला भएका हिन्दुहरु जबरजस्त बाबरी मस्जिदमा प्रवेश गरी तोडफोड गरे । उनीहरुले बाबरी मस्जिद भत्काई राम मन्दिर बनाउनु पर्ने माग गरे । प्रकारान्तरले करिब २.७७ हेक्टर जमिनको यो विवाद स्वतन्त्र भारतको इतिहास कै सबैभन्दा ठूलो राजनीतिक तथा धार्मिक विवाद बन्न पुग्यो ।

सन् १९९० मा भारतीय जनता पार्टीका नेता लालकृष्ण अड्वानीले ‘अयोध्या रथ यात्रा’ गरे । अड्वानीले यो यात्रा गुजरातको सोमनाथबाट शुरुवात गरेका थिए । रथयात्रा बिहार आइपुग्दा तत्कालीन मुख्यमन्त्री लालु प्रसाद यादवले साम्प्रदायिक भावना फैलाएको भन्दै यात्रालाई अवरोध गरे । यसले दङ्गाको रुप लियो । आरएसएस स्वयंसेवकहरु रथ यात्रा भन्दा अगाडि नै अयोध्या पुगी बाबरी मस्जिद ताडफोड गर्ने प्रयास गरे । तर प्रशासनले रोक्यो । अडवानीले रथयात्रा स्थगन गरे ।

सन् १९९१ को चुनावमा भाजपाले उत्तर प्रदेशमा सरकार बनायो भने लोकसभामा दोस्रो ठूलो पार्टी भयो । अड्वानीले स्थगित रथयात्रा फेरि गरे । सन् १९९२ को डिसेम्बर ६ मा विश्व हिन्दू परिषदले अयोध्यामा एक सभा आयोजना गर्‍यो । त्यसमा मुख्य वक्ता लालकृष्ण अड्वानी, मुरली मनोहर जोशी र उमा भारती लगायतका भाजपा नेताहरु थिए । उनीहरुले भाषण गर्दैगर्दा उत्तेजित हिन्दूहरुको भीड मस्जिद भित्र पस्यो र मस्जिद ताडफोड गर्‍यो । यसपछि भड्किएको दंगामा भारतभरी करिब २००० को ज्यान गएको थियो । यो सवाल कानुनी मुद्दा बन्न पुग्यो ।

यो विवादलाई सन् २०१९ को नोभेम्बर ९ सर्वोच्च अदालतको ५ न्यायधीशको संयुक्त इजलासको फैसलापछि कानुनी रुपमा निरुपण भएको मानिन्छ । फैसलाले विवादित भूमिमा राम मन्दिर बनाउन दिनुपर्ने र बाबरी मस्जिद बनाउन भिन्नै ५ एकड जमिन राज्यले व्यवस्था गर्दिनुपर्ने उल्लेख छ ।

भारतमा भारतीय जनता पार्टीको उदय हुनुमा अड्वानीको रथयात्रा र राम जन्मभूमि विवादमा भजपाको भूमिका एक महत्वपूर्ण सवाल मानिन्छ ।

अयोध्या ऐतिहासिक नभएर पौराणिक राज्यको राजधानी हो । तसर्थ, यसको तिथीमिती र क्षेत्रबारे यसै भन्न सकिन्न । अयोध्यालाई त्यसअघि ‘साकेत’ भनिन्थ्यो । साकेत कौशल महाजनपदको राजधानी थियो । महाजनपदको पहिलो राजा इच्छाबकुलाई मानिएको छ ।

यसको सिमानाबारे प्रष्टता छैन । तर, भारत उत्तरप्रदेशका उत्तरी अबधी भाषी क्षेत्रहरु र पश्चिम नेपालका अबधि भाषी क्षेत्रहरु कोशल राज्य भित्र भएको ठानिन्छ । कोशल राज्यको भाषा अबधी भएको हुँदा यो राज्यलाई ‘अबध’ पनि भन्ने गरिन्थ्यो । इशापूर्व ३ शताब्दितिर मगधहरुले अयोध्या जितेका थिए ।

ठीक त्यही समय नारायणी पूर्व, कोशी पश्चिम, महाभारत दक्षिण र गंगाको उत्तरी क्षेत्रमा फैलिएको विशाल मिथिला राज्य थियो । त्यो समय मैथिलहरुको मिथिला, मगधहरुको पाटलीपुत्र र अबधहरुको अयोध्या उत्तर भारत र हाल नेपालको दक्षिणी क्षेत्रका मुख्य राजनीतिक केन्द्र थिए ।

प्रधानमन्त्री ओलीले भनेझैं त्योबेला फोन थिएन, मोबाइल थिएन, यातायात थिएन, त्यति टाढाबाट राम कसरी सीतालाई भेट्न आए भन्ने तर्क हास्यास्पद हो । मगध, मिथिला र अबधको सिमाना जोडिन्थ्यो । यी राज्यहरुबीच युद्ध र मैत्री भइरहन्थे । छिमेकी राज्यका राजकुमार राजकुमारीबीच बिहेबारी हुने कुरा अस्वभाविक थिएन । नेपालमा राजा त्रिभुवनको पालासम्म यो प्रचलन कायम थियो ।

बायुपंखी घोडा र घोडाले तान्ने रथमा बसेर लामोलामो यात्रा गरिन्थ्यो । छिमेकी राज्यहरुबारे जासुस वा दुत पठाएर सुचना संकलन गर्ने चलन थियो । चिट्ठीपत्र आदानप्रदान गर्ने पैदल हुलाकीको प्रचलन थियो । राज्यका स्थल सेना सीमा क्षेत्रमा तैनाथ हुन्थे । उनीहरुले आआफ्नो राजधानी र दरबारमा घोडचडीमार्फत् छिमेकी राज्यका सूचनाहरु छिछिटो पठाउँथे ।

त्यतिखेर भारत भन्ने देश थिएन भन्ने प्रम ओलीको कुरा सही हो । तर नेपाल पनि जनकपुरसम्म फैलिएको थिएन । काठमाण्डौं शासित राज्यलाई नेपाल भनिन्थ्यो । नेपाल नारायणी पश्चिमको पहाडी क्षेत्रमा मात्र थियो । यो नेपाल–भारत राज्यको सम्बन्धको बिषय हैन । यो प्राचीन कोशल र मिथिला राज्यको सम्बन्धको बिषय हो, जसका सीमाहरु आजका सीमासंग मिल्दैनन ।

नेपालले राम जन्मभूमि नेपालमा पर्न सक्छ भन्ने तर्क गर्न नपाउने हैन । तर त्यसका लागि बलियो पुरातात्विक खोज गर्नु पर्दछ र प्रमाण प्रष्ट भएपछि मात्र दावी गर्नु उपयुक्त हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय