scheduleबुधवार श्रावण २८ गते, २०७७

हङकङको स्वतन्त्रता सकिएको भन्दै ट्रम्पले गरे अग्राधिकार अन्त्य गर्ने विधेयकमा हस्ताक्षर

एजेन्सी, ३१ असार । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिँदै आएको स्वायत्तता र अग्राधिकार खारेज गर्ने बिलमा हस्ताक्षर गरेका छन् । यो कानून पारित भएसँगै हङकङले अमेरिकामा कुनै प्रकारको व्यापारिक अग्राधिकार प्राप्त गर्नेछैन ।

हङकङलाई अमेरिकाले चीन मूलभूमि सरह व्यवहार गर्नेछ । हङकङले अमेरिकासँग कुनै व्यवहार तथा व्यापार गर्दा अमेरिका–चीन सम्झौता, कानून वा प्रावधान हुँदै गर्नुपर्ने हुन्छ ।

मंगलबार बिहान ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘अबदेखि हङकङलाई चीन मूलभूमि सरह व्यवहार गरिनेछ । कुनै अग्राधिकार वा सुविधा दिइने छैन । त्यहाँ संवेदनशील प्रविधिको निर्यात पनि गरिने छैन ।’

अमेरिकाले लागू गरेको यो प्रावधानले हङकङको अमेरिका निर्यात प्रभावित हुनेछ । हङकङले अमेरिकासँगको निर्यात व्यापारमा कुनै सुविधा पाउने छैन ।

विगत दुई वर्ष यता चीनसँग व्यापार युद्ध चर्किएको र चीनले भर्खरै हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेसँगै अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकाको यो निर्णयले चीनलाई थप दबावमा पार्ने व्यापार विश्लेषकहरुकले बताएका छन् ।

सन् १९९७ मा हङकङ चीनलाई फिर्ता गर्ने बेलायत–चीन सम्झौतामा हङकङलाई ‘एक देश, दुई प्रणाली’ अन्तर्गत् सन् २०४७ स्वायत्तता र राजनीतिक स्वतन्त्रतासहितको बहुदलीय लोकतन्त्र लागू गर्न दिने प्रावधान थियो । तर, गत महिना चीनले लागू गरेको नयाँ सुरक्षा कानुनले त्यो सम्झौतालाई संकुचन गर्ने अमेरिकाको ठहर छ ।

मंगलबारको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हङकङको स्वतन्त्रता समाप्त भइसक्यो । अब त्यहाँ स्वतन्त्र बजार प्रणाली नै बाँकी रहँदैन । धेरैजसो हङकङबासीले अब हङकङ छोड्छन् । यस्तोबेला हामीले त्यहाँ विशेष सुविधा दिइरहनुको कुनै अर्थ छैन ।’

यसबारे चीनका राष्ट्रपति सि जिङ पिङसँग कुरा गर्ने कुनै योजना छ भन्ने प्रश्नको उत्तरमा ट्रम्पले त्यस्तो कुनै योजना नभएको स्पष्ट पारे । उक्त बिल अमेरिकाको संसदमा सर्वहमतिले पास भएको थियो ।

यसअघि बेलायतले सन् १९९७ अघि जन्मिएका करिब ३० लाख हङकङबासीलाई बेलायती पासपोर्ट प्रयोेग गर्न सक्ने अधिकार वा नागरिकता दिन सकिने बताएको थियो ।
चीनले हङकङमा विशेष सुरक्षा कानून लागू गरेसँगै त्यहाँ ‘स्वतन्त्र हङकङ’को माग गर्दै प्रदर्शन हुने गरेका छन् । अमेरिकाको पछिल्लो कदमपछि हङकङमा त्यसको प्रभाव कस्तो पर्दछ, यसै भन्न सकिन्न ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय