scheduleआइतवार श्रावण २५ गते, २०७७

भारतीय कांग्रेसमा अर्को काण्डः युवा नेता सचिन पाइलट सबै पदबाट बर्खास्त

नयाँ दिल्ली, ३१ असार । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसलाई अर्को संकट आएको छ । संकटलाई हल गर्न कांग्रेसले पार्टीका युवा नेता, राजस्थानका उपमुख्यमन्त्री तथा प्रदेश अध्यक्ष सचिन पाइलटलाई पार्टीका सबै पदबाट हटाएको छ ।

केही महिनाअघि पार्टीका अर्का युवा नेता ज्योतिरादित्य सिन्धिया कांग्रेस पार्टी परित्याग गरी भाजपा प्रवेश गरेका थिए । उनको भाजपा प्रवेशसंगै मध्यप्रदेशको कांग्रेस सरकार ढलेको थियो ।

उनले १९ विधानसभा सदस्य आफूसँगै भाजपामा लगेका थिए । फलतः मध्यप्रदेशमा शिवराज चौहानको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन भएको थियो ।

प्रदेश अध्यक्ष तथा उपमुख्यमन्त्री सचिन पाइलटमाथि दुई मध्ये एक पद छोड्न दबाब थियो । उनी मुख्यमन्त्री अशोक गोहलटसँग असन्तुष्ट थिए । राहुल गान्धीको मित्र मण्डलीका नजिकको सदस्य मानिने सचिन पाइलट प्रदेश राजनीतिमा समस्या देखिएपछि गान्धी परिवारसँग छलफल गर्न नयाँ दिल्ली आएका थिए ।

मिडियामा सचिनले पार्टी छोड्न लागेको, उनको पार्टी परित्यागसँगै गोहलत नेतृत्वको कांग्रेस सरकार ढल्ने हल्ला चलेको थियो । उनी केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डासँग सम्पर्कमा रहेको हल्ला चलेको थियो । तर, पाइलटले यो हल्ला निराधार रहेको बताएका थिए ।

पाइलटको असन्तुष्टिले केन्द्रीय नेतृत्वमा ठाउँ बनाउन सकेन । राहुलबाट उनले साथ पाएनन् ।

पछिल्लो समय कांग्रेसमा राहुलको प्रभाव घट्दै गएको प्रियंका गान्धीको प्रभाव बढ्दै गएको विश्वास गरिन्छ । सोनिया गान्धीले छोरा राहुलको साटो छोरी प्रियंकाको सल्लाह मानेको हुन सक्ने बताइन्छ ।

ज्योतिरादित्य सिन्धियाको पार्टी परित्यागपछि प्रियंका राहुल मित्रमण्डलीको महत्वाकांक्षाले कांग्रेसको भविष्य धान्न नसक्ने निर्णयमा पुगेकी थिइन । प्रियंकाको भूमिका बढेसँगै राहुलले पार्टीको संगठनात्मक मुद्दामा रुचि राख्न छोडेको बताइन्छ ।

ठीक यही स्थितिमा सचिन पाइलटलाई कांग्रेसले राजस्थानको उपमुख्यमन्त्री र प्रदेश अध्यक्ष दुवै पदबाट हटाएको छ । पाइलट राजिव गान्धीका नजिकका मित्र राजेश पाइलट र रमा पाइलटका छोरा हुन । पाइलट परिवार लामो समयदेखि गान्धी परिवारकोे नजिक थियो ।

सचिनलाई ३४ वर्षको उमेरमा मनमोहन सिंह सरकारमा मन्त्री बनाइएको थियो । ज्योतिरादित्यको बर्हिगमन पछि सचिन बाँकी बचेका राहुलका नजिकका मित्र मानिन्थे ।

राजस्थानमा अहिले अशोक गोहलत मुख्यमन्त्री छन् । उनी प्रदेश राजनीतिमा निक्कै प्रभावशाली नेता मानिन्छन् । सचिन केन्द्रिय नेतृत्वको सहयोगमा गोहलतलाई हटाएर आफै मुख्यमन्त्री हुन चाहन्थे । तर सोनिया र प्रियंकाले सचिनको महत्वाकांक्षालाई अनुमोदन गरेनन् ।

कांग्रेसले बर्खास्त गरेसंगै पाइलट अन्यौलग्रस्त बनेका छन् । गोहलटले प्रदेश संसदीय दलको बैठक बसाई आफूप्रतिको समर्थनलाई दोहोर्‍याएका छन् । सचिनसँगको समर्थनमा मुश्किलले १३ भन्दा बढी विधायक नभएको बताइन्छ । उनले पार्टी छोडे पनि राजस्थानको सरकार नढल्ने भएको छ ।

सचिनले नयाँ पार्टी गठन गर्ने सम्भावना बढेको बताइन्छ । कांग्रेस छोडेका प्रभावशाली पूर्व कांग्रेसी नेतारु शरद पावर, ममता बेनर्जी, जगमोहन रेड्डीसँग अहिले उनको तुलना गरिंदैछ । पावरले महाराष्ट्रमा, बेनर्जीले पश्चिम बंगालमा र रेड्डीले उडिसामा कांग्रेस छोडेर पनि बलियो प्रादेशिक पार्टी बनाएका छन् ।

सचिनले अहिलेसम्म कुनै निर्णय लिएका छैनन् । तर, सचिनले कांग्रेस छोडेमा सिन्धियापछि त्यो अर्को ठूलो झड्का हुने विश्लेषकहरुको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय