scheduleमगलवार कार्तिक ४ गते, २०७७

मुख्यमन्त्रीले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

पोखरा, १ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । यसक्रममा उनले पिडीतलाई सान्त्वना दिनुका साथै प्रदेश सरकारले आवश्यक सहयाेग गर्ने प्रतिवद्धता जनाए ।

गत असार २९ गते सोमबार आएको बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा पुर्‍याएकाे क्षतिको बुधबार दिउँसोदेखि साँझसम्म स्थलगत निरीक्षण गरेका मुख्यमन्त्री गुरुङले पिडीतलाई सान्त्वना दिएका हुन् । बाढी तथा पहिरोले नगरपालिका वडा नं ६ रानीपानीगाउँका ३१, लामासोतीका २७, रातामाटेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घरपरिवार विस्थापित भएका छन् ।

त्यस्तै सोही नगरपालिका वडा नं ३ सूर्यपालका पाँच, वडा नं २ प्रजालुटारका तीन, वडा नं ४ चर्दीका एक र वडा नं १ खवासगाउँका एक घरपरिवार विस्थापित भएका छन् । सिमपानी, रानीपानी र काउरेका स्थानीयवासीलाई सो नगरपालिकाको वडा नं ६ भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै कसैलाई आफन्तको घर र कसैलाई कतै सुरक्षित स्थानमा राखिएको छ ।

यी सबै क्षत्रको स्थलगत निरीक्षण तथा पीडितहरुलाई भेट्दै मुख्यमन्त्री गुरुङले भने, “दुःखमा हुनुहन्छ तपाईँहरु, तपाईँसँगै दुःखमा हामी सबै छौँ, प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।” मुख्यमन्त्री गुरुङले आवश्यक प्रक्रिया मिलाएर अघि बढ्न नगरपालिका, वडा कार्यालयलगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

जनतालाई समस्या भएको बेला सरकारले हेरेर नबस्ने र घरजग्गा नभएकालाई बस्ने व्यवस्था तथा अन्य समस्या भएकाहरुको लागि समेत सरकारले सहयोग गर्ने गुरुङले बताए । त्यस्तै प्रदेशका विभिन्न जिल्लामा समेत बाढीपहिरोले क्षति बनाएको यी सबैको व्यवस्था गर्नका लागि दुई महिना समय लाग्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

सरकारी मापदण्ड नहुँदा बाढीपहिरोले गाउँगाउँका घरहरुमा बढी क्षति बनाएकाले दिगोरूपमा हुने गरी मापदण्डअनुसार घरहरु तथा बस्ती बसालेमा बाढीपहिरोको जोखिम न्यूनीकरण हुने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

त्यस्तै उनले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र बाढीपहिरो पीडितलाई राहत तथा पुनःस्थापना तदरुकताका साथ गर्नलाई कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन् ।

विभिन्‍न ठाउँका बाढीपहिराे पीडित एवम् विस्थापितहरुले मुख्यमन्त्रीसमक्ष आ-आफ्ना समस्या एवम् गुनासोहरु प्रस्तुत गर्दै अब प्रदेश सरकारकै सहयाेगकाे आशामा बसेकाे बताए । मुख्यमन्त्री गुरुङले सबैकाे समस्या छिट्टै समाधान गरिने आश्वासन दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay