scheduleबिहिवार आश्विन १५ गते, २०७७

ओली सत्य, बोली झुठ

रुद्रप्रसाद भट्ट

खड्गप्रसाद ओली नेपालको ४१ औं प्रधानमन्त्री हुन् । दुई तिहाईको नजिक रहेको कम्युनिष्ट सत्ताको बागडोर र पार्टीको कमाण्ड अहिले उनैले सम्हालेका छन् ।

२००८ साल फागुन ११ गते शनिवार तेह्रथुम जिल्लामा जन्मेका ओली हाल नेकपाको अध्यक्ष पनि हुन् । उनको बुबा मोहनप्रसाद ओली र माता मधु ओली तथा श्रीमती राधिका शाक्य हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त ओली झापा विद्रोहका कमाण्डर मध्येका एक र पञ्चायतकालमा १४ वर्ष जेल बसेका थिए । उनी भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गरेर हँसाउन, छकाउन र फकाउन सिपालु छन् ।

प्रधानमन्त्री केपी ओलीबारे माथि ९२ शब्दमा उल्लेख गरिएको कुरा सत्य मात्रै होईन, ध्रुवसत्य हो । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीबारे अन्य कुरा सत्य हो वा बनावटी भन्ने थाहा पाउन उनीसँगै कम्तिमा ४० वर्ष संगत गरेकालाई गाह्रो छ भने सामान्य नागरिकलाई त ‘तिरिमिरी’ नै भैहाल्छ । उनको कला भनेकै झुठलाई पनि सत्य जस्तै बनाएर झुठकै सहारामा आफ्नो कुर्सी र पद जोगाईराख्न सक्नु हो । जुन यतिबेला उनको पार्टीको चुनाव चिन्ह ‘सूर्य’ जस्तै छर्लङ्ग छ ।

नेपालीमा एउटा उखान छ ‘कुरा गर्‍यो कुरैको दुःख’ । यतिबेला प्रधानमन्त्री केपी ओलीका बारेमा बोल्नु वा लेख्नु ठ्याक्कै यस्तै हो । कारण उनको कुन कुरा सहि हो भनेर बोल्ने र कुन् कुरा ठीक वा साँचो हो भनेर लेख्ने ? कहिलेकाँही त लाग्छ ओलीका बोली बारे बहस नै नगरौं । तर, फेरी सोच्यो होईन ओली छन् र त देश छ, देश छ र त म अनी हामी छौं !

गणतन्त्रको लागि भएको आन्दोलनलाई ‘बयलगाढा’ भन्ने ओली नै हुन्, जनयुद्धलाई मान्छे काट्ने हत्या भन्ने ओली नै हुन्, माओवादीलाई माकाफुईं, ठेट्ना र हत्यारा भन्ने ओली नै हुन् । बाँचेका प्रचण्डलाई भारतीय दलाल करार गर्ने अनि मरिसकेका बिपी कोईरालालाई अहिलेसम्म बाँचेको भए एमाले हुन्थे भनेर मरिसकेको मान्छेको समेत भविष्यवाणी गर्न सक्ने अद्भूत कला भएको मान्छे उनै खड्गप्रसाद ओली नै हुन् ।

रुद्रप्रसाद भट्ट

गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’लाई गोली लाग्दा हस्पिटल भेट्न जाने उनै हुन् । अनि प्रहरी ईन्काउण्टरमा मारिएपछि ‘चरी’ चिन्दिन भन्ने पनि ओली कमरेड नै हुन् । सायद यस्तो अद्भूत कला कुनैपनि फिल्मी कलाकारको अभिनय कलामा समेत पाईंदैन ।

पाईपबाट घरमै ग्याँस, बेरोजगारको हातैमा क्याँस, महासागरमा आफ्नै पानीजहाज, काठमाण्डौंमा मेट्रो रेल र स्वदेशमै डिजेल र पेट्रोल खन्छु भन्ने पनि ओली नै हुन् । भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर भ्रष्टाचार आरोपीलाई घरमै पाल्ने पनि उनै, विवादमा आईरहने नेपाली सेनादेखि यति ग्रुप,ओम्नी ग्रुपलाई ठेक्का मिलाईरहने पनि ओली नै हुन् ।

टेलिभिजनमा अन्तर्वार्ता दिँदा रेकर्ड गरेर राख्नुस् र दुई वर्षपछि मलाई बोलाएर सोध्नुस् भनेर हाक्काहाक्की झुठ बोल्न सक्ने र अहिले पनि देश विकास र समृद्धिको दिशामा अगाडि बढेको देखेर रिस र डाहा गर्नेहरु बढे भन्ने उनै कमरेड ओली नै हुन् ।

पार्टीको बैठकमा अस्वस्थ देखिने र बस्न सक्तिनँ भन्ने तर शीतलनिवास पुगिहाल्ने पनि कमरेड ओली नै हुन् । अनि छिमेकीसँग रुखो बोलेर दुई कौडीको भारतीय मिडियासँग लौ आईज भनेर सवालजवाफ गर्ने पनि ओली ।

आफ्नै नेताहरु भारतसँग मिलेर प्रधानमन्त्री खोस्न लागे भनेर चिच्याउने पनि ओली । चिनीयाँ राजदूतको शरण परेर सरकार र पार्टीको कुर्सी जोगाईदिनपर्‍यो भन्ने पनि ओली ।

कोरोनाले कोही मरेको छैन, लकडाउनमा कोही भोकै छैन भन्ने वचन दिने ओली अनि कोरोनाको औषधि बेसार पानी नै हो भनेर प्रवचन दिने पनि ओली ।

लाग्छ- ओलीलाई आफ्नो घोषित जिम्मेवारीबाहेक सबै कुरा थाहा छ । उनी बहुप्रतिभाशाली छन् तर बिडम्बना उनलाई कुशलतापूर्वक पार्टी र देशलाई कसरी चलाउने भन्ने चाहिँ ज्ञान छैन ।

यस्ता कुरा दाबाका साथ भन्नसक्ने एक मात्र नेपाली धर्तीपुत्र कमरेड ओलीको शासनमा सस्तो रासन खाएर समानताको गीत गाउन पाउने हामी भाग्यमानी नभए अरु को होला ?

अझै भयानक बन्दै गरेको कोरोना संक्रमण, सडक आन्दोलन, भ्रष्टाचार, बेथिती, बेरोजगारी समस्या, विदेशमा अलपत्र लाखौंं नेपालीको कुनै चिन्ता नभएका प्रधानमन्त्रीले यतिबेला कुर्सी जोगाउन असत्य र झुठको सहारा लिनु चाहिँ अर्को रोचक पक्ष हो ।

कालापानी, लिप्पुलेक र लिम्पियाधुरा समेतको नक्सा छापेर राष्ट्रवादी देखिन खोजेका ओलीले सुस्ता र टनकपुर छाडेर अहिले अयोध्याको खोजी गरिरहेका छन् । गौतम बुद्ध भारतमा जन्मिएको भनेर भारतले दाबी गरेजस्तै सगरमाथा चीनमा पर्दछ भनेर चीनले सिधै अन्तराष्ट्रसम्म हल्ला गरीसक्दा राष्ट्रवादी कमरेड ओली भने बुद्ध होईन रामको जन्मभूमीको खोजी गर्दैछन् ।

राज्य सञ्चालनको हिसाबले धेरै ठाउँमा चुकेका प्रधानमन्त्री ओली देशमा उत्पन्न स्वास्थ्य संकटको बेला पनि कहिले पार्टी फुटाउने अध्यादेश ल्याउने, कहिले वामदेवलाई प्रधानमन्त्री बनाउने, कहिले माधवलाई पार्टी महाधिवेशनमा सघाउने र प्रचण्डलाई पार्टी छोडेर जानेसम्मको कुरा गर्छन् किन ?

थरी–थरीका उखान टुक्का र ठट्यौलीमा चिप्लो कुरा गर्ने ओलीको जन्म, नाम, ठेगाना र पार्टी बाहेक जनताको अगाडि गरेका वाचा, पार्टी नफुटाउने भनेर खाएको कसम र विकास गर्छु भनेर दिएको आश्वासन सबै झुठ र असत्य भएको करीब करीब प्रमाणित भैसकेको छ ।

यसर्थ, प्रधानमन्त्री ओली बेला–बेला रिसाउने, झन्किने, आक्रोशमा आउने र बेतुकको कुरा गर्ने गरिरहन्छन किन ? यसको सोझो अर्थ हुन्छ आफुले भनेको जस्तो नहुनु वा समय र परिस्थिती आफ्नो प्रतिकुल बन्दै जानु ।

प्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसम्म बाट राजीनामा दिनुस् भन्दै दैनिक प्रचण्ड–नेपालको अघोषित बालुवाटार धर्ना, पार्टी स्थायी कमिटी बैठकमा अल्पमतको डरले उपस्थित भएर बोल्न नसक्नु र आफ्नै पूर्व सहकर्मी सहित पूर्व माओवादी पक्षको घेराबन्दीले उनको क्षमतामा दिनानुदिन ह्रास आईरहेको छ ।

उमेरले ७० पुग्न थालेका ओली लामो समयदेखि बिरामी अवस्थामा पनि छन् । दुईपटक मृगौला प्रत्यारोपण गरेका कारण दौडधुप र तनाव भन्दा आरामको जरुरी छ भन्नेकुरा उनको बेला–बेला आउने बेतुक र बेढंगको कुराले प्रमाणित गर्दछ ।

त्यसैले ओली साँच्चै ओली नै हुन् भन्ने सत्य र ओलीको बोली झुठ नै हो भन्ने तितो सत्यबाट सबै सचेत भैसकेको अवस्थामा प्रधानमन्त्रीबाट ओली कमरेडको सम्मानजनक बिदाई गर्न ढिलो नगरौं । जय देश !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय