scheduleसोमवार श्रावण १९ गते, २०७७

अझै ‘कोइराला’हरुकै भरमा ‘कांग्रेसी’हरु

साझापोस्ट टिप्पणी

काठमाडौं, २ साउन । कोरोना लकडाउनको अप्ठ्यारोबीच भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशन ‘नरोक्ने’ पूर्वनिर्धारित समय तालिकाअनुसार २०७७ फाल्गुन भित्रै गर्ने निर्णय गरेको छ । त्यसो त यो महाधिवेशन अझै सुनिश्चित र असंदिग्ध भने छैन । महाधिवेशन निर्धारित समयमै हुने नहुने कुरा दशैं-तिहारपछिको स्थितिले निर्धारित गर्न सक्छ ।

कोभिड–१९ को महाव्याधि दक्षिण एशियामा अन्यत्रको तुलनामा ढिलो फैलियो । तर, यो अहिले अत्यन्त छिटोछिटो संक्रमित भइरहेको छ । भारतको स्थिति निरन्तर खराब हुँदै गइरहेको छ । लामो खुल्ला सीमा जतिसुकै कडाई गरे पनि प्रत्यक्ष/परोक्ष प्रभाव परिहाल्छ । बाक्लो पारिवारिक सम्बन्ध, भारत आइजार्ई गरिरहने नेपालीको ठूलो संख्या र आयातनिर्यातमा प्रयोग हुने परिवहनको अपरिहार्यताले नेपाल उच्च जोखिममा छ । नेपालभित्रै स्थिति सन्तोषजनक छैन ।

कोरोनाले आवागमनलाई अत्यन्तै संकुचन गर्दिएको छ । मानवीय क्रियाकलापहरुको सीमितिकरण विश्व लोकतन्त्र कै लागि ठूलो चुनौति हो । लोकतन्त्रले निरन्तर सक्रियता, संवाद र संस्थागत प्रक्रियाको माग गर्दछ । संकुचित वातावरणमा यस्ता कार्यहरु जारी राख्न सजिलो हुँदैन ।

तसर्थ कोरोनाको संक्रमण जति धेरै हुन्छ, लोकतन्त्र उत्तिनै संकटमा पर्दै जाने छ । लोकतान्त्रिक प्रक्रिया कमजोर हुनेछन् । त्यस्तो अवस्था अलोकतान्त्रिक, निरंकुश, अधिनायकवादी तथा सर्वसत्तावादी शासकका लागि राम्रो निहुँ बन्न सक्दछ ।

कोरोना महामारीकै बीच दक्षिण कोरिया, मंगोलिया, सिंगापुरलगायत केही देशले आम संसदीय निर्वाचन सम्पन्न गरेर विश्व लोकतन्त्रका लागि सकारात्मक सन्देश दिएका छन् । अमेरिकामा डेमोक्र्याटिक प्राइमर हुँदा कोरोना सल्किसकेको थियो । त्यहाँ आगामी नोबम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन प्रक्रिया जारी छ । महाधिवेशन नरोक्ने निर्णय गरेर कांग्रेसले संकटमा पनि लोकतन्त्रप्रतिको निष्ठाबाट च्यूत नहुने सन्देश दिएको छ । यो निक्कै राम्रो कुरा हो ।

अहिले पार्टीहरुभित्र आन्तरिक लोकतन्त्र मर्माहत भइरहेको छ । देशकै ठूलो र सत्तारुढ दल नेकपाभित्रको विवादले कुनै लोकतान्त्रिक पद्धति अबलम्बन गर्न सकेको छैन । प्रथमतः बैठक बोलाउनै आनाकानी गर्नु, बोलाएको स्थायी समिति बैठक बारम्बार स्थगन हुनु, कमिटी प्रणालीले संस्थागत निर्णय गर्न नपाउनुु, केन्द्रीय समिति नाम मात्रको हुनु, महाधिवेशन अनिश्चित हुनु लोकतान्त्रिक देशको लोकतान्त्रिक भनिन चाहने पार्टीभित्रको स्वास्थ्य जीवन हैन ।

सत्तारुढ नेकपामा मात्र हैन, अन्य दलहरुमा पनि अन्तर्पार्टी लोकतन्त्र यतिखेर सवल छैन । तेस्रो ठूलो दल जसपामा नेकपाकै जस्तो दुई अध्यक्ष छन् । त्यहाँ निर्णायाधिकार संस्थागत भन्दा ८ नेताहरुको समूहमा पुगेको छ । केन्द्रीय समितिको हैसियत र अभ्यास पक्षघात भएको छ । राप्रपाका ३ अध्यक्ष छन् ।

महाधिवेशनको प्रक्रियाबारे त्यहाँ कुनै चर्चा छैन । यहाँसम्म कि ‘अन्तर्पार्टी लोकतन्त्रलाई नयाँ र वैकल्पिक पार्टी निर्माणको एक महत्वपूर्ण सवाल’ ठान्ने साझा र विवेकशीलजस्ता दलमा समेत यो बिषय सन्तोषजनक छैन । यो परिदृष्यमा विभिन्न कमीकमजोरीका बाबजुद नेपाली कांग्रेस नै ‘तै अत्थवा’ देखिएको छ ।

करिब दुईतिहाईको बहुमतसहित सरकार बनाएको नेकपाको ओली सरकार एकपछि अर्को फण्डा, असफलता र अनियमितामा फस्दै गएको अवस्थामा फेरि मान्छेले कांग्रेस सम्झिन थालेका छन् । कांग्रेस ‘धेरै राम्रो’ भएर हैन, ‘कांग्रेस जत्तिको पनि अरु नभएर’ कांग्रेस सम्झिने क्रम बढेको अनुमान गर्न गाह्रो छैन । नेपाली कांग्रेसका हजार दूर्वलताहरु होलान्, तर प्रतिस्थापन गर्ने शक्तिको अभाव भइरहेको अवस्थामा कांग्रेसप्रतिका अपेक्षा स्वतः बृद्धि हुन्छ ।

नेकपा असफल भए को त ? भन्ने प्रश्नमा धेरैले ‘फेरि कांग्रेस आउला’ भन्दछन् । कांग्रेस र कम्युनिष्टको विकल्प चाहनेहरुले यो मनोविज्ञानलाई तोड्न अझै धेरै मेहनत गर्न जरुरी हुन्छ । कांग्रेसको सबैभन्दा ठूलो ‘स्ट्रेन्थ’ नै अहिलेको सहज विकल्प मानिनु हो । तर, कांग्रेस आए पनि के, फेरि देउवा दोहोरिने हुन्, ओली र देउवाको सोच, क्षमता र शैलीमा के त्यस्तो भिन्नता छ ? भन्ने प्रश्न उठाएर निरास हुनेहरु पनि उत्तिकै देखिन्छन् ।

यो निराशा कांग्रेसमा भावी नेतृत्व कस्तो आउला ? भन्ने प्रश्नसँग जोडिन्छ । आन्तरिक किचलो र अन्तर्घातमा कांग्रेस नेकपाभन्दा कम बदनाम पार्टी हैन । २०४६ पछिको पहिलो आमनिर्वाचनमा नै कोइराला खेमाले किशुनजीमाथि गरेको अन्तर्घातबाट कांग्रेसको अधपतन र दुर्भाग्य शुरुवात भएको थियो । पछि त्यो ‘३६ से’ र ‘७४ रे’ मा बद्लियो । कांग्रेसको अन्तसंघर्षमा अहिलेसम्म त्यसैको विरासत चलिरहेको छ ।

गत महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल यिनै दुई गुटका नेता र उम्मेदवार मानिएका थिए । कृष्ण सिटौला र गगन थापाले फरक प्यानल खडा गरेर त्यसअघिका भीमबहादुर तामाङ र नरहरी आचार्यको परम्परालाई अलिक बलियो गरी धाने तर सफल हुन सकेनन् । कांग्रेसमा तेस्रो धार आउने महाधिवेशनमा नै विजयी होला भन्ने आशा अहिले पनि धेरैको कल्पनाभन्दा बाहिर छ ।

तर परम्परागत दुई धारभित्रको समीकरण कस्तो बन्ला ? यो प्रश्नमा धेरैको रुचि छ । अहिलेको कांग्रेसभित्र देउवा पक्षलाई संस्थापन मान्ने हो भने रामचन्द्र पौडेलको क्षमतास्तर, बुता र योग्यताले त्यसलाई पराजित गर्न सक्ने सम्भावना न्यून छ । पौडेलको पुँजी भनेकै निरन्तरता वा कांग्रेसप्रतिको अविछिन्न निष्ठा हो । त्यसबाहेक उनी न राम्रा वक्ता हुन्, न राम्रा लेखक हुन् न राम्रा क्याम्पेनर हुन् न देउवाझैंं राम्रा गुट व्यवस्थापक हुन् ।

पौडेलको व्यक्तित्वमा टिकेर कांग्रेसले आगामी निर्वाचनमा नेकपालाई चुनौैति देला र बहुमत ल्याउला भन्ने विश्वास गर्ने पंक्ति देशमा एकदमै सानो छ । अल्पमत समूहबाट पौडेलले सभापतिकोे उम्मेदवारीलाई निरन्तरता दिए फेरि देउवाले जित्न सक्ने ठानिन्छ । त्यसको ठाउँमा महामन्त्री शंशाक कोइराला उम्मेद्वार हुने हो भने सम्भावनाको मात्र बढ्छ तर निश्चित भने हुँदैन ।

कांग्रेसमा देउवाको नेतृत्व प्रतिस्थापन गर्ने सबैभन्दा सजिलो उपाय दोस्रो र तेस्रो खेमाले गठबन्धन गर्नु नै हो । दोस्रो खेमाबाट कोही ‘कोइराला’ र तेस्रो खेमाबाट गगन थापाको सेट बन्यो भने देउवा पक्षको हार लगभग निश्चित हुने कांग्रेसभित्रको गणित जान्नेहरु अनुमान लगाउँदछन् । तर यस्तो सेट केवल महाधिवेशन प्रयोजनका लागि प्राविधिक मात्र नभएर वैचारिक तथा एजेण्डागत पुनर्भाष्यमा आधारित हुन जरुरी छ । सुशील कोइरालामा ‘कोइरालाको रंग’ गिरिजाबाबुको जस्तो बलियो थिएन । तथापि देउवा उनीसँग पराजित भएका थिए ।

तर अब ‘कोइरालाका लागि कोइराला’ उपस्थित भएर कांग्रेसको आन्तरिक समीकरण परिवर्तन हुन सजिलो हुँदैन । पाँचपटक प्रधानमन्त्री हुने आफ्ना प्रिय ज्योतिषको भविष्यवाणीलाई देउवाले सजिलै बिर्सिन सक्दैनन् । उनले यस बीचमा कांग्रेस–सत्ताभित्रको पकड निक्कै बलियो बनाएका छन् । तर, एजेण्डा र बुतासहितको ‘कोइराला’ भने देउवामाथि भार पर्न सक्दछ ।

दक्षिण एशियाली राजनीतिमा पारिवारिक विरासतको राजनीति अझै जीवन्त छ । विश्वका अरु क्षेत्रमा पनि होला तर यहाँ सबैभन्दा धेरै छ । भारतको गान्धी–नेहरु परिवार मात्र त्यसको उदाहरण हैन, त्यहाँ त्यस्ता कयौं छोटे राजा, राजकुमार र राजकुमारीहरु छन । ज्यातिरादित्य सिन्धिया अझै आफूलाई ‘महाराज’ ठान्दछन् । मुलायम सिंह यादवका अखिलेश, लालु यादवका तेजस्वी, राजशेखर रेड्डीमा जगमोहन आदि त्यसैका बिम्ब र प्रतिक हुन् । भारत मात्र हैन, बंगलादेश, पाकिस्तान वा श्रीलंका पनि यसबाट मुक्त छैनन् ।

विरासतको राजनीति राम्रो हो वा नराम्रो हो, त्यसको बहस आफ्नो ठाउँमा छ । तर, कांग्रेसमा कोइरालाहरुका लागि त्यो स्पेश अझै बाँकी छ । गत महाधिवेशनमा शशांक त्यसैका प्रमाण थिए । अहिले उपलब्ध ‘तीन कोइराला’हरु मध्ये मानिसहरु ध्यान भने शेखरले खिचेका छन्, कांग्रसभित्र के छ ? त्यो भिन्नै कुरा हो ।

सुजाता लगभग परिदृष्यबाट हराएकी छन् । शशांक र शेखरबीचको छनौट केवल दुई कोइरालामध्ये एक कोइरालाको छनौट मात्र नभएर दुरगामी प्रकृतिको हुने देखिन्छ ।

त्यसको कारण उनीहरुको अडान, वैचारिकी र गत्यात्मकताको भिन्नता नै हो । शशांकले केही समय कांभ्रेसभित्र हिन्दू राष्ट्रको पक्षमा माहोल बनाउने खुमबहादुर खड्का लाइनमा हिडे । अहिले पछि हटे पनि उनको आत्म कहाँ हो भन्ने मान्छेले बुुझे । शेखरका अडानहरु तुलनात्मक रुपमा बढी प्रगतिशील र उदार देखिन्छन् ।

शशांकको भन्दा वक्ता र बौद्धिक व्यक्तित्व पनि उनमै प्रखर छ । खुलेर भन्न सक्दछन् वा सक्दैनन भिन्नै कुरा तर देउवा इतर धेरै कांग्रेसीहरु आगामी महाधिवेशनमा शेखर–गगनको जोडी बनोस् भन्ने चाहन्छन् ।

विरासतको राजनीतिले मात्र कुनै दल दीर्घजिवी हुन सक्दैन । भारतमा राष्ट्रिय कांग्रेस आज त्यही विरासतले थला परेको छ । सोनिया, राहुल र प्रियंकाले जति सजिलै पार्टीसत्ता प्राप्त गरे, त्यसलाई धान्न उनीहरुलाई त्यति नै गाह्रो परिरहेको छ । राजनीतिमा ‘पाउन’ भन्दा ‘जोगाउन’ धेरै चर्को हुन्छ । राजा ज्ञानेन्द्र राम्रा उदाहरण छन् । उनले ‘पाए’ तर ‘जोगाउन’ सकेनन् ।

नेपालमा पनि कोइरालाहरुप्रतिको मोह युगौं रहँदैन । शशांक–शेखरपछि त्यस्तो कुनै व्यक्तित्व दृष्यमा देखिएको पनि छैन । तर, अहिले भने ‘कांग्रेसी हरुले अझै ‘कोइराला’ कै भर गरेका छन् । अन्यथा कांग्रेस फेरि एकपटक देउबाकै हातमा जाने छ । देउवा नेतृत्वको कांग्रेसलाई जनताले ओली नेतृत्वको नेकपाभन्दा गतिलो ठान्ने संभावना निक्कै कम छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय