scheduleआइतवार आश्विन ४ गते, २०७७

मोदीले ‘बुद्ध हाम्रो’ भन्न हुने ओलीले ‘राम हाम्रो’ भन्न नहुने !

डम्बर खतिवडा

प्रिय पाठक ! नियमित स्तम्भ लेख्न सजिलो छैन । त्यसको अनुभूति मलाई पहिलेदेखि नै थियो तर ‘अग्रलेख’ ले झनै गाढा बनाइदियो । नियमित स्तम्भ लेख्न समय र लगनशीलताको मात्र हैन, कुनैकुनै हप्ता विषयवस्तुको समेत अभाव हुन्छ ।

हाम्रो पाठकीय वृत्त र पठन संस्कृति आफ्नै प्रकारको छ । चर्चामा नरहेका सुषुप्त विषय चाहे, ती जति नै गुरु–गम्भीर किन नहुन्, हामी विरलै ध्यान दिन्छौं । मान्छेले बिल्कुलै ध्यान नदिने बिषयमा घन्टौं घोरिएर केही पेज तयार गर्नु त्यसै पनि आकर्षक काम हैन ।

तर, चर्चामा भएका विषयमा लेख्नुको जोखिम पनि कम छैन । त्यसले मानिसको ध्यान मात्र तान्दैन, तुरुन्तै यो वा त्यो पक्षमा ध्रुवीकरण प्रारम्भ भइहाल्छ । यो वा त्यो शब्द वा अर्थमा एकअर्कालाई आरोप लगाउनु र आफूलाई श्रेष्ठ देखाउनु हाम्रो मनोदशा मात्र हैन, संस्कृति बन्दै गइरहेको छ ।

एउटा युग थियो– पठनको अर्थ ‘ग्रन्थ’ हुन्थ्यो । विस्तारै हामी ‘किताब’ पढ्न थाल्यौं । किताब छोडेर ‘लेख’ पढ्न थाल्यौं । अहिले ‘स्टाटस’ वा ‘ट्वीट’ पढ्छौं । आज हाम्रो ज्ञानको स्रोत र विज्ञताको सीमा ‘स्टाटस’ वा ‘ट्वीट’ भएको छ ।

म अझै लामा लेख लेख्ने मान्छेमा पर्छु । सम्पादकहरुको भनाई हुन्छ– किन समय र मेहनत बर्बाद गर्नु हुन्छ ? मुश्किलले दुई पेज लेख्नुस् ? मान्छे त्यही चाहन्छन् । मान्छेले जे चाहन्छन्, त्यही आपूर्ति गर्ने हो । पाठक त्यसरी नै बढ्छन् । भ्युअर त्यसरी नै बढ्छन् । अझ भाषा पनि सकेसम्म सरलीकृत गर्नुस् ।

मलाई लाग्छ– यी सोच सूचना– वस्तु (इन्फर्मेसन इज कम्मोडिटी) को अवधारणाबाट प्रभावित छन् । लेखन अब बौद्धिक विषय रहेन । खोज, अनुसन्धान वा सकारात्मक पठनको बिषय रहेन । भाषिक गहिराई, साहित्यिक लालित्य र सत्य अन्वेषणको माध्यम रहेन । लेखन अब विस्तारै बहस वा विमर्शबाट पनि च्युत हुँदैछ र ‘फण्डा’ को विषय बन्दैछ । ध्रुवीकरणमा आफ्नो ‘साइड प्रष्ट गर्ने’ माध्यम बन्दै गइरहेको छ ।

यहीनेर आएर लेखन र राजनीतिको स्वार्थ भेट हुन्छ । पपुलिष्ट राजनीतिज्ञहरुलाई ‘फण्डा’ चाहिएको छ । पाठक वा भ्युअर बढाउन मिडियालाई ‘फण्डा’ चाहिएको छ । यो वा त्यो कोणबाट आरोप र प्रतिरक्षा गर्न पार्टीका कार्यकर्ता र समर्थकलाई ‘फण्डा’ चाहिएको छ । मनोरन्जन हासिल गर्न पाठक र स्रोतालाई ‘फण्डा’ चाहिएको छ । ‘फण्डा’ को यो खेलमा ‘सार्वभौम नागरिक’ र ‘सत्य’ हराएको छ । मानवताको भावना र दीर्घकालीन सोच हराएको छ । अरु सबैलाई ‘फण्डा’ ले जीवन्त राख्न सक्दछ ।

धन्न ! यस मानेमा प्रधानमन्त्री केपी शर्मा ओली गुनिला छन् । उनी ‘गफ हानेको हैन’ भन्दै ‘गफ हान्न’ सक्दछन् । बहस भनौं वा फण्डा हरेक हप्ता उनले कुनै सुषुप्त बिषयलाई चर्चामा तानिदिन्छन् । कतिपय देशमा त ‘न्यूज मेकर’ को अभिलेख नै राखिन्छ । कस्का अभिव्यक्ति वा क्रियाकलापले मिडियाले मसला पाए, उनीहरुलाई वर्षको अन्त्यमा सम्मानित गर्ने प्रचलन हुन्छ । नेपालमा पनि यो प्रचलन हुँदो त यस्तो पुरस्कार बारम्बार प्रम ओलीले जित्ने कुरामा कुनै शंका छैन ।

यो हप्ता उनले एकाएक ‘रामजन्मभूमि र अयोध्या’ को मामिला चर्चामा ल्याई दिए । कुनै अध्येयताले यो मामिलालाई यति चर्चामा ल्याउन सायद वर्षौवर्ष तपस्या गर्नु पर्थ्यो । खास हैसियतमा रहेका र सुनिने राजनीतिज्ञ हुनु राजनीतिक ‘ग्लेमर’ ले सृजना गर्ने मूल्यवान अभौतिक सम्पति (इन्टेन्जिवलएसेट) सरह हो । त्यो एसेट अहिले ओलीसँग छ ।

कोराना भाइरसले सृजना गरेका बहुआयामिक संकटबीच थियौं हामी । कोरानाको वैश्विक महाव्याधीले सृजना गरेको स्वास्थ्य, आर्थिक, मानवीय र राजनीतिक संकट त छँदै थियो, थप भूराजनीतिक संकट समेत पेचिलो हुँदै थियो । यही परिप्रेक्ष्यमा उनले ‘सीता भारतलाई दिएको हैन, अयोध्याको रामलाई दिएको हो तर राम वीरगञ्ज पूर्वको अयोध्यापुरीमा जन्मिएका थिए’ भन्दिए ।

यदि उनी प्रधानमन्त्री पदमा हुने थिएनन् भने यो भनाई ‘रत्नपार्कमा मुकुन्देको भाषण’ भन्दा बढी ओजिलो हुने थिएन । अहिले ओलीको पक्षमा सकीनसकी पैरवी गरिरहेकाहरु यही कुरा मुकुन्देको मुखबाट सुन्थे भने सायद आफै फिस्स हाँस्थे र आ-आफ्नो बाटो लाग्थे । तर, ओलीले बोलेपछि रफ्फु मास्टरहरुको एक जमात त हुने नै भयो । यो ओलीको बिशेष गुण वा क्षमता हैन, सत्ताको सार्वभौम र सर्वकालीक चरित्र हो ।

मानिस आशाको अनन्त त्यान्द्रोले तानिएको प्राणी हो । ओलीको बोलीमा लोली मिलाउनेहरु सबै रफ्फु माष्टर मात्र हैनन, त्यहाँ आशामुखीहरुको ठूलो भीड पनि छ । कतिपयलाई साँच्चै चितवन माडीको अयोध्यापुरी नै प्राचीन अयोध्या पुष्टि हुने र ह्वारह्वार पर्यटक आउने आशा जागेको हुन सक्दछ । नेपालमा एउटा अर्को विश्वस्तरको धार्मिक पर्यटनको गन्तव्य बन्छ भने के नराम्रो भो त ? राम जहाँसुकै जन्मेका हुन्, छु मतलब तर रामको नाममा मानिस नेपाल आउने माहौल ओलीले बनाउँछन् भने उनलाई किन हतोत्साहित गर्ने ?

यो आशा यस्तो बेला मान्छेको मनमा जागेको छ कि कोरोनाले पर्यटन भन्ने उद्योग र व्यवसायलाई नै स्वात्तै निलिदिएको छ । ठमेल क्षेत्रबाट करिब ६ सय पर्यटन व्यवसायी घरभाडा तिर्न नसकेर अफिस छोडेर बाहिरिएका छन् । हामीसँग अहिले जेजति निर्विवाद पर्यटकीय गन्तव्यहरु छन्, तिनै सम्हाल्न सकेको भए देशको मुहार अर्कै हुन्थ्यो ।

सीता र राम ऐतिहासिक पात्र हैनन्, पौराणिक पात्र हुन् । नेपालको प्रमाणिक इतिहास लिच्छवी राजा मानदेवदेखि यता अर्थात् करिब १५०० वर्षको मात्र छ । रामायण कम्तीमा ३५०० वर्ष अघिको हुन सक्ने विश्वास गरिन्छ । पौराणिक पात्रहरुमाथिको बहस ‘राजनीतिक’ हुँदैन, ‘पुरातात्विक’ हुन्छ । अझ पुरातात्विक पनि नभएर ‘श्रुतीविज्ञानीय’ (मिथोलजिकल) हुन्छ । पुरातात्विक अध्ययनको प्राज्ञिक प्रक्रिया आफ्नै प्रकारको हुन्छ ।

पुरातात्विक अध्ययन गर्ने मान्यताप्राप्त राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरु हुन्छन् । उनीहरुको अनुसन्धानमा राज्यले सहयोग गर्न सक्दछ । कुनै परियोजना बनाएर त्यो काममा लगाउन सकिन्छ । कपिलवस्तुको लुम्बिनी आफैं पत्ता लागेको थिएन । त्यसमाथि लामो रिसर्च, पुरातात्विक अध्ययन र उत्खनन समेत गरिएको थियो । विशेषतः अशोक स्तम्भ र मायादेवीको मन्दिर भेटिएपछि त्यो लुम्बिनी भएको पुष्टि गरिएको थियो । अन्ततः संसारले त्यसलाई स्वीकार गरेको छ ।

‘बुद्ध हाम्रो’ भनेर दाबी गरे भनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल आउँदा नेपालकै संसदभित्र बुद्ध लुम्बिनीमा जन्मिएको स्वीकार गर्दै बोलेकै हुन् र संसदमा भएका कमरेड गैरकमरेड सबै सांसदहरुले जोडजोडले टेबल ठटाएकै हुन् ।

चितवन माडीको अयोध्यापुरी गाउँ रामायणमा वर्णित अयोध्या हुन सक्छ भन्न नपाइने हैन । यसमाथि पुरातात्विक अध्ययन र आवश्यक उत्खनन हुनु पर्दछ । संस्कृति मन्त्रालयले पुरातत्व विभागलाई योजना र बजेटसहितको निर्देशन गर्न सक्दछ । यो प्रम ओलीको कार्यक्षेत्र भित्रकै कुरा हो ।

देशको प्रधानमन्त्रीले संस्कृति मन्त्रालय अन्तर्गतको पुरातत्व विभाग वा कुनै विश्वविद्यालयको संस्कृति विभागलाई निर्देश गरी यो काम गराउनु अति उत्तम हो । बितेको करिब ३ वर्षमा ओलीले त्यस्तो निर्देशन गरेको कुनै खबर छैन । भरपर्दो प्रमाण र तथ्यांक संकलन भएपछि औपचारिक तवरले विश्वसमुदाय सामु प्रस्तावित गर्न सकिन्छ । युनेस्को जस्ता संस्थाले यस काममा सघाउन सक्दछन् ।

डम्बर खतिवडा

मानौं कि चितवनको ‘अयोध्यापुरी’ नै प्राचीन ‘अयोध्यानगर’ हो भन्ने पुष्टि भयो, त्यो नेपालका लागि मात्र हैन, संसारकै लागि खुशीको कुरा हुनेछ । सत्यमाथि कुनै देशको एकाधिकार हुँदैन । सत्य कुनै देशको हुँदैन । सत्य विश्वव्यापी हुन्छ । मानौं कि अयोध्यापुरी अयोध्यानगर हैन, त्यो हो चाहिँ के त ? केही त होला ? त्यो पुष्टि हुन्छ । यदि योजनावद्ध अनुसन्धान गर्ने हो भने दुवै हातमा लड्डु हुन्छ । यो सुल्टो बाटो हो ।

तर, धार्मिक आस्था, सांस्कृतिक मान्यता र पुरातात्विक महत्वको बिषयमा बिना तयारी हतारोमा बोल्नु, त्यो पनि भूराजनीतिक जटिलता बढिरहेका बेला, त्यो प्रधानमन्त्रीजस्तो पदका लागि परिपक्क प्रक्रिया हैन । जसरी ‘बुद्ध नेपालमा जन्मिएका हैनन्’ भन्दा हामीलाई सहन निक्कै गाह्रो हुन्छ, त्यसैगरी ‘अयोध्या भारतमा छैन’ भन्दा सायद भारतीयलाई पनि सहन उत्तिकै गाह्रो हुन्छ । तर, त्यही कुरा प्रमाणसहित भन्ने हो भने त्यसको भिन्नै अर्थ र औचित्य हुन्छ ।

लोकमणि पौडेललगायत केही अध्ययेताहरुले चितवन माडीको अयोध्यापुरीबारे केही अनुसन्धान गरेको भन्ने सुन्नमा आएको छ । त्यो कति प्रामाणिक वा आधिकारिक छ, त्यसलाई अझ सघन बहस र सम्परीक्षणमा लानुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीको दाबी तिनै लोकमणी पौडेलको अध्ययनमा आधारित हो वा ओली आफैंको कुनै अध्ययन छ वा उनले सामान्य ब्रह्मचेतको कारण स्वस्फूर्त ज्ञानमा आधारित भएर त्यसो भनेका हुन्, यी उनैले प्रष्ट पार्नु पर्ने कुरा हुन् ।

रामजन्मभूमि विवाद र अयोध्याको प्रश्न भूराजनीतिक जटिलताको गम्भीर पक्ष हुन सक्दछ भन्ने ज्ञान प्रम ओलीमा छैन वा थिएन भने त्यो दूर्भाग्य हो । भारतमा अहिले भारतीय जनता पार्टीको सरकार छ । यो पार्टीको एक महत्वपुर्ण मुद्दा हिन्दुत्व, रामजन्मभूमि र अयोध्या हो । यही मुद्दामा त्यहाँ २ हजार बढीले ज्यान गुमाइसकेका छन् । जसरी ओलीको पार्टीको औपचारिक अभिवादन ‘लाल सलाम’ हो त्यसरी नै मोदीको पार्टीको औपचारिक अभिवादन ‘जय श्रीराम’ हो ।

‘लाल सलाम’ भन्नेहरुलाई कार्ल मार्क्स वा जेनीबारे कुनै अप्रामाणित कुरा बोल्दा जति रिस उठ्छ ‘जय श्रीराम’ भन्नेहरुलाई राम वा सीताबारे कुनै अप्रामाणिक कुरा बोल्दा त्यस्तै रिस उठ्न सक्दछ । रिसाए रिसाउन् न त ती भारतीयहरु भन्न नपाइने हैन । तर, जथाभावी मान्छेहरुलाई घोच्दै र रिसाउने बनाउँदै हिंड्नु पनि कुनै बहादुरी वा पराक्रम त हैन होला ?

मोदी जनकपुर आएको धेरै भएको छैन । त्यतिखेर ओली पनि उस्तै पोशाकमा जनकपुर पुगेका थिए । त्यहाँ जनकपुर–अयोध्या बस सेवाको संयुक्त उद्घाटन भएको थियो । अयोध्या–मिथिला रेल्वे र रामायण सर्किट प्रोसेसमा रहेको योजना हो । ओलीलाई त्यति ठूलो विश्वास थियो कि अयोध्या नेपालभित्रै छ, फेरि त्यो नाटक केका लागि गरिएको थियो ? ओलीको यो अभिव्यक्तिपछि ती योजनाकोे भविष्य अब के होला ? सहजै अनुमान गर्न सकिन्छ ।

राम जन्मभूमि तथा अयोध्या विवाद झट्ट हेर्दा सामान्य जस्तो लाग्दछ । तर यो प्रकरण अहिले दुई देशको संस्थापनबीचको मनोवैज्ञानिक द्वन्द्व बन्न पुगेको छ ।

ओलीलाई सकेसम्म भारतलाई घोच्नुछ, त्यसो गर्दा आफ्नो सत्ता लामो हुन्छ भन्ने भ्रम छ उनमा । ओली र मोदी जतिसबै बाझून् वा मिलून् त्यो हाम्रा लागि कुनै महत्वको कुरा हैन । तर, राज्यराज्य बीचको सम्बन्ध झनै बिग्रने र सर्वसाधारणले अनावश्यक दुःख पाउनुपर्ने अवस्था आउँछ भने त्यो राम्रो हुँदैन ।

मेरो विचारमा राम जन्मभूमि वा अयोध्या अहिले नेपालको प्राथमिक महत्वको द्विपक्षीय सवाल वा कुटनीतिक मुद्दा हैन । यदि नेपालसँग तयारी र प्रमाण पुग्थ्यो भने कुनै उपयुक्त बेला उठाउन सकिन्थ्यो । नेपालले भिन्नै अयोध्या पनि बनाउन नपाउने हैन । त्यसका लागि राम र भइरहेको अयोध्यामाथि दावी गरिरहनु पनि पर्दैन ।

थाइल्याण्डमा भिन्नै अयोध्या छ । शिवको मन्दिर एक ठाउँ मात्र हुँदैन भनेजस्तो अयोध्या र राम मन्दिर पनि एक ठाउँ मात्र हुनु पर्दछ भन्ने छैन ।

यति धारणाका लागि बेला कुबेला जसकसैलाई ‘भारतीय दलाल’ को बिल्ला भिराउन तयार बसेका मित्रहरुसँग मुखमुखै लाग्ने हो भने यो देश न तिम्रो ‘बाबुको बिर्ता’ हो न तिम्रो ‘आमाको दाइजो’ हो, न तिम्रो ‘पौरखको कमाई’ हो भन्न नसकिने हैन । तर त्यति तल झरेर भनी नहालौं भन्ने लाग्छ ।

कुटनीतिको मर्यादा, सीमा र प्रभावबारे विपक्षीभन्दा सत्तारुढ दल र संस्थापन विचार बढी जिम्मेवार हुन्छन् । विदेश नीति राजनीति कै विस्तारित रुप हो । कस्ले सत्ता सञ्चालन गरिरहँदा अन्तर्राष्ट्रिय सम्बन्धहरु बिग्रिए भन्ने कुरा भोलि चुनावका मुद्दा हुन सक्दछन् । लोकतान्त्रिक मुलुकमा त्यसका लागि विपक्षले सत्तापक्षलाई प्रश्नको कठघरामा ल्याउनु स्वभाविक हुन्छ ।

तर विदेश नीतिका केही स्थीर मानक पनि हुन्छन् । यसलाई सधै चुनावी राजनीतिको मुद्दा वा राजनीतिक फाइदा बेफाइदाको गोटी बनाउनु वाञ्छनीय हुँदैन । यसै गर्दा ओली, उनका समर्थक र नेकपा कमरेडहरुलाई मज्जा आउने र फाइदा हुने हो भने भन्नु केही रहेन । तर, देश र जनतालाई भने यस्तो तरीकाले फाइदा हुँदैन ।

भारतसँग हाम्रा अरु नै मुद्दा प्राथमिकतामा छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा छ । नक्शा पास गर्दैमा ठूलो बहादुरी हुँदैन, जमिन फिर्ता गर्नुपर्ने जस्तो जटिल प्रश्न बाँकी नै छ । सुस्ता र गण्डकको मुद्दा छ । इपिजी प्रतिवेदनको मुद्दा छ । व्यापार घाटा सन्तुलन र निर्यात सहजीकरणको सवाल छ । भारत, चीन र अमेरिकाबीचको त्रिकोणीय शक्ति संघर्षमा नेपालले खेल्नु पर्ने तटस्थता र सन्तुलनको प्रश्न छ । यी सबै बिर्सेर ‘जय श्रीराम’ कै पछि लाग्ने हो भने भन्नु केही रहेन ।

केही मित्रहरुले ‘ओलीको विरोध गर्नु’ ‘मोदीको समर्थक’ हुनु हो भन्ने एक अतिवादी भाष्य बनाउन खोज्दैछन् । तर, धरातलीय यथार्थ यो भाष्यभन्दा बिल्कुल फरक छ । भाजपाको वैचारिकी र नेपालमा ‘भारतपरस्त’ कित्तामा धकेल्न खोजिएका चाहिएका व्यक्ति, व्यक्तित्व र पार्टीबीच कुनै वैचारिक तालमेल देखिन्न ।

भाजपा हिन्दुवादी पार्टी हो, यहाँ धर्मनिरपेक्षताको आन्दोलन छ । भाजपाको राजनीतिक विचार ‘हिन्दू–राष्ट्रवाद’ हो, यहाँ ‘समाजवादको आन्दोलन’ छ । भाजपा ‘एक राज्य, एक देश एक राष्ट्र’को पक्षधर हो, यहाँ ‘बहुराष्ट्रिय राज्य’ वा ‘बहुसांस्कृतिकतावाद’ को आन्दोलन छ ।

भाजपा कश्मिरको स्वायत्तता खारेज गर्दछ र केन्द्रशासित प्रदेश बनाउँछ, यहाँ संघीयता र स्वायत्तताको आन्दोलन छ । आरक्षणको व्यवस्था र आन्दोलन भाजपाका लागि ठूलो टाउको दुखाईको बिषय छ यहाँ ‘समानुपातिक प्रतिनिधित्व र समावेशी राज्य निर्माणको आन्दोलन’ छ ।

बरु गहिरो अध्ययन गर्ने हो भने मोदी र ओलीको वैचारिकी समान हुँदै गएका कयौं दृष्टान्त दिन सकिन्छ । दुवै राष्ट्रवादलाई मुख्य राजनीतिक औजार मान्दछन् । दुवै संघीयता, आरक्षण, समावेशितालाई मन पराउँदैनन् ।

दुवैमा ‘जेनोफोयिबा’ छ । मोदीज्म ‘मुुस्लिम’सँग तर्सिएको छ । ओलिज्म ‘मधेश’ सँग बिच्किएको छ । मोदी पाकिस्तानलाई देखाएर भोट माग्दछन् । मोदी चीनको डर सृजना गरेर अमेरिकाको नजिक हुन चाहन्छन् । ओली भारतको डर देखाएर चीनसँग टाँसिन चाहन्छन् । चिनियाँ राजदुत साँझबिहान कार्यकर्ताहरुको घरडेरा चहार्दै हिंड्दा उनी कुटनीतिक मर्यादा हनन भएको देख्दैनन्, बरु बढो मज्जा मान्छन् । ओली भर्सेज मोदी ध्रुवीकरण एक बेतुक वैचारिकी बाहेक केही हैन । यो वैचारिकी यति सस्तो, निर्लज्ज र पाखण्डपूर्ण धरातलमा उभिएको छ, कि यसको मूल्य बुुख्याँचाको भन्दा धेरै हुनै सक्दैन ।

मोदीले ‘बुद्ध हाम्रो’ भन्न हुने तर ओलीले ‘राम हाम्रो’ भन्न किन नहुने ? यहाँनेर सोच्नु पर्ने के छ भने मोदीले ‘बुद्ध हाम्रो’ भन्नु ठीक कि बेठीक ? यदि त्यो बेठीक हो भने ओलीले त्यही गल्ती गर्दा त्यो राम्रो हुन्छ ? हामी मोदी र ओलीका गल्तीको तुलना गरेर कुनै एक गल्तीको पक्षमा लाग्न अभिशप्त छौं ?

बुद्ध न मोदीका हुन् न ओलीका हुन्, बुद्ध संसारभरिका ती सबैका हुन् जो बुद्धको ज्ञान र जीवनलाई आर्दश मान्दछन् । अनुशरण गर्दछन् । मोदी र ओली यतिखेर दुई देशका प्रधानमन्त्री हुन्, व्यक्ति हुन् । हाम्रा वैचारिक प्रतिमान र आर्दश हैनन् । होलान् कसैका लागि । जसले मान्छन्, उनीहरुका लागि होलान् पनि ।

तर, ओली जसरी सोच्छन् सबै नेपाली त्यसरी नै सोच्छन्, मोदी जसरी चल्छन्, सबै भारतीय त्यसरी चल्छन् भनेजस्तो ओली र मोदीलाई बिम्ब वा मानक बनाएर वाकयुद्ध गर्न तयार हुनु टिठलाग्दो ज्ञान र चेत हो ।

ओलीले भने जस्तै मानौं कि सीता भारतलाई हैनन्, अयोध्यालाई दिइएको हो, यसलाई रिभर्स गरौं– सीता नेपालबाट हैन, मिथिलाबाट स्वयम्भर गरिएकी हुन्, यसको के अर्थ लाग्छ ? सत्य त यही हो कि त्यतिखेर न अहिलेको भारत थियो न अहिलेको नेपाल थियो ।

त्यो मिथिला र कोशल राज्यबीचको राजकीय विवाह थियो । आधुनिक दक्षिण एशियामा राज्यहरु जसरी बनेका छन्, आजका सीमाना जसरी लगाइएका छन्, ती प्राचीन वा मध्यकालीन राज्यहरुको सिमानासँग मेल खाँदैनन् । जे चिज एक भिन्न परिस्थितिको तथ्य थियो त्यो अर्को भिन्न परिस्थितिको राजनीतिक मुद्दा वा तर्क बन्न सक्दैन ।

दक्षिण एशियाका राज्यहरु र राज्यहरुको सम्बन्ध न ओलीले बनाएका हुन् न मोदीले बनाएका हुन् । यी इतिहासका विरासत हुन् । यी सांस्कृतिक सम्पदाहरु हुन् । यी मानवीय मूल्य प्रणालीका अर्थपूर्ण मूल्यहरु हुन् । यी चीजमाथि ओली र मोदीको जति अधिकार र स्वामित्व छ, हरेक दक्षिण एशियाली नागरिकको उत्तिकै अधिकार र स्वामित्व छ ।

जतिखेर सीता जन्मिएकी थिइन्, उनी न नेपाल भन्ने न भारत भन्ने राष्ट्रियताका लागि जन्मिएकी थिइन् । सीतालाई नेपाल र भारत शब्दसँग कुनै मतलव थिएन । उनी आफ्ना मानवीय आर्दश र मर्यादाको पालनाका लागि ख्यातिनाम भएकी हुन् । नेपाली भएर वा भारतीय भएर हैन ।

बुद्ध आफ्नो त्याग, तपस्या, ज्ञान र चेतनाका लागि कहलिएका हुन्, नेपाली र भारतीय नागरिकता होल्डर भएर हैन । ठीक त्यही कुरा रामको पनि हो । उनी न भारतीय हुन् न नेपाली हुन् । उनी राम हुन् र उनको संघर्ष र कर्तव्यपालना उनको यशकिर्तीको आधार हो ।

राज्य र राष्ट्रियताको कुरा गर्ने हो भने सीता मैथिल, राम कोशल र बुद्ध शाक्य थिए । यी न भारतीय थिए न नेपाली थिए । राष्ट्रियताले मार्क्स जर्मन थिए, यदि त्यही राष्ट्रियता नै सबैथोक हो भने नेपालमा मार्क्सवादी पार्टी किन बनाएको ? यो सरासर राष्ट्रघात भएन र ? यदि त्यही तर्क प्रणालीमा विश्वास गर्ने हो भने मार्क्स, लेनिन र माओको नाम जपेबापत् नेकपालाई ‘जर्मन दलाल’, ‘रुसी दलाल’ वा ‘चिनियाँ एजेन्ट’ किन नभन्ने ?

भारतले भन्छ कि बुद्ध जन्मिएको लुम्बिनी भारतमा पर्दछ, त्यो सरासर झुठ, बेइमानी र बदमासी हुन्छ । तर कुनै भारतीयले भन्छ कि ‘बुद्ध हाम्रो पनि हो’ त्यो भन्ने अधिकार उसलाई छ । किनकी त्यतिखेरको शाक्यवंशी राज्य कपिलवस्तु अहिले नेपाल र भारत दुवैतिर बाँडिएको छ । बुद्ध लुम्बिनीमा जन्मिए तर बोधगया वा कुशीनगरजस्ता स्थानको बुद्धिज्ममा उत्तिकै महत्व छ ।

ठीक त्यही कुरा सीताको हो । सीता मिथिलामा जन्मिइन् । तर अहिलेको नेपाल राज्यको सीमाभित्र गरेका कर्मले उनी त्यो स्तरको आस्थाको पात्र बनेकी हैनन् । जीवन संघर्षका क्रममा उनी लंकासम्म पुगिन् । कसैले भन्छ कि सीता जनकपुरमा जन्मिएकी थिइनन्, त्यो सरासर झुडम्ठ, बेइमानी र बदमासी हुन्छ तर कसैले भन्छ कि सीता ‘हाम्री पनि हुन्’ त्यो भन्ने अधिकार संसारको सबै मान्छेलाई छ ।

मान्छेको जीवनको परिचय वा पहिचान केवल जन्म र जन्मस्थानले हैन, उनको कर्म, कर्तव्यपालना र वैचारिकीको सार्वभौमिकताले निर्माण हुन्छ ।

रामको कुरा पनि त्यही हो । उनी कहाँ जन्मिएका हुन्, त्यसको प्रामाणिक अध्ययन हुनु राम्रो हो । तर राम जहाँ जन्मिएका भएपनि उनका कर्म नेपाल र भारत दुवैतिर बाँडिएका छन् । अझ श्रीलंकासम्म तन्किएका छन् ।

हामीले ती कर्मलाई महत्व दिनुपर्छ जो राम, सीता वा बुद्धले गरे । केवल एकअर्कालाई आरोपप्रत्यारोप र झगडा गरी बसेर कुनै बहादुरी हुँदैन । विश्व मानवताको भावनाबाट टुटेको साँघुरो राष्ट्रवादले कहिल्यै कुनै राष्ट्र समृद्ध भएको उदाहरण छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय