scheduleसोमवार आश्विन १२ गते, २०७७

दाहालको माया दुईतिर

प्रतिभा पराजुली

काठमाडौं, ५ साउन । लेखक तथा राजनीतिक विश्लेषक विष्णु सापकोटाले आइतबार एक ट्वीट गरे । ‘नेकपा महाधिवेशन मंसिरमा हुने कुरा अर्को क्षणिक ‘स्टन्ट’ बाहेक केही होइन । महाधिवेशन भयो नै भने पनि एकल अध्यक्ष हुने ओली नै हो,’ उनले लेखे, ‘त्यसपछि प्रचण्डले आफुसँग जान मान्ने केही माओवादीलाई लिएर नयाँ पार्टी बनाउने छन् । फेरि पनि भनौं- ओलीले ठीक गरेका छन्; यस्ता पात्रलाइ घुमाउने यसरी नै हो !’

माओवादीमा झण्डै तीन दशक एकछत्र नेतृत्व गरेका प्रचण्ड यसरी नै अरु नेतालाई घुमाउँथे जसरी अहिले ओलीले अरुलाई घुमाइरहेका छन् । आफू नजिक केही अन्धभक्तहरु जम्मा पार्ने, प्रतिस्पर्धा गर्ने नेताविरुद्ध भारतपरस्त र जडसुत्रवादी हुँदै लिनप्याओवादीसम्मको आरोप लगाएर अगाडि बढ्न नदिने । उनको नेतृत्वमा रहेका बाबुराम भट्टराई र बादल कारबाहीमा परे । वैद्यले पनि छाडे । युद्धकालमा जसोतसो टिके पनि शान्ति प्रक्रियामा आएपछि नेकपाको जनयुद्ध लड्ने कोर टिमका दुई तिहाई नेतृत्वले प्रचण्डलाई छाडिदए ।

अहिले उनी खुमलटार र बालुवटारको गोलचक्करमा छन् । युद्धकालमा छोपिएको उनको कमजोर प्रवृत्तिहरु अहिले उदाङ्गो हुँदैछ । राजनीतिमा एजेन्डाप्रतिको अडान सबैभन्दा महत्वपूर्ण हुन्छ । एजेन्डा र विचारमा ‘कन्सिस्टेन्सी’ गुमाएका नेताहरुको साख तासको घरजस्तै गर्ल्यामगुर्लुम्म ढल्छ ।

माओवादीमा वैद्य र बाबुरामको दुई लाइनको बीचमा पिङ हालेर मच्चिने गरेका प्रचण्ड अहिले नेकपामा पनि यही अनुभवको आधारमा राजनीति गर्दैछन् । तर, परिस्थितिले उनलाई वामदेव प्रवृत्तिको नयाँ संस्करणमा जन्माउँदैछ ।

नेकपामा ओलीको एजेन्डाप्रतिको लगाव र निरन्तरता छ । भलै उनी संघीय गणतन्त्रको रक्षकका रुपमा छन्, तर यो उनको अन्तरहृदयले स्वीकारेका एजेन्डाहरु होइनन् । एजेन्डा एकातिर नेतृत्व अर्कोतिर हुँदाको भद्रगोलता देशले व्यहोरिरहेको छ । तर, एजेन्डामा ओलीको लगाव उत्तिकै छ ।

गणतन्त्रमा जाने यात्रालाई ‘बयलगाढा चढेर अमेरिका जाने यात्रा’को संज्ञा दिएका ओली शान्ति सम्झौता गर्दा दोस्रो लहरमा तमासेका रुपमा उपस्थित थिए । प्रचण्डहरुकै कमजोरीलाई पछ्याएर माओवादी आन्दोलन र परिवर्तनका एजेन्डाविरुद्ध अभिव्यक्ति दिएर पुरानो संस्थापनको नेतृत्व गर्दै ओली अहिलेको अवस्थामा आइपुगेका हुन् ।

त्यसैले उनी, सातै प्रदेशको बजेटभन्दा बढी बजेट सिंहदरबारमै राख्छन् । पार्टी कार्यालय बालुवाटारबाटै चलाउँछन् । पार्टीभन्दा गुट चलाउँछन् । चालचलन नयाँ राजाको छ । कतिपयले स्वाभिमान भनेर बुझेको ओलीको घमण्ड सामन्ती दम्भबाहेक केही होइन ।

परिवर्तनको आन्दोलनले ‘सामन्त’को रुपमा जन्माएको प्रचण्ड र परिवर्तनविरोधकी सेन्टिमेन्ट संस्थागत गर्दै जन्मिएका अर्का ‘सामन्त’ केपी ओलीको टकराव अहिले नेकपाभित्र देखिन्छ । प्रतिपक्षहरु संख्या र विचार दुवैमा कमजोर देखिएका छन् । अहिले नेकपाको प्रतिपक्ष नेकपा नै हुनेगरी जनताले जनमत दिएका छन् ।

‘सामन्त’ शब्द ठाडो र अप्रिय सुनिएला । तर लोकतन्त्रको अभ्यासको दृष्टिमा नेकपाका अध्यक्षद्वय दुवै नवसामन्तजस्ता देखिन्छन् । अहिले उनीहरुको संघर्ष पार्टीभित्र लोकतन्त्रका लागि होइन । व्यक्तिगत पद र प्रतिष्ठाका लागि हो । पार्टीभित्र लोकतन्त्रको स्थापनाको लागि हुन्थ्यो भने वर्षौंसम्म तथाकथित बैठकको पर्दा टाँसेर दुईचारजना नेताहरुले सिंगो पार्टी र देशलाई बन्दक बनाउने थिएनन् ।

एजेन्डाबाट अलगाव
अहिले नेकपाका अध्यक्ष प्रचण्डको एजेन्डा के हो ? जनयुद्धले स्थापित गरेका समानुपातिक, समावेशीको कुरा पार्टी र सरकार दुवैतिर लागू गर्न सकिएको छैन । मन्त्रिपरिषद्मा यस्तो चित्र विचित्र देखिन्छ । पार्टीको सचिवालयमा ८ जना बाहुन पुरुषहरु छन् र अर्का एक नेवार पुरुष । स्थायी समिति पनि सन्तुलित छैन ।

प्रधानमन्त्रीले महिला अधिकारलाई एनजिओको ट्याउँट्याउँ भनिदिन्छन् । प्रचण्ड प्रतिक्रियाविहिन हुन्छन् ।

२१औं शताब्दीको जनवादले अगाडि सारेका अवधारणाहरुलाई धोती लगाउँदै उनी दशकौंदेखि आफैं नेता बनिरहेका छन् । उनको लडाईं तेस्रोपटक प्रधानमन्त्री बन्नमा छ र पार्टीको नेतृत्व गर्नमा छ तर एजेन्डाप्रतिको उनको प्रतिवद्धता स्खलित छ ।

सबैभन्दा अनौठो कुरा त, माओवादीविरोधी र परिवर्तनका एजेन्डाविरोधी सेन्टिमेन्ट बोकेर नेतृत्वमा पुनर्स्थापित भएका ओलीसँग उनले पार्टी एकता गरेका छन् ।

संघीयता टुहुरोजस्तो भएको छ । नाम मात्रको संघीयताको अभ्यास गरेर नकरात्मकता प्रवर्द्धन गर्दै यसको विकल्प खोज्नु अहिलेको नेतृत्वको चाहना देखिन्छ ।

प्रचण्डले युद्ध र आन्दोलनले उठाएका एजेन्डाका लागि ओलीसँग घम्साघम्सी गरेको कुनै उदाहरण छैन । उनको लडाई पद र प्रतिष्ठाको लागि छ । त्यो पनि आफ्नो मात्र ।

प्रचण्डको यही कमजोरी थाहा पाएका ओलीले त्यसरी नै तुरुपहरु फालिरहेका छन् । प्रचण्ड गम्भीर राजनीतिक अलमलमा परेका छन् ।

ओलीको अस्त्रले सबैभन्दा छिटो प्रभावित हुनेमा वामदेव गौतम र प्रचण्डको प्रतिस्पर्धा चलिरहेको जस्तो लाग्छ तर, पछिल्लो समय त वामदेवले पनि कुरा बुझिसकेका छन् ।

अर्ली महाधिवेशनको ओली कार्ड प्रचण्डले सजिलै पत्याइदिए । सचिवालय बैठकमा ओलीको बोलीमा लोली मिलाए । शनिबार सहमति गर्ने र आइतबार होइन भन्दै हिंड्नुपर्ने अवस्थामा प्रचण्डको राजनीतिक स्थिरताको कमजोर चरित्र नेपाल समूहका नेताहरुले छर्लङ्गै देखे । यसले उनको दोधारे चरित्र उदाङ्गो भयो ।

वैशाख तेस्रो साता पनि प्रचण्डले यसैगरी ओलीलाई साथ दिएका थिए । प्रचण्डको यस्तो गतिविधिबाट ओली प्रवृत्तिविरुद्ध संघर्ष गरिरहेका अरु नेताहरु झस्किएका छन् । यस्तो लाग्छ, अरु नेताहरु ओलीज्मविरुद्ध लडिरहेका छन्, तर प्रचण्ड आफ्नो स्वार्थका लागि लडिरहेका छन् ।

त्यही भएर माधव नेपाल समूहले भनाई दोहोर्‍याई रहेको छ- ‘यो संघर्ष व्यक्तिविरुद्ध होइन, प्रवृत्तिविरुद्ध हो । दुई अध्यक्षको चोचोमोचो मिलाएर हुँदैन । पार्टी विधि–पद्धतिअनुसार चलाउनु मुख्य कुरा हो ।’

अहिले प्रचण्डसँग संख्याको समस्या छैन । उनीसँग केवल प्रतिवद्धताको खाँचो छ । यही व्यवहारले उनले छिट्टै माधव समूहलाई आफूबाट गुमाउने सम्भावना बढेको छ । यसबाट पूर्वएमाले समूह ध्रुवीकृत हुने अवस्था आयो भने प्रचण्ड पतनको तीव्रता नसोचेको गतिमा अगाडि बढ्नेछ । यदि प्रचण्डले बुद्धि पुर्‍याएर आफ्नो राजनीतिक अडान कायम राखेमा नेकपाभित्रको ध्रुवीकरण राजनीतिक हुनेछ ।

ओलीको पछिल्लो अस्त्र- जबज

ओली सत्ता र पार्टीमा आफ्नो निरन्तरताको लागि दाहाल-नेपाल गठबन्धन भत्काउन चाहन्छन् । बैठक लम्ब्याउँदै यो गठबन्धन भत्काउन उनको भगिरथ प्रयत्न छ ।

यहीक्रममा उनले प्रचण्डलाई जबजको प्रवक्ता बने महाधिवेशनबाट एकल अध्यक्ष बनाइदिने आश्वासन दिए । यो ओलीको यस्तो कुटिल चाल हो, जसले पूर्वएमालेभित्रको ध्रुवीकरणलाई सुनिश्चित गर्छ ।

खुमलटारमा यस्तै भयो । जब प्रचण्डले जबजको प्रवक्ता बन्न लगाएर फसाइएको भन्न थाले । माधव नेपाल बोलीहाले- म पनि जबज पक्षधर हुँ ।  नेकपाभित्र पूर्व एमालेको मात्र एकता भयो भने त्यो राजनीतिक हुनेछैन । त्यहाँभित्र एजेन्डाको आधारमा नयाँ गुट बन्यो भने त्यसले भने नेकपा र देशलाई नै अगाडि लैजानेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय