scheduleबिहिवार आश्विन १५ गते, २०७७

सरकारलाई सार्वजनिक बौद्धिक मञ्चको ५ प्रश्न

सार्वजनिक बौद्धिक मञ्च

सार्वजनिक विषयहरुमा बौद्धिक संवाद र अन्तरक्रियाको अभ्यासलाई संस्थागत गर्दै महत्वपूर्ण सामाजिक–राजनीतिक सवालहरुमा आम–जनताको दृष्टिकोण एवं विचारलाई विकास गर्न तथा सुदृढ बनाउन सहयोग पुर्‍याउने उद्देश्यले यस सार्वजनिक बौद्धिक मञ्च पोखराको स्थापना गरिएको हो । यस मञ्चले वर्तमान अवस्थामा नेपालमा कोरोना महामारी र लकडाउन का विषयमा समाजका विभिन्न तहमा क्रियाशील मजदुर, व्यवसायी, कृषक, आम महिला, युवा तथा सिमान्तकृत समुदायका प्रतिनिधिहरुसँग छलफल गर्ने र जन–जीवनमा आएको परिवर्तनका सम्बन्धमा जानकारी लिने कार्य गरिरहेको सन्दर्भमा अनिश्चित तवरले लम्बिइरहेको लकडाउनका कारण संवेदनशील अवस्थामा रहेको वर्गको जन–जीवनमा जटिल परिस्थिति उत्पन्न हुने अवस्था बनिरहेको सबैमा जानकारी गराउन चाहान्छौं ।

यस सम्बन्धमा हामी नेपाल सरकारले चालेका कतिपय कदमहरुका प्रति तथा उसका सूचनाका स्रोत तथा समग्र सूचना प्रणालीमाथि नै आलोचनात्मक बन्नुपर्ने अवस्था समेत आएकोले हामी निम्न सवालहरुमा नेपाल सरकारको तर्फबाट स्पष्ट जवाफको अपेक्षा गर्दछौं-

१. सरकारले किन सन् २०२० को मार्च २४ बाट नै नेपालमा लकडाउन जारी गर्‍यो जवकि महामारी त्यस अगाडि नै फैलिइसकेको भन्ने खबरहरु आइसकेका थिए एकातर्फ भने अर्कोतर्फ नेपालमा यस महामारीको कारण कसैको ज्यानै जाने अवस्था त्यो मितिमा भन्दा अझ हप्तौ पछिसम्म पनि बनिरहेको थिएन ? त्यसकारण अब सरकारले भन्नु पर्ने अवस्था आयो कि कस्तो सुचनाको आधारमा वा कस कसको सरसल्लाहमा लकडाउन गर्ने निर्णय गरिएको थियो ? के यो निर्णयको पछाडि अरु कुनै निहित स्वार्थहरु जोडिएका छैनन् भनेर नागरिक स्पष्ट हुन सक्ने अवस्था छ ?

२. सन् २००९ को अप्रिल महिना मै पनि विश्व स्वास्थ्य संगठन (WHO) ले H1N1 नामको भाइरस देखा परेको सुचना जारी गरेको थियो र सोही वर्षको जुन ११ मा संसारमा सो इन्फुएञ्जा भाइरसको महामारीबाट गुज्रिइरहेको बताएको थियो । तर किन त्यतिबेला नेपाल तथा विश्व अन्य सरकारहरुले लकडाउन गर्ने वा मानिसहरु लाई निश्चित ठाँउमा बन्द गर्ने प्रकारका कुनै उपाएहरु अवलम्बन गर्न आवश्यक ठानेनन् र अहिले लकडाउनको कठोर परिस्थिलाई निम्त्याइएको छ र राज्य आतंकलाई बढावा दिइएको छ ?

३. महामारी को हवाला दिदै गरिएका प्रक्षेपणहरु र कोरोना भाइरसका चरित्र र लक्षणहरुका सम्बन्धमा जे जसरी सूचनाहरु विभिन्न आम सञ्चार माध्ययमहरुमा प्रकाशन भइरहेका छन् तिनीहरु कतिपय अवस्थामा स्वयं अन्तर विरोधी देखिएका छन् र आम जनतामा ठूलो भ्रम र त्रास उत्पन्न गरिरहेका छन् । यो प्रकारको वेठिक अवस्थाको अन्त्य किन भइरहेको छैन ? त्यस प्रकारका अपरिपक्क सूचनाहरुलाई जिम्मेवार निकाय, सञ्चार क्षेत्र र स्वयं सरकारी तहबाट समेत प्रशारणमा रोक लगाउने अवस्था किन बनिरहेको छैन ? के यो आम जनतालाई त्राशमा राख्ने र सिमित मानिसहरुका आकांक्षाहरु परिपूर्तिको लागि गरिएको प्रपञ्च होइन भनेर हामी ढुक्क हुन सक्छौं ?

४. स्विडेन, वेलरुस, भियतनाम, थाईल्याड आदि मुलूकहरुले लकडाउनलाई या त कहिल्यै अवलम्बन गरेनन् या त छोटो समयमा नै त्यसको अन्त्य गरे । ती देशहरुले त्यस प्रकारको रणनीति किन लिए, त्यसका फाइदा र हानीहरु के के भए ? के नेपाल सरकारले ति देशहरुका अनुभवलाई बुझ्न र लिन कुनै सन्धी वा कानूनहरुले अवरोध गर्दछन् ? वा, त्यस सम्बन्धि सरकारी सूचना प्रणालीहरुमा समस्या रहेको छ ?

५. नेपालमा हुने अन्य प्रकारका घटनाहरु बट हुने क्षति र यस कारोना महामारीबाट भइरहेको क्षतीलाई तुलनात्मक रुपमा हेर्ने कि नहेर्ने ? नेपालमा अधिल्लो वर्ष सन् २०१९ मा लगभग २ लाख मानिसहरुको मृत्यु भएको थियो । यस मध्ये मुटुसम्बन्धि रोगबाट ३० हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको थियो, फोक्सोमा हुने समस्याबाट १३ हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको थियो भने सामान्य इन्ल्फुएञ्जाबाट नेपालमा करिव दश हजार मानिसहरुको मृत्यु भएको थियो ।

त्यस्तै सडक दुर्घटनाबाट मात्रै पाँच हजार मानिसहरुको मृत्यु भएको थियो । यो समग्र परिस्थितिलाई बिचार गर्दा ज्यादै थारै प्रतिशत जनसंख्यामा देखिइरहेको कारोना पोजेटिभ र त्यसको कारणबाट भएको भनिएको मानविय क्षतिको जुन परिणाम प्रस्तुत गरिएको छ, यदि यसलाई नै महामारीको नाम दिएर मानिसहरुलाई घरबाट बाहिर निस्कन र सामान्य जन–जीवनमा अभ्यस्त हुन बन्देज लगाउने हो भने भने हामीले मानिसहरुलाई बाहिर निस्कन अब कुन ठाउँ र समय उपयुक्त हो ? के अब हामी सडक दुर्घटनाको त्रासमा सदाका लागि सडक यातायत बन्द गर्न सक्छौं जहाँ दिनहुँ १५, २० जना मानिसहरुको मृत्यु हुने गरेको थियो ? अनि सबैलाई आ–आफ्ना घर घरमा बस्न भनेर वर्षेनि भइरहने बाढी पहिरो लगायतका प्रकृतिक विपत्तिसँग जुध्न सम्भव छ ?

यसले समग्रमा के देखाउँछ भने- हामी मानिसहरुलाई कस्तो समाज र कस्तो भविष्य तर्फ लिएर जाँदै छौं ? हामी उनीहरुलाई उनीहरुका सामाजिक सम्बन्धहरुबाट सदाका लागि अलग गर्न चाहन्छौं वा मानिसहरुको सघन अन्तरक्रियाका बीचबाट नै हामी तत् तत् क्षेत्रका समस्याहरुको समाधान खोजिरहेका छौं ? हामी भन्न चाहन्छौं, महामारीको प्रचारदेखि लकडाउनको ३ महिना भन्दा लामो अवधिका बीचमा सरकारका निकायहरुबाट जे भइरहेको छ त्यो सबै ठिक भइरहेको छैन । धेरै कुराहरु बेठिक भइरहेका छन् ।

त्यसैले हामी चाहान्छौं नेपाल सरकार यि प्रश्नहरु माथी गम्भीर बनोस र माथि उठाइएका सवालहरुका सम्बन्धमा यसको जवाफ सार्वजनिकरुपमा अविलम्ब जारी गरियोस् । साथै विद्यमान लकडाउनलाई निरन्तरता दिँदै जाने, विपन्न जनताको जीवनमा उत्पन्न कठिनाईंहरुप्रति उदासीन भइरहने हालको अवस्थाको तत्काल अन्त्य गर्न र जन–जीवनलाई सामान्य अवस्थातर्फ अग्रसर गराउन पनि नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौं ।
धन्यवाद ǃ

(सार्वजनिक बौद्धिक मञ्च (PIF), पोखराद्वारा २०७७ साउन ५ गते सोमबार जारी विज्ञप्ति)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय