scheduleआइतवार आश्विन ११ गते, २०७७

प्रचण्ड बन्लान् त जबजको प्रवक्ता ?

साझापोस्ट टिप्पणी

काठमाडौं, ६ साउन । अन्ततः प्रचण्डलाई नेकपाको एकल अध्यक्ष पद हस्तान्तरण गर्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुुक रहनुको कारण खुलेको छ ।

गत शनिवार साँझ आकस्मिकरुपमा राष्ट्रपति भवन पुगेका प्रचण्डलाई राष्ट्रवादी विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवादको वैचारिक उत्तराधिकार लिन राजी भए एकल अध्यक्ष पद दिन सकिने’ आश्वासन दिएका थिए ।

यस्तो भेटघाटको तारतम्य मिलाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको भूमिका रहेको बताइन्छ । पोखरेल आफूलाई ‘जबजवादी’ ठान्दछन् । एकीकृत नेकपाको सिद्धान्त ‘जबज’ हुनुपर्ने कुरामा उनले जोड दिँदै आएका छन् ।

प्रधानमन्त्री ओली मदन भण्डारीको निधनपछि जबजको वैचारिक तथा आत्मिक उत्तराधिकार आफूमा सरेको विश्वास गर्दछन् । राष्ट्रपति विद्या भण्डारी मदन भण्डारीकी पत्नी हुन् । मदन भण्डारीको वैचारिक अभिप्रेरणा जबजकै कारण आफूहरु यो स्तरको राजनीतिक सफलता हासिल गरेको विद्या र ओलीको बुझाई छ ।

उनीहरु त्यस्तो व्यक्तिलाई पार्टीको भावी नेतृत्व सुम्पिन चाहन्छन् जसले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन र मदन भण्डारीलाई पार्टी आइकनको रुपमा निरन्तर स्थापित गर्न भूमिका गरोस् । ओली–विद्याको यो इच्छा अस्वभाविक भने हैन । जुन विचार र विरासतले जसलाई यो स्तरको राजनीतिक सफलता दिलायो, त्यसप्रतिको मोह वा दायित्व अनुभूत गर्नु स्वभाविक हो ।

२०४९ सालमा एमालेको पाँचौं महाधिवेशनले मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’ लाई अत्याधिक बहुमतले पारित गरेको थियो । त्यसअघि पार्टीको कार्यक्रम ‘नौलो जनवाद’ थियो ।

‘नौलो जनवाद’ को कार्यक्रम २००६ सालमा पार्टी स्थापना गर्दा पुष्पलालले तयार गरेका थिए । त्यसको स्रोत माओत्से तुङको ‘अन द न्यू डेमोक्रेसी’ थियो । पुष्पलालले माओको यो पुस्तिकालाई ‘नयाँ जनवादबारे’ शिर्षकमा नेपाली अनुवाद गरेका थिए । पाँचौं महाधिवेशनभन्दा अगाडिसम्म तत्कालीन एमालेले नयाँ जनवादलाई नै औपचारिक कार्यक्रम मान्दथ्यो ।

नयाँ जनवादले ‘एकदलीय संयुक्त जनवादी अधिनायकत्व’ मा राज्य प्रणालीको परिकल्पना गर्दथ्यो । सन् १९९१ मा सोभियत संघ र पूर्वी युरोपमा साम्यवादी राज्यहरुको पतनपछि मदन भण्डारीले ‘अब कम्युनिष्टहरुले पनि बहुदल मान्नुपर्छ’ भन्ने अवधारणा अगाडि बढाए । यसैको सैद्धान्तिकरणलाई ‘जनताको बहुदलीय जनवाद’ भनिन्छ ।

मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गर्दा सीपी मैनाली र झलनाथ खनाल त्यसको विपक्षमा थिए । उनीहरुले भिन्नै ‘परिमार्जित नौलो जनवाद’ कार्यक्रम प्रस्तुत गरेका थिए । सीपी मैनालीले जनताको बहुदलीय जनवादको सधैं विरोध गरे । अहिले भिन्नै नेकपा (माले) पार्टी चलाए ।

झलनाथ खनालले जबजलाई ‘दक्ष प्रजापतिको टाउको’ सँग तुलना गरेका थिए । श्री स्वस्थानीको कथाअनुसार दक्षको टाउको काटेपछि उनको गिंडमा बोकाको टाउको जोडिएको थियो । त्यस्तै नयाँ जनवादको कार्यक्रमको टाउको काटेर मदन भण्डारीले ‘बहुदलीयता’ जोडेको आरोप लगाएका थिए । पछि झलनाथले जबज स्वीकार गरे तर उनलाई विद्या–ओलीले जबजको उत्तराधिकारका लागि भरपर्दो व्यक्ति ठान्दैनन् ।

माधव नेपाल भने जबजका पक्षधर मात्र हैन, मदन भण्डारीका विद्या–ओलीभन्दा पनि नजिकका राजनीतिक सहकर्मी र सहयोगी हुन् । भण्डारीको निधनपछि उनले करिब १५ बर्ष जबजकै कार्यक्रममा आधारित भएर एमालेको नेतृत्व गरे ।

अहिले नेपाल–ओली बीच दुरी बढेको छ । यसका अनेक कारण छन् । प्रचण्डको पछि लाग्न छोडेर खुरुक्क आफूसँग आउने र भनेको मान्ने हो भने ओली–विद्याले माधव नेपाललाई जबजको उत्तराधिकार पत्याउन तयार छन् । तर, माधव आफैंले हिजो नेतृत्व गरेको ओेली–विद्याको त्यो स्तरको बर्चश्व र अधिनीकरण स्वीकार गर्ने मनस्थितिमा छैनन् ।

ओलीले राजीनामा गर्नुपर्ने मागमा पुगिसकेका नेपाल तत्काल फर्किने मनस्थितिमा देखिन्न ।

प्रचण्ड त्यतिखेर नेकपा (एकताकेन्द्र) का महामन्त्री थिए । उनले जबजलाई ‘संशोधनवादी कार्यक्रम’ भन्दै आलोचना गरेका थिए । त्यो पार्टी पछि नेकपा (माओवादी) यसैको नेतृत्वमा १० वर्ष लामो जनयुद्ध भयो । माओवादीले भिन्नै ‘प्रचण्डपथ’ र ‘एक्काइशौं शताब्दिको जनवाद’ जस्ता सिद्धान्त निर्माण गर्‍यो ।

यी सिद्धान्तहरु जबजभन्दा फरक थिए । यी सिद्धान्तले आफूलाई ‘क्रान्तिकारी’ र जबजलाई ‘संशोधनवादी’ मान्दथे । कम्युनिष्ट आन्दोलनमा दुई जबरजस्त ध्रुवहरु निर्माण भएको, पहिलो ध्रुवको मार्गदर्शन ‘प्रचण्डपथ’ र नेतृत्व प्रचण्डले गर्ने, दोस्रो ध्रुुवको मागर्दशन जबज र मदन भण्डारीले गर्ने ठहर गरिएको थियो ।

जबजमा संविधानको सर्वोच्चता, बालिक मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, शक्तिपृथकीकरण, बहुमतकोे सरकार, अल्पमतको विपक्षजस्ता १४ बिशेषताहरु छन् । माओ र पुष्पलालको नयाँ जनवादमा यी १४ बिशेषता थपिदियो भने त्यो ‘जनताको बहुदलीय जनवाद’ हुन्छ, त्यो ‘नयाँ जनवादभन्दा तात्विक रुपमा भिन्न हुँदैन, तर रुप पक्षमा बहुदलीय हुन्छ’ भन्ने मदन भण्डारीको ठहर थियो ।

सन् १९७० को दशकअघि कम्युनिष्ट पार्टीले बहुदलीय प्रणालीमा विश्वास गर्दैनथे । सन् १९७९ मा स्पेनी कम्युनिष्ट पार्टीका महासचिव सान्टिगाओ कैरिल्ले ‘द स्टेट एण्ड युुरोकम्युनिज्म’ नामको किताब लेखेर कम्युनिष्टहरुले पनि बहुदल मान्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।

यस्तो सोचलाई ‘युरो कम्युनिज्म’ भन्न थालियो । मदन भण्डारी युरो कम्युनिज्मबाट प्रभावित थिए । तर, प्रचण्डधार क्रान्तिकारी थियो । उसले मार्क्सको बल प्रयोगको सिद्धान्त, माओको दीर्घकालीन जनयुद्ध र नयाँ जनवादी क्रान्तिको सिद्धान्तमा विश्वास गर्दथे ।

शान्ति प्रक्रियामा आएपछि प्रचण्डले ‘बहुदलीयता’ लाई स्वीकार गर्दै ‘प्रचण्डपथ’ परित्याग गरे । त्यतिखेर उनले भनेका थिए, ‘संसदवादी दलहरु गणतन्त्रवादी हुन तयार भए हामी बहुदलवादी हुन राजी छौं ।’ तर नेकपाको एकताको बेला भने प्रचण्डले जबजलाई पार्टीको औपचारिक कार्यक्रम स्वीकार गरेनन् । तसर्थ ‘जनताको जनवाद’ मात्र भनियो ।

जबजले कल्पना गरेको क्रान्तिको कार्यदिशा बिल्कुल फरक थियो । त्यसले संसदीय प्रणालीमार्फत् कम्युनिष्ट पार्टीले बहुमत हासिल गरी प्रगतिशील सुधार गर्दै क्रान्ति अगाडि बढाउने धारणा राख्दथ्यो । यही धारणाअनुरुप एमाले राजा ज्ञानेन्द्रको ‘कु’ हुनु अगाडिसम्म २०४७ सालको संविधान र संवैधानिक राजतन्त्रको पक्षमा उभिँदै आएको थियो ।

ज्ञानेन्द्रको कु अवधिमा पार्टी महासचिव माधव नेपाललाई नजरबन्दमा राखिएको बेला झलनाथ खनाल कार्यवहाक महासचिव भए । उनले पार्टीलाई ‘लोकतान्त्रिक गणतन्त्र’ को कार्यदिशामा लगे । ओली–विद्याले त्यो बेला पार्टीभित्र ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

त्यही बेला ओलीले ‘गणतन्त्र भनेको बयलगाढा चडेर अमेरिका भए जस्तो हो’ भन्ने भाषण गरेका थिए । उनले राजा ज्ञानेन्द्रसँग भित्रभित्रै कुनै सम्झौता गर्ने प्रयत्न गरेका थिए । तर, ज्ञानेन्द्रले ओलीलाई खासै महत्व नदिएपछि उनी पनि गणतन्त्रको कार्यदिशामा आए ।

जबजलाई आमरुपमा कम्युनिष्ट आन्दोलनभित्रको दक्षिणपन्थी कार्यक्रम मानिन्छ । ओली–विद्या समूहले नेकपाभित्रको सबैभन्दा ‘राइट–विङ’ को प्रतिनिधित्व गर्दछन् भन्ने धेरैको बुझाई छ ।

ओली–विद्या समूहको सहयोग प्राप्त गर्न अब प्रचण्डले जबजलाई स्वीकार गर्दै र त्यसलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा स्थापित गर्न राजी हुनुपर्ने छ । प्रचण्ड यसो गर्न राजी भए उनको हिजोका वैचारिक अडान र कार्यदिशाप्रति ठूलो प्रश्नचिन्ह खडा हुनेछ । यो भनेको सारमा प्रचण्ड ‘एमाले’ हुनु हो ।

जुन राजनीतिक दर्शनको विरोध गर्दै जनयुद्धको नेतृत्व गर्दा हजारौं मानिस सहिद भएका छन्, त्यही दर्शनको प्रवक्ता बन्नु प्रचण्डका लागि असामान्य राजनीतिक नैतिकताको प्रश्न हो ।

पार्टी नेतृत्व, शक्ति र उत्तराधिकार प्राप्त गर्न प्रचण्ड जबजको प्रवक्ता बन्न राजी होलान् वा नहोलान् ?

शितलनिवास भेटघाटको भोलिपल्टै उनले आफू ओली–विद्याको प्रस्तावमा सहमत भइनसकेको स्पष्टीकरण दिएका छन् ।

खुमलटार बैठकका एक सहभागीका अनुसार यस्तो प्रस्तावले ‘आफू थोरै लोभिए पनि त्यो बाटोमा अहिले नै जान नसकिने’ बताएका थिए । सत्तारुढ नेकपाको आन्तरिक किचलो र दाउपेच भने झनझन रोचक हुँदै गइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय