scheduleआइतवार आश्विन ४ गते, २०७७

ब्राह्मणवादी सर्पको मुखमा परेको मार्क्सवाद

वीरेन्द्र कटुवाल

‘भाग्यं फलति सर्वत्र न विद्या न च पौरुषम्,
शुराग कृत विद्याश्चः, वने तिष्ठंति मे सुताः’

पाँच पाण्डवकी आमा कुन्तीले आफ्ना पाँच भाइ पराक्रमी छोराहरू लिएर वनजङ्गल, मठ–मन्दिर धाउँदाका बखत श्रीकृष्णसित दुःख बिसाउँदै माथि उल्लेखित वाक्य भनेकी हुन् भन्ने पौराणिक कथन छ ।

अथवा उनले श्रीकृष्णसित यसरी दुःख पोखेकी थिइन्, ‘मेरा छोराहरू महापराक्रमी र विद्वान् छन् परन्तु हामीहरू वन–जङ्गलमा भौतारिँदै हिँड्नु परेको छ । यो सबै भाग्य कै फल हो !’

अथवा भाग्य नै फलप्राप्तिको निम्ति मूल र निर्णायक तत्त्व हो । भाग्य छैन भने पराक्रम र विद्या पनि काम लाग्दैन ।

नेपालका समाजशास्त्रका पिता भनेर चिनिने डोरबहादुर बिष्टले नेपालका गाउँबस्तीहरू डुल्दा, घुम्दा, नेपाली समाजलाई नियाल्दाखेरि, सायद थुप्रै कुन्तीहरू भेट्टाएछन् क्यार । त्यसैले त उनले नेपालको अविकासको मूल कारण भाग्यवाद अथवा ब्राह्मणवादलाई ठाने । फरक के भयो भने कुन्तीका पुत्रहरूभित्रको पराक्रम र विद्यालाई श्रीकृष्णले जगाए । डा. डोरबहादुर विष्टले जगाउन सकेनन् । बरु ब्राह्मणवादको चक्रव्यूहभित्र आफैं हराए । दवाइए ।

उनको अध्ययन र विवेचनाअनुसार नेपाली राजनीतिले जब जात व्यवस्थाको माध्यमबाट भाग्यवादको नशालु पदार्थ नेपाली समाजमा हालिदियो तब नेपालको विकासको गति ठप्प रोकियो । अथवा जातव्यवस्थाको पुष्प–विमान चढेर नेपालीहरूको भाग्य लेख्न देवदूत बनेर एउटा नृजातीय समुदाय उदायो ।

नेपालका मेहनती, परिश्रमी र पौरखी सन्तानका आमाहरू महाभारतकी कुन्तीजस्तै आफ्नो जात र भाग्यलाई दोष दिएर पुर्पुरो ठोक्दै बस्न थाले । विकास चल्न-चट्पटाउन छाड्यो । र, अविकासको युग सुरु भयो ।

डा. विष्टको भनाईमा जात–व्यवस्थाको मुख्य सिद्धान्त ब्राह्मणवाद हो । उनले भनेका छन्- ‘आफ्ना–मान्छे र चाकरी’ ब्राह्मणवादले प्रतिस्थापन गरेको सामाजिक संस्कृति हो । र, यसले ल्याएको परिणाम चाहिँ, सत्ता र शक्तिको दुरुपयोगबाट मुठीभर मान्छेहरूको ‘दिन दु–गुना रात चौ–गुना’ प्रगति र भूइँ मान्छेहरूको अवनति हो ।

वीरेन्द्र कटुवाल

लगभग एक शताब्दी पहिला निरङ्कुश शासकहरूको शासनशैली देखेर र भोगेर डा. विष्टले निकाल्नुभएको निष्कर्ष र सामन्तवाद र निरङ्कुशताको विरुद्ध विभिन्न खाले संघर्ष र क्रान्ति गरेर जन्मिएको आजको राज्यसत्ताको डेलिभरी हेर्दाखेरि, यिनीहरूको बीचमा, रूपमा केही भिन्नताहरू देखिएला, तर सारमा भने कुनै भिन्नता देखिँदैन ।

नेपाली समाजले जङ्गबहादुरको पालादेखि अनबरतरूपमा जातव्यवस्था र ब्राह्मणवादको संस्कृतिलाई निष्टापूर्वक धान्दै आइरहेको छ । आजपनि नेपालका बहुसङ्ख्यक जनताहरू पुर्पुरो ठोक्दै, बेसार–पानी पिउँदै तिनै मुठिभर मान्छे र उसका परिवारको सेवा शुश्रूषामा जुटिरहेका छन् । र, त्यसैलाई उनीहरू आफ्नो भाग्यको फल ठान्दछन् । भाँडमा जाओस् विकास र समृद्धि ।

डा. डोरबहादुर विष्ट भन्नुहुन्थ्यो, भाग्यवाद अथवा ब्राह्मणवाद नै नेपालको विकास र उन्नयनको मुख्य बाधक हो । उनको धारणा थियो, भाग्यवादी संस्कृतिले तत्कालीन नेपाली समाजको उत्पादकत्वलाई अवमूल्यन मात्रै गरेन, हतोत्साहित र निर्बलपनि बनायो । त्यही संकृतिले विदेशी संस्कृति र हस्तक्षेपलाई बढावा दियो ।

ब्राह्मणवादीहरूले नै नेपालीहरूको भाग्य लेख्न थाले । आजपर्यन्त नेपालका कुनैपनि क्रान्तिहरूले नेपालीहरूको भाग्य लेख्ने कलम तथाकथित उच्च नृजातीय समुदायको हातबाट खोस्न सकेको छैन ।

आज पनि एमसिसी भित्र्याउने हतारो उनीहरूलाई नै छ । हिजोका कोशी, गण्डक सम्झौता गर्नेहरूपनि उनीहरूनै थिए । महाकाली सन्धिभित्र नेपालीहरूको भाग्यमा लाभैलाभ फलेको देख्नेहरूपनि उनीहरू नै थिए । उनीहरूको जयगान र देवत्वकरणमा दिलोज्यान दिएर लाग्ने ‘आफ्ना–मान्छे र चाकरीवाजहरू’ हिजोको राणा र पञ्चायत कालमाभन्दा आज सयौं गुणा बढेका छन् । यता, मिहेनती र उद्यमी सन्तानकी कुन्तीरूपी आमाहरू सन्तानहरूलाई खाडीमुलुक पठाएर पुर्पुरो र कोखलाई सराप्दै धुरुधुरु रोएर बस्न विवश छन् ।

यस्तो लाग्छ, यिनीहरूलाई कुनैपनि सम्झौता पत्रको धारा, उपधारामा के के लेखिएको छ ? कस्ता खालका बारबन्देज र सर्तहरू छन् ? देश र राष्ट्रको हितमा छ कि अहितमा छ ? भन्दापनि त्यहाँ कति पैसा छ ? आफ्नो भागमा कति पर्छ ? त्यो सन्धि र सम्झौताको पर्दाभित्र लुकेर कति कालोधन आर्जन गर्न सकिन्छ ? कतिजना आफ्ना मान्छेलाई जागिर लगाउन सकिन्छ ? र, कति चाकरीवाजहरूलाई पाल्न सकिन्छ ? भन्ने कुराले महत्व राख्दछ ।

अरु कुरा छोडौं । ‘… देख्नेलाई लाज भनेजस्तो’ असुहाउँदिलो कुरा चाहिँ के भइराखेको छ भने, यतिबेला मुलुकमा सर्वहारा वर्गको अधिनायकत्वको वकालत गर्ने र साम्यवादलाई गन्तव्य ठान्नेहरूको लगभग दुईतिहाइको सरकार छ । तर, ब्राह्मणवादको अगाडि साम्यवादको दर्शन– मार्क्सवाद, लेनिनवाद र माओवादको हातल यति पतला छ कि सर्पको मुखमा परेको भ्यागुताको जस्तै छ ।

अथवा सरल भाषामा भन्दाखेरि यतिबेला ब्राह्मणवादी सर्पको मुखमा परेको छ मार्क्सवादी दर्शन । र, जत्तिनै फत्र्याक–फत्र्याक गरेपनि ब्राह्मणवादको मुखबाट बाँच्ने सम्भावना छैन । लगभग आधाजसो निलिसकेको छ ।

ब्राह्मणवादको आलोचना गर्दै डा. डोरबहादुर विष्ट भन्थे, ‘वैदेसिक सहायताको नाममा भित्रिने फोरेन एडबाट स्वदेशी इलमीहरू भालाम्वित हुँनै सकेनन् ।’ अथवा ब्राह्मणवादी संस्कृतिका संस्थापकहरूले त्यसो गर्नै चाहेनन् । त्यसको फाइदा आफूहरूले मात्रै लिए । र, जति फाइदा लिएपनि कहिल्यै सन्तुष्ट भएनन् । जति खाएपनि अघाएनन् ।

उनीहरूले न वैदेशिक सहायतालाई नेपालको विकास र उन्नयनमा लगानी गरे । न स्वदेशी उत्पादकत्वलाई व्यवसायिक बनाए । न नेपालको मौलिक हस्तकला र उद्योग व्यापारको विकास र विस्तार गरे । बरु, उल्टै हाम्रा मौलिक उत्पादकत्वलाई विकासको मूल प्रवाहबाट अलग्याउने काम गरे ।

डोरबहादुर विष्टको विचारमा भाग्यवाद नेपालका कुनैपनि र कहिँका पनि आदिवासीहरूको मौलिक संस्कृतिको हिस्सा थिएन । उनीहरू भाग्यमा भन्दा कर्ममा विश्वास गर्थे । यसको जल्दोबल्दो उदाहरण नेपालका हरेक ऐतिहासिक शहरहरूलाई हेर्दाखेरि थाहा हुन्छ ।

नेपालमा जत्तिपनि बास्तु–कला, हस्तकला, भाषा, संस्कृति, परम्परा, भेषभुषा, भोजन, उद्योग-व्यवसायको विकास भएको छ, जातव्यवस्था सुरुहुनु पहिलानै भएको छ । ब्राह्मणवादको उदयभएपछि थप उल्लेखनीय र ऐतिहासिक विकास भएकै छैन । बरु, भएकापनि संग्रालयमा पुर्‍याइएका छन् । हो सिंहदरवार र शितलनिवासका भित्ताहरूमा टाँगिएका फोटाहरू भने निश्चित रूपमा फेरिएका छन । थपिएका छन । र, इतिहास उनीहरूकै लेखिएको छ ।

डा. डोरबहादुर विष्टको ‘फेटालिजम आण्ड डिभलप्मेन्ट …’ भन्ने पुस्तक पढ्दाखेरि आजकै राजनीति र समाज पढेजस्तो लाग्छ । धन्न, पोहोरसाल गुठी बिधेयकको विरोधमा काठमाण्डौंका आदिवासी जनताहरू जागेका थिए । पाँच पाण्डवकी आमा कुन्तीकै जस्तो ‘यो सबै भाग्यकै फल हो’ भनेर गुठी बिधेयकको दीपावली गर्नतिर लागेका भए, गुठीको जमीनको अवस्था बालुवाटारकै जस्तो हुनेथियो । यतिबेलासम्म क्रान्तिकारी कामरेडहरूका आलिशान महलहरू ठडिइसकेका हुनेथिए, सायद त्यहाँ ।

शब्दहरू अलि कठोर लाग्लान् । तर, कसैको पनि मुलाहिजा नगरिकन भन्ने हो भने, आजपनि तिनै ब्राह्मणवादको गर्भबाट जन्मिएका नृजातीय समुदायहरू आफ्नो दाह्रानङ्ग्रा फिँजाएर राज्यको दोहन गर्ने र समाजको शोषण गर्ने काम गरिराखेका छन् ।

गरिब जनताले खाडी मुलुकमा गएर कमाएको पैसाले देशको अर्थतन्त्र धानिएको छ । तर, यहाँका उच्च ओहोदामा बस्ने कर्मचारी र नेताहरू विश्वका अति विकसित देशहरूको भन्दा धेरै सेवा र सुविधा लिन्छन् । र, सेवा र सुविधा वापद उनीहरूले लिने रकम लगभग सबैजसो विदेश जान्छ । किनभने उनीहरूका छोराछोरी विदेशमै हुन्छन् । उनीहरूको घर विदेशमै हुन्छ । औषधी उपचार, शिक्षादीक्षा सबै विदेशमै हुन्छ । यहाँ त उनीहरू नेपालका गरिब जनताको भाग्य देखिदिन मात्रै बसेका हुन् । कति महान छन् ।

अघिल्लो सरकारको पालामा नेकपाका एकजना मन्त्री लालबाबु पण्डितको ताउरमाउर र फुर्तीफार्ती ‘तारिफे काबिल’ थियो । तर, थियो त, ब्राह्मणवाद बिरोधी । त्यसैले उनको ताउरमाउर धेरैदिन टिकेन । राज्यको ढुकुटी दोहन, विदेशी सेवा र सुविधा ग्रहण, शान–ओ–शौकत ब्राह्मणवादको सारभूत चरित्र हो । र, ब्राह्मणवादविरुद्ध सिंगौरी खेलेर नेकपाभित्र टिकिरहने कुरा सम्भव थिएन । फलतः उनी आत्मसमर्पण गर्न वाद्य भए ।

यतिखेर उनी खटाएर दिएको खाएर बसेका छन् । दलितहरूलाई भीरबाट लडाउन कि खोलामा फ्याकून् । अथवा पुलिस ठानामा कुटेर मारून् कि बलात्कार गरेर सडक किनारमा फ्याँकून् ? उनी केही पनि देख्दैनन् । केही पनि सुन्दैनन् । भाग्यको फल खाएर बसेका छन् । दायाँबायाँ गरे भने दुवाली खान्छन् ।

नेपालका कुनैपनि क्रान्तिहरूले ब्राह्मणवादको विषाक्त बङ्गारा भाँच्न सकेन । आज पनि तमाम आदिवासी र उपेक्षित जन–समुदायहरू तथाकथित उच्च जातीय शासकहरूले आफ्ना छोरानातिको घाँटी निमोठेर खोलामा फ्याँकेको विभत्स दृष्य, प्रहरीले लाठी बर्साएर ठानाभित्रै मारेको भयावह घटना, खान नपाएर चौबाटोमै मरेका दारुण मानवाकृति, बलात्कृत छोरीको क्षतविक्षत शरीर पुर्पुरो ठोक्दै हेरिरहन विवश छन्, नेपाली जनता ।

डा. विष्टको शब्द सापटी लिएरभन्दा राज्यका सम्पूर्ण अङ्गहरूलाई आज पनि ‘आफ्ना–मान्छे’हरूको भर्तिकेन्द्र बनाइएको छ । जनताका सेवा प्रदायक अङ्गहरू सबै चाकरीवाजहरूको जागिर खाने थलो बनेको छ । चाहे त्यो शिक्षा होस्, स्वास्थ्य होस्, न्यायालय होस्, सुरक्षा निकाय होस्, सञ्चार होस् या सामाजिक संघसंस्थाहरू या राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी सङ्गठनहरू नै किन नहून्, सबै ठाउँमा ब्राह्मणवादकै हालिमुहाली छ ।

नेपाली समाजको वर्तमान चरित्र यस्तो छ कि जुन समुदाय नेपालको विकास र उन्नयनको निम्ति आवश्यक छ, त्यस्ता सकारात्मक तत्वहरूलाई मूल प्रभाहबाट अलग्याउने काम भइरहेको छ । उनीहरूको अस्तित्व नै खतरामा छ । र, एउटा निश्चित नृजातीय स्वार्थ समूहले राज्य कब्जा गरिरहेको छ । र विदेशी कल्चरले समाजलाई तबाहतबाह बनाइरमखेको छ ।

कुनै अमुक शासकले गरेको अत्याचार, विभेद र भ्रष्टाचार अप्रिय र आफूले आदर्श ठानिएका मान्छेहरू सत्तामा पुगेर गरेको अत्याचार, विभेद र भ्रष्टाचार प्रिय भन्ने हुँदैन । आज पनि जात व्यवस्था उस्तै छ । नेकपाको सिद्धान्त मार्क्सवाद हो कि ब्राह्मणवाद छुट्याउन गाह्रो छ ।

हुन त समाजिक विभेद, बेथिति, अख्तियारको दुरुपयोगजस्ता साशकीय प्रवृत्तिविरुद्धको लडाईं निरन्तर चल्ने प्रकृया हो । र, परपीडकहरूलाई सरापेर र उनीहरूको सत्तालाई फ्याकेर मात्रै सामाजिक न्याय स्थापित हुने होइन । पीडितहरूले पनि आफूभित्रको अन्धविश्वास र भाग्यवादको निरङ्कुश सत्तालाई भत्काउन सक्नुपर्छ ।

त्यसैले शासकहरूको मात्रै होइन, शासितहरूको मनोविज्ञानमा पनि परिवर्तन आउन जरुरी छ । त्यही काम चाहिँ आजसम्मका आन्दोलन र क्रान्तिहरूले फच्चे गर्न सकेका छैनन् । प्रचलित कानून र संविधानमा जे जे बद्लिएको भएपनि हामीले हाम्रा परम्परागत संस्कार, मान्यता र संस्कृतिलाई बदल्न सकेका छैनौं । केवल राजा फेरेका छौं, संकार फर्न सकेका छैनौं । त्यसैले हाम्रा पुर्खादेखि खोज्दै आएकको समृद्धि र विकास आजसम्म पनि भेटाउन सकेका छनौं ।

हाम्रा प्रिय पात्रहरू, भाग्यविदाताहरू, भगवानहरू आज पनि उनीहरूनै छन् । एक शताब्दी पहिला पनि उनै थिए । सीमा उनीहरू नै बेच्छन् । असन्तुलित सन्धि सम्झौता उनीहरूनै गर्छन् । वैदेशिक हस्तक्षप र साम्राज्यवादका दलालहरूलाई रातो कार्पेट ओछ्याएर स्वागत उनीहरू नै गर्छन् । हामी जनता उनीहरूकै जयगान गाउँछौं । त्यसैले दोष पुजिनेहरूको मात्रै छैन । पुज्नेहरूमा पनि छ । दोष ब्राह्मणवादमा मात्रै छैन, मार्क्सवादलाई निलेको टुलुटुलु रमिता हेरेर बस्नेहरूमा पनि छ ।

(लेखक हाल साउदी अरबको जेद्धामा कार्यरत छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय