scheduleबुधवार मंसिर १७ गते, २०७७

ओलीले घुमाएका हुन् वा अरु सबै घुम्न राजी भएका हुन् ?

काठमाडौं, ६ साउन । गत असार १८ गते प्रारम्भ भएको नेकपा स्थायी समितिको बैठक मिति तोक्दै स्थगन गर्दै गरेको ८ पटक भयो । पहिलो त– यो बैठक नै अनिच्छापूवर्क बोलाइएको थियो । २० जना स्थायी समिति सदस्यले बैशाखको दोस्रो साता नै बैठक बोेलाउँन अध्यक्षद्वय सामु संयुक्त निवदेन दिएका थिए ।

गत वैशाख ८ गते प्रधानमन्त्री ओलीले हठात् दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएपछि सिंगो देशजस्तै नेकपा स्थायी समिति पनि तरङिगत भएको थियो । चर्को विरोधका कारण ओलीले केही दिनभित्रै अध्यादेश बाध्य भएर फिर्ता लिए । तर, त्यो गल्तीका लागि कुनै सार्वजनिक क्षमायाचना भने गरेनन् ।

अध्यादेशकै सरोफेरोबाट ओलीको राजीनामाकोे माग उठ्ने गरेको थियो । स्थायी समितिमा राजीनामा माग्नेहरुको बहुमत प्रष्ट देखिएपछि ओलीले बैठक टार्दै गए । प्रम ओलीले आफ्ना निकटस्थसँग भन्ने गरेका थिए, ‘किन राख्छु बैठक ? त्यहीँ मेरो राजीनामा माग्दछन् भन्ने थाहै छ । आफ्नो राजीनामा माग्ने बैठक आफै बोलाउन केको हतारो ?’

नभन्दै ओलीले पार्टी बैठक नबोलाइकन दुई महिना बिताई दिए । चर्को दबावको कारण अन्ततः उनी बैठक बोलाउन बाध्य हुनु पर्‍यो तर अहिले बैठकलाई यो वा त्यो निहुँमा बारम्बार स्थगन गर्दै अर्थहीन बनाइदिएका छन् ।

छैठौंपटकको बैठक स्थगन भएपछि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले ट्वीट गरेका थिए, ‘अब त लाज लाग्न थाल्यो ।’

बारम्बार बैठक स्थगन हुँदा पाण्डे मात्र हैन, सबैजसो स्थायी समिति सदस्य भित्रभित्रै मुर्मुरिएका छन् । उनीहरुलाई पार्टीको संस्थागत प्रक्रिया अवमूल्यन गरेको र व्यक्तिगत रुपमा आफूहरुको अपमान भएको अनुभूति भइरहेको छ ।

कुनै समय कम्युनिष्टले संस्थागत प्रक्रिया, विधि-पद्धति र अन्तर्पार्टी लोकतन्त्रमा विश्वास गर्ने दाबी गर्दथ्यो । गैरकम्युनिष्ट पार्टीहरुलाई व्यक्तिवादी र पद्धतिहीन भनेर होच्याउने गरिन्थ्यो । आज नेकपा आफैं पद्धतिविहिन भइरहेको छ । बैठकमा दर्ज गरिएका एजेण्डा अलपत्र छन । संस्थागत प्रक्रिया अवरुद्ध छ ।

गैैरसंस्थागत अभ्यास भने तीव्र छन् । कहिले यो गुटको बैठक, कहिले त्यो गुटको बैठक, कहिले कस्लाई फकाउने, कहिले कस्को विरुद्ध कुन तुरुप प्रयोग गर्ने आदि प्रयास भइरहेका छन् । यो क्रम अब सबैका लागि झिंजोलाग्दो हुन थालेको छ ।

लोकतान्त्रिक देशमा सत्तारुढ पार्टीको बैठकप्रति आम चासो, रुचि र जिज्ञासा हुनु स्वभाविक हो । सत्तारुढ पार्टीले लिने निर्णय र अलबम्बन गर्ने कार्यदिशाले धेरै हदसम्म देशको राजनीति कुन बाटोमा जान्छ भन्ने निर्धारण गर्दछ । तसर्थ, नेकपाको ‘बैठक–लीला’ लाई केवल त्यो पार्टीका कार्यकर्ता र समर्थकले मात्र हैन, अरुले समेत नियालिरहेका छन् ।

सत्तारुढ पार्टीले निर्माण गर्ने पार्टी-संस्कृति लोकतन्त्रको चरित्र वा प्रवृति निर्धारण गर्ने एक महत्वपूर्ण आधार हुने कुरा निर्विवाद छ । हिजो नेपाली कांग्रेसभित्र गिरिजा प्रसाद कोइरालाको एकछत्र बर्चश्व हुँदा कोइरालाले पार्टीभित्रका सबै फरकमतवालालाई यसरी नै घुमाउँथे । कम्युनिष्टहरु त्यसलाई कोइरालाको व्यक्तिवाद र कांग्रेसको संस्थागत चरित्रहिनता भन्थे ।

आज नेकपामा ठीक त्यही भइरहको छ । ओेलीको व्यक्तिवाद र नेकपाको संस्थागत चरित्रहिनता छताछुल्ल भएको छ । पार्टी बैठक विधिवत सञ्चालन गर्ने, पार्टी विधानले निर्धारण गरेका प्रक्रियाअनुरुप निर्णय लिने, सबैले निर्णयको पालन गर्ने लोकतान्त्रिक संस्कृति नेकपामा मरेको छ । नेकपामा लोकतन्त्र मर्नु नेकपामा मात्र लोकतन्त्र मर्नु हैन, देशमै लोकतन्त्र मर्न सक्ने सम्भावनाको द्योतक हो ।

नेकपाभित्र अहिले जुन प्रकारको गोलचक्कर देखिन्छ, त्यसलाई ‘ओलीले सबैलाई घुमाए’ जस्तो सरलीकृत अर्थमा लिन हुँदैन । यहाँनेर प्रश्न उठछ– ओलीले सबैलाई घुमाएका हुन वा अरुले ओलीद्वारा घुमाई माग्न मज्जा मानेका हुन् ?

ओलीले मात्र घुमाएका हुुन् भने अरु किन घुम्नु ? ओली बाहेक अरु सबैले संस्थागत प्रक्रिया अबलम्बन गर्दा भो । विधिवत् बैठक बस्ने बहुमतको निर्णय माइन्युट गर्ने, निर्णय पालना नगर्नेलाई कार्वाही गर्ने । यसो गर्न ओली बाहेककाहरु राजी छन् त ? पक्कै छैनन् ।

तसर्थ, यो गोलचक्करलाई केवल ओलीले घुमाएको अर्थमा लिन उचित छैन । अरु सबै पनि घुम्न राजी भएको अर्थमा बुझ्नु पर्दछ ।

यतिका लामो इतिहास, अभ्यास र अनुभव भएको पार्टीको नेतृत्वदायी कमिटी आफै कुनै अमूक व्यक्तिको स्वार्थमा घुम्न राजी हुन्छ भने व्यक्तिभन्दा बढी समग्र संस्थाकै दोष हुन्छ ।

नेकपा स्थायी समितिको बैठक बारम्बार स्थगन हुनु नेकपाकै संस्थागत चरित्र पतनको प्रमाण हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay