scheduleबुधवार मंसिर १७ गते, २०७७

नजिकबाट हेर्दा लाग्थ्यो- बिपी नेता होइनन्, फकिर हुन्

मलाई लाग्छ, युवाहरु पनि कतिपय बेला मानसिक दृष्टिबाट वृद्ध हुनसक्छ र वृद्ध पनि युवा हुनसक्छन् ।

बिपीबारेको प्रश्नका दुई पक्ष छन् । लामो समयसम्म संगत गरेको तथ्यका आधारमा मैले चिनेको बिपी चर्चाको एउटा पक्ष हुनसक्छ । त्यस्तै अहिले चर्चामा रहेको राष्ट्रियता, समाजवाद र उहाँले पुर्‍याउनु भएको योगदानका बारेमा पनि केही चर्चा गर्नुपर्छ ।

आजको दिनमा बिपीलाई कसरी सम्झने ? यदि आज बिपी बाँचिरहनु भएको भए आज जुन राष्ट्रवादका नाममा वितण्डा र पाखण्ड खडा गरिएको छ, त्यसलाई बिपीले कसरी चिर्नुहुन्थ्यो ? यसको व्याख्या उहाँले कसरी गर्नुहुन्थ्यो ? यस अन्यौलका बीचमा नेपाली कांग्रेसका कार्यकर्तालाई लोकतन्त्रवादीलाई, प्रजातन्त्रवादीलाई कसरी मार्गदर्शन गर्नुहुन्थ्यो ? आजको दिनमा यी दुई पहलुका बारेमा चर्चा गर्नुपर्छ ।

मैले मात्रै भन्दा पनि मेरो पुस्ताले चिनेको बिपीबारे चर्चा गर्नुपर्छ । हाम्रो सभापति शेरबहादुर देउवाले, वरिष्ठ नेता रामचन्द्र पौडेलले, मैले पनि सँगसँगै जस्तो बिपीलाई चिन्यौं ।

१९६८ को अक्टोबरमा उहाँ जेल पर्नुभयो । त्यसपछि विभिन्न चरणमा, विभिन्न प्रकारले उहाँसँग संगत भयो ।

अक्सर हामी एकसाथ तीन चार तहमा जीवित रहन्छौं । हामी मनुष्यको ठूला होउन वा साना मान्छेको पनि व्यक्तित्वबाट प्रभावित हुन्छ । त्यो मान्छे कति आँटिलो छ, कति साहसिलो छ, कति दयालु र मायालु छ । यी व्यक्तित्वहरुले हामीलाई छाप पार्छ ।

उक्त व्यक्तिले के कस्ता घटनामा के कस्ता भूमिका खेल्यो ? देशमा संकट पर्दा त्यो व्यक्ति कहाँ उभियो ? कतापट्टि कुन कित्तामा उभियो ? जनताको पक्षमा उभियो कि शासकको पक्षमा उभियो ? शोसकसँग उभियो कि शोषितसँग उभियो ? सत्यसँग उभियो कि पाखण्डसँग उभियो ? यो कुरा उसको विचारधाराको अंग हुन्छ । यसले पनि हामीलाई प्रभावित गर्दछ । यसलाई हामी घटनाको रुपमा लिन सक्छौं ।

जति मानिस नेपाली कांग्रेसको नाममा सहिद भए, उनीहरु सबैलाई समाजवादको साङ्गोपाङ्गो व्याख्या थाहा थिएन होला । तर उनीहरुले बलिदान दिए । ओखलढुंगा काण्डका सहिदहरु, ९७ सालका सहिदहरु, बीचमा भएका संघर्षहरुका अनेकानेक सहिदहरु । उनीहरु सबैलाई ‘ल तिमीहरु गएर भाषण गर युएनओमा समाजवादका बारेमा’ भन्दा सायद गर्न सक्दैन थिए होला । तर उनीहरुले जीवनबाट देखाए । कर्मबाट देखाए । व्यक्तित्वबाट देखाए । बलिदान नै गरेर देखाए । यसबाट पनि हामीले प्रेरणा लिन्छौं ।

तेस्रो हुन्छ- विचारधारा । मार्क्सले के भने ? गान्धीले के भने ? लेनिनले के भने ? बिपीले के भन्नुभएको छ ?

बिपीको व्यक्तित्वबारे कुरा गर्दा उहाँबारे मेरो अलि पूर्वाग्रह हुनसक्छ । मैले बाल्यकालमा, मेरा पिताजी जिल्ला कांग्रेसका सभापति हुनुहुन्थ्यो, त्यतिबेला ठूलो जिल्ला थियो । अहिलेको सिरहा-सप्तरी एउटै जिल्ला थियो । मेरा काका नेपाली कांग्रेसका संस्थागत सदस्य हुनुहुन्थ्यो ।

मेरो लागि उहाँ लामो समयसम्म एउटा देवत्वकृत गरिएको व्यक्तित्व हुनुहुन्थ्यो । पछि मेरो साक्षात्कार उहाँसँग भयो । मलाई लाग्छ- ३० अक्टोबर १९६८ मा उहाँ छुट्नुभयो, उहाँ छुटेको थाहा पाउनासाथ म हिन्दूस्थानबाट काठमाडौं आएँ । म हिन्दूस्थानमा थिएँ । मेरो सरोज कोइरालासँग संगत थियो ।

म भीमबहादुर तामाङ र सरोज कोइरालासँग बिहानीपख घुम्दै थिएँ । खबर थाहा पाएपछि ‘तिमी गइहाल्नुपर्‍यो’ भन्नुभयो । स्व. सरोज कोइरालाले चिठी लेखेर दिनुभयो । चिठी लिएर आएँ उहाँलाई चाबेलको घरमा ।

चिठीमा पार्टीको बाहिरको अवस्था यस्तो छ है भनेर उल्लेख थियो । त्यो भेटपछि मेरो भेट उहाँको देहान्तको २५-३० दिन अगाडि उहाँ चाबहिलमा अन्तिम शैय्यामा हुनुहुन्थ्यो, शैलजा छेउमा हुनुहुन्थ्यो । आमाहरु भित्र हुनुहुन्थ्यो, त्यहाँ मेरो भेट भयो ।

सयौं शब्दहरुमा भन्न नसकिने कुरा कहिलेकाँही सानो कविताले भनिदिन्छ । बिपी कस्तो हुनुहुन्थ्यो ? देवकोटाको कवितामा भन्दा उहाँलाई कुनै लोभलाभ, व्यक्तिगत लालसा थिएन । छर्लङ्ग थिएन । देख्नेबित्तिकै थाहा पाइन्थ्यो यो मान्छेलाई अरु जे जे चाहिए पनि सत्ता, पद र पैसा चाहिएको होइन भन्ने उहाँलाई भेट्दासाथ थाहा हुन्थ्यो । देवकोटाको कविता छ-

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ

आफू मिटाई अरुलाई दिनु जहाँ छ

बिपी कोइरालाको सिङ्गो व्यक्तित्व यही कविताले प्रतिनिधित्व गर्छ ।

सभापति शेरबहादुर देउवाले भन्नुभयो । बिपीले कहिले पनि पदको लोभ गर्नुभएन । पदको उहाँलाई मतलब नै थिएन । म एक शब्द अगाडि बढेर भन्छु- उहाँले सत्ताको पनि लोभ गर्नुभएन । कहिलेकाँही सत्ता नेताले चाहिने हुन्छ । पदभन्दा बाहिर बसेर पनि सत्ताको उपयोग, सदुपयोग र ज्यादाजसो दुरुपयोग भइरहेको छ । बिपीले पद र सत्तालाई फरक गर्नुभयो । पदभन्दा सत्ता ठूलो कुरा भन्ने उहाँलाई थाहा थियो । उहाँको लगभग अन्तिमजसो अन्तर्वार्ता उहाँले लण्डनमा बिरामी भएर इलाज गर्न गएको बेलामा बीबीसीलाई दिनुभएको थियो । सुरक्षित राखेको रहेछ । केही समयअगाडी त्यो अन्तरवार्ता नेपालीमा उतारेर १२खरी मै छापिएको थियो ।

त्यहाँ उहाँलाई सोधिएको छ- अब तपाईं नेपाल गएपछि राजाले अफर गरे भने प्रधानमन्त्री बन्ने हो ? बिपीले भन्नुभयो- म प्रधानमन्त्री बन्न बाँचेको होइन । प्रधानमन्त्री बन्न संघर्ष गरेको होइन । म प्रधानमन्त्री भन्दा धेरै ठूलो मान्छे बन्न चाहन्छु । कता कता ठूलो ।

भनेको तात्पर्य के थियो भने उहाँले ठूलो मानिसको परिभाषा पहिले नै दिइसक्नुभएको थियो मोदी आइन् भन्ने उपन्यासमा । मान्छे ठूलो होइन, असल हुनुपर्छ ।

उहाँ पदमा महानता छ भन्ने मान्नु हुँदैनथ्यो । पदभन्दा पनि माथि देवकोटाको कवितामा भन्ने हो भने- उद्देश्य के लिनु उँडी छुनु चन्द्र एक । त्यो भनेको के हो ?

म युवा पुस्तालाई आह्वान गर्न चाहन्छु । नेपाल सानो मुलुक छ । ठूलै मुलुक सही भारत नै सही, अमेरिका नै सही, पदभन्दा ठूलो कुरा के हुन्छ ? अमेरिकामा कति राष्ट्रपति भएका छन् ? कतिको नाम तपाईंलाई थाहा छ ? केही राष्ट्रपतिको मात्रै नाम याद आउँछ । वासिङ्गटन, जेफर्सन, लिंकन अमेरिकी इतिहासका ज्ञाताले भन्नेछन् कि तीनवटालाई बिर्सने हो भने अमेरिकन् राष्ट्रको इतिहास समाप्त हुन्छ । धेरै राष्ट्रपति हुन्छन्, धेरै प्रधानमन्त्री हुन्छन् । तर तिनीहरुको नाम इतिहासमा एक पंक्ति पनि लेखिन्नँ । बिपी भन्नुहुन्थ्यो- त्यसैले प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बन्नु उचित छैन ।

बिपीको व्यक्तित्वलाई नजिकबाट हेर्दा के लाग्थ्यो भने त्यो मान्छे नेता होइन । मन्त्री होइन, अध्यक्ष पनि होइन, प्रधानमन्त्री पनि होइन, यो मान्छे फकिर हो । हेर्दा लाग्थ्यो यी मानिस फकिर हुन् भनेर ।

बिपीको त्यो चिठी धेरै पहिले मैले फेला पारेँ । उहाँले २०१३ सालमा त्यतिबेला पार्टीका स्थानीय नेताहरु ओमप्रकाश गौचनलाई २०१३ सालमा चिठी लेख्नुभएको रहेछ । चिठीमा बिपीले लेख्नुभएको रहेछ- राजनीतिक कार्यकर्ता बन्ने भनेको फकिरको जस्तो जीवन बिताउन सक्नुपर्छ । उहाँले फकिर होइन, जोगी लेख्नुभएको छ । त्यो चिठी मैले उहाँकै हस्ताक्षरमा छापिदिएको छु ।

राजनीति गर्ने भनेको घरबार बसाउने होइन, फकिर बन्ने हो । म चाहन्छु- युवा पिंढीले बिपीको शिक्षालाई आत्मसाथ गरुन् । भरसक् सबै नेविसंघले गरुन् । सबै तरुण दलले नगर्दा पनि तीमध्ये दुईचार सयले गरुन् । दश बीसले गरुन् । यो बिपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

बिपीलाई हेर्दा अन्तिम क्षणसम्म पनि, जब उहाँ क्यान्सर रोगले ग्रस्त हुनुहुन्थ्यो, उहाँको मुस्कुराईरहेको अनुहार हेर्दा कस्तो अनुभव हुन्थ्यो ? बिपीले पनि सुनेको जानेको कवयित्री थिइन् ।

रोम रोम में बासन्ती तरुणाई झाँकी ,

तुमने देखी नहीं मरण की वह छबि बाँकी !

मरणको बेला पनि रौं रौंमा बासन्ती तरुणाई झाँकी । त्यो शौभाग्य हामीले पायौं । नेपाली कांग्रेसको इतिहासमा बिपी, गणेशमान, किसुनजी । नेताहरु त धेरै हुनुभयो । कुनै पनि दृष्टिकोणले अवमूल्यन गर्न नमिल्ने अरु नेता पनि हुनुभयो । सुवर्णजी, सूर्यबाबु, गिरिजाबाबु हुनुभयो । उहाँहरु सबैप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु म । तर, यी तीनजना फकिरजस्ता थिए । फकिरसँगसँगै यसको आग्नेय रुप हुन्छ, त्यो यी तीन व्यक्तिहरुसँग थियो । अब यहाँभन्दा बढी बिपीको व्यक्तित्वको बारेमा केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन ।

बिपीले यस्तो जीवन जिउनुभयो, त्यसलाई देख्दा कस्तो लाग्छ भने बारम्बार फाँसीको सजायँ, राणाकालमा खतरा लिएर, ज्यान हत्केलामा लिएर आउने, आखिरी क्षणसम्म पनि आफ्नो सिद्धान्तप्रति अडिग रहने, टसमस नगर्ने । यस्तो देखिन्छ- बिपीको सम्पूर्ण जीवन कस्तो छ भने सहिद राम लक्ष्मण जस्तै । सहिद दुर्गानन्द जस्तै । उसे जिना नही आया, जिसे मर्ना नही आया । बिपी यस्तै समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । नयाँ पिंढीले यो व्यक्तित्वबाट प्रेरणा लिऊन् । बिपीको लोकप्रिय जीवनी बाल्यकालमा मान्छेले पढ्न सक्ने, किशोरहरुले पढ्न सक्ने गरी छपाउनुपर्छ ।

(बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसद्वारा आयोजिक कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले राखेको विचारको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay