scheduleबिहिवार आश्विन १५ गते, २०७७

नसीरुद्दिन शाहलाई रिस किन उठ्छ ?

अमिताभ

प्रसिद्ध अभिनेता नसीरुद्दिन शाहकोे एक चर्चित फिल्म हो– ‘अल्बर्ट पिंटोको गुस्सा क्यों आता है ।’ पर्दामा उनले निभाएको भूमिकालाई पर्दा बाहिरको संसारसंग जोड्ने हो भने निक्कै अर्थपूर्ण प्रश्न खडा हुन्छ– नसीरुद्दिन शाहलाई रिस किन उठ्छ ?

पछिल्लो केही समय यता नसीरुद्दिन शाह आफ्नो फिल्मी संसारको अतिरिक्त विद्यमान राजनीति र समाजको ढाँचाप्रति असन्तुष्ट देखिन्छन् । उनले आफ्नो रिस र बेखुशीलाई लुकाएका छैनन् । उनी समाजमा बढ्दो असहिष्णुता, अल्पसंख्यकहरुको सवाल, भीडद्वारा हुने हिंसा, धर्मआधारित राजनीतिको तीव्र आलोचना गर्दछन् ।
यी सवालमा उनी आफ्ना धारणा प्रष्टसँग राख्दछन् । यस बापत उनले मुलधारदेखि सामाजिक सञ्जालसम्म काफी आक्रमणको सामना गर्नु पर्दछ । यस्ता आक्रमण र प्रहारले उनलाई भयवित गर्न सकेको छैन । उनी गाली र निन्दाको तारो बनिने डरले चुप लाग्दैनन् ।

त्यसो भए यो प्रश्न खडा हुन्छ– नसीरुद्दिन शाहलाई रिस किन उठ्छ ? किन उनीहरु अरु नामी अभिनेताझैं मौन बस्दैनन् ? किन उनी आफ्नो काममा मात्र सीमित हुँदैनन् ? किन उनी सरकार र समाज व्यवस्थाको समर्थन गर्दैनन् ?

शाह अहिले ७० वर्षको भएका छन् । यो उमेरमा आइपुग्दा उनले आफ्नो कामको बलबुतामा एक शानदार उचाई हासिल गरिसकेका छन् । व्यक्तिगत हिसाबले उनले सन्तोेष र गौरव गर्न सक्ने ठाउँ छन् । उनको सफलता उनका समर्थक र प्रशंसकहरुको लागि समेत एक अद्वितीय आत्मिक आनन्दको बिषय बन्दछ ।

नसीरुद्दिन शाहका प्रशंसकहरुको लागि उनी त्यस्ता समानान्तर सिनेमाका नायक हुन् जसमा उनी आक्रोशित, दमित, शोषित, व्यथित आम मानिसको अलगअलग स्मरणीय भूमिका निर्वाह गर्दछन् । शाहका यी भूमिकाहरु आम समाज व्यवस्थाप्रति खुसी हुँदैनन् । मूलतः समाज व्यवस्थामा विद्यमान शोषण र दमनप्रति असन्तोष राख्दछन् ।

श्याम बेनेगल र गोविन्द निहलानीजस्ता फिल्मकारहरुले सत्तरीको दशकका अन्तिम वर्षहरुदेखि आर्थिक उदारीकरणको शुरुवातसम्म जुन सिनेमा बनाए, ती हिन्दी सिनेमाको स्वप्निल संसारभन्दा फरक थिए । ती सिनेमाले जीवनको यथार्थ र कठिनाईलाई पर्दामा ल्याउँथे ।

‘जुनुन’ को एक उग्र क्रान्तिकारी, ‘पार’ को शोषित, ‘आक्रोश’ को वलिक, ‘अल्बर्ट पिन्टो’, ‘स्पर्श’ को दृष्टिविहीन शिक्षक र ‘जाने भी दो यारो’ जस्ता कमेडी फिल्मको अन्तिमसम्म आइपुग्दा आक्रोशित नागरिकका भूमिका हुन् वा ‘ अ वेडने सन्डे’ को मध्यम वर्गीय रिसाहा बुज्रुक, रिस शाहको छवि बन्न पुग्यो ।

अमिताभ बच्चन मूलधार भनिएका मसलेदार सिनेमाका ‘एंग्री एंगम्यान’ थिए भने शाह समानान्तर सिनेमाका ‘एंग्री एंगम्यान’ । कला सिनेमा भनिने यी यस्ता सिनेमामा ओम पुरी शाहका साझेदार थिए ।

शाहको अभिनय यात्रा दिल्लीको राष्ट्रिय नाट्य विद्यालयको प्रशिक्षणबाट शुरु भयो । पुना फिल्म इस्टिच्युटको तालिमपछि उनले ‘निशान्त’ र ‘मन्थन’ जस्ता सिनेमामा काम गरे । ‘जुनुन’, ‘स्पर्श’, ‘आक्रोश’, ‘भवानी बाई’, ‘बाजार’, ‘पार’, ‘जाने भी दो यार’, ‘मंडी’, ‘मासुम’, ‘मिर्च मसाला’, ‘कथा’ जस्ता थुप्रै सिनेमाको साथसाथ उनले दुरदर्शनमा गुलजारको धारावाहिक ‘मिर्जा गालिब’ मा गालिबको केन्द्रीय भूमिका समेत निभाए ।

नसीरुद्दिन शाहले श्याम बेनेगलको धारावाहिक ‘भारतः एक खोज’ मा शिवाजीको भूमिका निभाएका थिए । पृथ्वीराज कपूरलाई पर्दामा देख्दा जसरी मान्छेको आँखामा अबकरको छवी उभिदिन्छ, यस्ता जादु नसीरुद्दिनले गालिबको भूमिकामा गरेका छन् । फिल्मी संसारको यति ठूलो सफलतापछि पनि नसीरुद्दिन किन असन्तुष्ट होलान् ?

पेशागत सफलता मात्र जीवनको सम्पूर्णता हैन । कलाकारले यसभन्दा बढी अरु नै केही चिजको खोज गर्दछ । अलिकति गम्भीर भएर सोच्ने हो भने कुनै काम, पेशा, रोजगारीसँग जोडिएको एक संवेदनशील, इमान्दार, प्रतिभाशाली र प्रतिबद्ध मान्छे आफ्नो देश, समाज, त्यसको प्रचलन, संस्थाहरुबाट बेखबर वा उदासिन हुँदैन ।

कुनै पनि संवेदनशील व्यक्ति शोषणकारी समाज व्यवस्थाप्रति सन्तुष्ट हुन सक्दैन । जब कुनै व्यवस्था व्यापक लोककल्याणप्रति समर्पित हुनुको साटो केही सीमित व्यक्तिहरुको फायदाका लागि संगठित हुन र काम गर्न थाल्दछ, समाजको ठूलो अंशमा स्वभाविक रुपमा असन्तोष उत्पन्न हुन्छ । यस्तो असन्तोषको आधार धार्मिक, जातीय, आर्थिक, लैङिक वा वर्गीय जे पनि हुन सक्दछ ।

कलाका कुनै पनि माध्यमले यस्ता असन्तोषलाई प्रतिकात्मक अभिव्यक्ति दिन्छन् । शाह सिनेमा कलामार्फत् अहिलेसम्म त्यही गरिरहेका थिए । शाहले जुन भूमिका गरे, ती अरुले नै सृजना गरेका पात्र वा चरित्र थिए । कथा र संवाद अरुको थियो । शाहले अभिनयमार्फत् त्यसलाई जीवन्त पार्थे । पर्दामा शाहको रिस निर्देशक तथा कथालेखको रिस थियो ।

तर, पर्दा बाहिरको रिस भने अरु कसैको हैन, शाहको आफ्नो रिस हो । शाह सिनेमा क्षेत्रकै बारेमा पनि कहिल्यै मौन बसेनन् । उनले दिलीप कुमार, अमिताभ बच्चन, राजेश खन्नाजस्ता ठूलाठूला स्टारहरुको यथोचित आलोचना गरेका छन् । अरु त्यसो गर्दैनथे । अरु चुपचाप काम गर्थे, नाम र दाम कमाउँथे । शाह भने फिल्म उद्योगका कमजोरीहरु औल्याउँथे र सुधार गर्नु पर्ने ठाउँबारे बोल्दथे ।

शाह ठूला कलाकारहरुलाई यसर्थ आलोचना गर्दथे कि उनीहरु कलाकारितालाई बजारको बिकाउ माल सम्झन्छन् । पर्दाको रिस उनी पर्दामै पोख्थे तर पर्दा बाहिरको रिस पोख्न उनले पर्दा बाहिर नै आउनु पर्थ्यो ।

नसीरुद्दिनले मसला फिल्म पनि गरे । तर ती मानिसलाई जचेनन । ‘त्रिदेव’ मा जब शाह तेर्सो टोपी लगाएर नाच्छन्, गाउँछन्, रोमान्स गर्छन्, मान्छेहरु आश्चर्यचकित हुँदै सोध्थे– नसीरुद्दिनले यो के गरेको यस्तो ? उनी भन्थे–‘काम गरेको, पैसा कमाको, मेरो पनि परिवार छ, मैले पनि परिवार पाल्नु पर्छ ।’

शाह केवल सामाजिक प्रतिबद्धताका लागि अभिनेता भएका हैनन् । उनलाई पनि बचपनदेखि नै नाम कमाउने रहर थियो । त्यसैले फिल्म उद्योगबारे उनका आलोचना कतिपय मानिसलाई मन पर्दैन । आफूलाई पुग्दो कमाएपछि फिल्म उद्योगलाई गाली गर्नु नौ सय मुसा खाएपछि बिरालो हज गर्न हिँडे जस्तै हो ।

तर शाहका आलोचनाहरु फिल्म उद्योगप्रति मात्र सीमित हुँदैनन् । बितेका ५–६ वर्षभित्र शाह थुप्रै राजनीतिक तथा सामाजिक सवालमा बोलेका छन् । उनको विरोधलाई उनी मुस्लिम हुनु र भाजपा विरोधी भावना र मनोविज्ञान हुनु हो भन्ने ठानिन्छ । यही कारण हो कि शाह सधैं दक्षिणपन्थी राजनीतिककर्मीहरुको निशानामा हुन्छन् ।

यो काममा राजनीतिक दलका नेता कार्यकर्ता, तथा सामाजिक मिडिया प्रयोगकर्ता मात्र लागेका हुँदैनन, सिने क्षेत्रका उनका पुराना साथी पनि हुन्छन् । एक संवेदनशील र आलोचनात्मक चेतना भएका कलाकारमाथि बारम्बार प्रहार हुनु निक्कै नराम्रो, दूर्भाग्यपूर्ण र आपत्तिजनक काम हो ।

यसले नसिरलाई के फरक पर्ला र ? नसीरुद्दिनको कद यति उँचो छ कि आलोचनाको घेराभित्र पनि उनी शालिनता र सम्मानको हकदार छन् । सायद यही कारणले नसीरुद्दिनको रिस अझ जायज बन्न पुग्दछ ।

सत्यहिन्दी डटकमबाट भावानुवाद गरिएको ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय