scheduleआइतवार आश्विन ११ गते, २०७७

ती वीपी र पुष्पलाल, यी उत्तराधिकारीहरू

साझापोष्ट विश्लेषण

काठमाडौं, ७ साउन । हिजो साउन ६ गते विश्वेश्वरप्रसाद कोइरालाको ३८औं स्मृति दिवस थियो र आज साउन ७ गते पुष्पलालको ४२औं स्मृति दिवस हो ।

वीपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपालको लोकतान्त्रिकरणको युगका महामनिषीहरु थिए । कोत पर्वको बलमा सत्तामा उदाएका जंगबहादुर राणाले जुन जहाँनियाँ शासन स्थापना गरेका थिए, त्यसलाईको अन्त्य गर्ने र लोकतान्त्रिक चेतनाको आलोकमा नेपाली समाजलाई आधुनिकीकरण गर्ने महायज्ञमा यी दुई महामानवहरुको अद्वितीय योगदान रह्यो ।

वीपी वि.सं. १९७१ भाद्र २४ गते बनारसमा जन्मिएका थिए । उनको मृत्यु वि.सं.२०३९ साल साउन ६ गते काठमाडौंमा भएको थियो । वि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठको मृत्यु २०३५ साल साउन ७ गते नयाँ दिल्लीमा भएको थियो ।

वीपी पिताजी कृष्णप्रसाद कोइरालाका छोरा थिए । पिताजी कृष्णप्रसाद राणाशासनको कोपभाजनमा परेका एक समाजसेवी थिए । त्यही कारणले उनको परिवार बनारस बसाईं सरेको थियो । वीपीको जन्म बनारसमा भयो । उनको शिक्षादीक्षा बनारसमै भयो । अंग्रेज शासन विरोधी भारतीय स्वतन्त्रता आन्दोलनमा सामेल भएर वीपीले आफ्नो राजनीतिक जीवन शुरुवात गरेका थिए ।

पुष्पलाल शहिद गंगालाल श्रेष्ठका भाई थिए । प्रजापरिषबाट आफ्नो राजनीतिक जीवन शुरुवात गरेका पुष्पलालपछि नेपाली कांग्रेस हुँदै नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव बन्न पुगे ।

प्रारम्भमा नेपाली राष्ट्रिय कांग्रेस गठन गरेका वीपीले प्रजातन्त्र कांग्रेससंगको एकतापछि नेपाली कांग्रेस बनाएर राणा विरोधी आन्दोलनलाई गति दिए ।
पुष्पलाल भने कम्युनिष्ट विचारबाट प्रभावित हुँदै गए । उनले २००६ सालमा नेपाली कांग्रेस परित्याग गरी आफ्ना केही साथीहरुसहित कोलकाता पुगे । त्यहाँ उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे ।

वीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र संघर्ष गर्‍यो । २००७ सालमा १०४ बर्ष लामो जहाँनियाँ राणशासनको अन्त्य भयो । यो आन्दोलनको क्रममा नेकपा सानो पार्टी थियो । तर राणाविरोधी आन्दोलनलाई समर्थन गरेको थियो ।

किशोर वयमा कम्युनिष्ट विचारबाट प्रभावित वीपी महात्मा गान्धी, जवाहरलाल नेहरु, डा. राममनोहर लोहिया, जयप्रकाश नारायणजस्ता उदार लोकतान्त्रिक तथा प्रजातान्त्रिक समाजवादी नेताहरुको संगत र विचारबाट प्रभावित हुँदै गए । उनले आफनो राजनीति सिद्धान्तलाई प्रजातान्त्रिक समाजवादको रुपमा आकारित गरे ।

पुुष्पलाल भने मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराबाट प्रभावित थिए । पुष्पलालले मार्क्सको कम्युनिष्ट घोषणापत्र र माओको नयाँ जनवादबारे पुुस्तिका नेपालीमा अनुवाद गरे । उनले आफ्नो विचारलाई ‘नयाँ जनवाद’का रुपमा संश्लेषण गरे ।

वीपी र पुष्पलालको चिन्तन प्रणाली, कार्यशैली र राजनीतिक कार्यदिशाबीच व्यापक भिन्नता थियो । वीपी साम्यवादी एकदलीयतालाई ‘प्रजातन्त्र’ मान्दैनथे तर उनी ‘संवैधानिक राजतन्त्र’ पक्षधर थिए । यो वीपीको राजनीतिक चिन्तनको सबैभन्दा ठूलो विरोधाभाष थियो ।

पुष्पलालको राजनीतिक चिन्तनमा पनि यस्ता विरोधाभाष नरहेका हैनन् । सिद्धान्तमा सर्वहारा राज्य र नयाँ जनवादको पक्षपोषण गर्ने पुष्पलाल कार्यदिशामा भने बहुदलीय लोकतन्त्रको पक्षधर थिए । यसबापत कट्टरपन्थी कम्युनिष्ट समूहले उनलाई ‘गद्दार’ र ‘कांग्रेसको पुच्छर’ भन्ने गर्दथे ।

विचारको भिन्नतालाई छोड्ने हो भने दुवैको जीवन असीमित संघर्ष र निष्ठामा बित्यो । २००७ सालको क्रान्तिपछि वीपी केही समयलाई गृहमन्त्री भए । २०१५ सालको पहिलो आमनिर्वाचनमा उनको पार्टीले दुईतिहाई बहुमत ल्यायो । उनी नेपाललको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

तर, २०१७ साल पुष १ गते राजा महेन्द्रले सैनिक कूमार्फत् वीपीलाई हटाए । उनलाई ८ वर्ष सुन्दरी जलमा थुनियो । वीपीका लागि सत्ता झल्याकझुलुक झुल्किने घामजस्तो मात्र भयो । उनको बाँकी सम्पूर्ण जीवन विपक्षी राजनीतिका दुःख, कष्ट र संघर्षको गाथाले भरियो ।

पुष्पलाल २०१५ सालको आम निर्वाचनमा काठमाण्डौं निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसमा अर्का हस्ती गणेशमान सिंहसंग पराजित भएका थिए । पुष्पलाल कहिल्यै कुनै राजकीय पदमा रहेनन् ।

वीपी कोेइराला ठूला साहित्यकार समेत थिए । उनका एक दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । ती कृति साहित्यिक तथा मानवीय मूल्यको दृष्टिकोणले एक से एक बेजोड छन् । वीपीका सुम्निमा, नरेन्द्र दाई र मोदीआइन अद्वितीय उपन्यास मानिन्छन् ।

मनोवैज्ञानिक दृष्टिविन्दुबाट कथा साहित्यमा उनले विशिष्ठ योगदान गरे । श्वेतभैरवी उनको प्रतिनिधी कथासंग्रह हो । आफ्नो कथा र आत्मकथामार्फत् उनले आत्मसंस्मरण विधालाई नयाँ उच्चाई दिए ।

पुष्पलाल अध्ययन र लेखनमा असाध्यै रुचि राख्थे । तर उनी राजनीति तथा इतिहासका विषयमा बढी लेख्दथे । साहित्य भने उनले खासै लेखेनन् । राजनीतिक साहित्यमा भने उनको बेजोड योगदान रह्यो । उनका राजनीतिक निबन्ध पुष्पलालका छानिएका रचनाहरु विभिन्न भागमा प्रकाशित छन् ।

वीपी र पुष्पलाल– दुुवैको व्यक्तिगत जीवन सादगीपूर्ण थियो । दुवैले चरम आर्थिक अभावका बीच पनि आफ्नो मिसनलाई जारी राखेका थिए । राजा महेन्द्र र पञ्चायती शासकले दुवैलाई सकेसम्मको दुःख दिएका थिए ।

आज वीपी र पुुष्पलालले स्थापना गरेका पार्टी देशका दुई मुख्य राजनीतिक दल बनेका छन् । यी दुई पार्टीबीच सहकार्य र संघर्षको लामो श्रृंखला छ । अहिले पुष्पलालको नेकपा सत्तामा छ भने वीपीको कांग्रेस प्रमुख प्रतिपक्षी छ ।

तर यी दुई नेताका आदर्श र सपनालाई उनका उत्तराधिकारहरुले न्याय गर्न सके कि सकेनन् भन्ने प्रश्न उत्तिकै ज्वलन्त छ । आज पनि देश स्थिर र संग्लो छैन । आर्थिकरुपमा कमजोर र गरिब छ । राष्ट्रियता र जनजीविकाका सवाल हल हुन सकेको छैन ।

यी दुई पार्टी मिलेरै २०४६ सालमा ३० वर्षे राजतन्त्रात्मक पञ्चायती शासनको अन्त्य गरेका थिए । तर, त्यस यता अर्को ३० वर्ष बितेको छ । यो पछिल्लो ३० वर्षमा यिनै कांग्रेस र कम्युनिष्टले देशमा आलोपालो शासन गरे । तर देशले अपेक्षित प्रगति गर्न सकेन ।

यस परिप्रेक्ष्यमा देशमा वैकल्पिक दल र विचारको खोजी व्यापक हुँदै गइरहेको छ । कुनै समयका महान क्रान्तिकारी नेताहरु बीपी र पुष्पलालले स्थापना गरेका पार्टी नै आज भ्रष्टाचार र कुशासनको संवाहक भएका छन् । उनीहरुले क्रान्तिकारी राजनीतिक कार्यदिशा अबलम्बन गर्न सकिरहेका छैनन् । दक्षिणपन्थी र यथास्थितिवादी शक्तिमा रुपान्तरित हुँदै गएका छन् ।

नेपाली कांग्रेस र नेकपाप्रतिको असन्तोष बढ्दै गए पनि वीपी र पुष्पलालको ऐतिहासिक भूमिका र योगदानप्रति नेपाली समाज एकमत छ । नयाँ पुस्ताले उनीलाई बारम्बार सम्झने गरेको छ । उनीहरुको सपना, आदर्श र नैतिक जीवनमूल्यलाई पछ्याउने प्रयत्न गरेको छ ।

स्मृति दिवसको अवससरमा दुवै मनिषीप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय