सुरु भयो मौवाखोला पुल मर्मत, सडक सुचारु हुन अझै तीन दिन लाग्ने
धादिङ, ७ साउन । बाढीले पुल भत्काएपछि अवरुद्ध पृथ्वी राजमार्गस्थित मौवाखोला पुल सुचारु हुन अझै तीन दिन लाग्ने भएको छ । बुधबारबाट पुलको मर्मतको काम सुरु भएको छ । बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको धादिङ र चितवन जोड्ने मौवाखोला पुलको करिब ५ मिटर भाग भत्किएको छ ।
गत सोमबार अविरल वर्षापछि आएको बाढीले पुलको धादिङतर्फको एप्रोच रोड (पुल र सडक जोड्ने भाग) करिब ५ मिटर भत्काएको थियो । पानीको बहाव कम भएपछि मर्मत सुरु भएको हो । बुधवार बिहानबाट खोलाको पानीलाई डाइभर्सन बनाएर पुनः पुल मुनीबाटै बगाइ निर्माण कार्य सुरु गरिएको छ ।
सडक विभागका महानिर्देशक केशव शर्माका अनुसार मर्मत कार्य बुधवारदेखि सुरु भएपनि पूर्णरुपमा सवारी आवागमन हुन तीन दिन लाग्नेछ । शर्माका अनुसार मौसमले साथ दिए शुक्रबार साँझसम्म सवारीसाधनको आवागमन सुचारु गराउने योजना विभागको रहेको छ ।
उता, पृथ्वीराजमार्गको गल्छीदेखि मौवाखोलासम्म ५० भन्दा बढी ठाउँमा खसेको पहिरो पन्छाउने काम सकिएको छ । उक्त सडकखण्डमा अहिले एकतर्फीरुपमा सवारी सुचारु गरिएको छ ।