scheduleशनिवार आश्विन १० गते, २०७७

नेकपा एकताबद्ध छ, पार्टी फुट्दैनः नेता अधिकारी

कास्की, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले पार्टी विभाजनको कुनै गुञ्जायस नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसका अवसरमा नेकपा कास्कीले बुधबार पोखरामा आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रममा उहाँले पार्टीमा बहस र छलफल भए पनि विभाजन नहुने स्पष्ट पार्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका हुन् ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका नेता अधिकारीले भने, ‘नेकपा एकीकृत नहुँदा संवैधानिक सङ्कटसमेत उत्पन्न हुन्छ, त्यसैले पार्टी एकताबद्ध छ, विभाजनको कुनै गुञ्जायससमेत छैन ।’

कम्युनिष्ट आन्दोलनमा ठूलो अपराध गुटबन्दी रहेको उल्लेख गर्दै उनले पुष्पलालको सपना पूरा गर्नसमेत विचारले पार्टीलाई निर्देशित गर्नुपर्नेमा जोड दिए । नेता अधिकारीले जाति तथा भाषाभन्दा माथि उठेर सङ्गठन, सङ्घर्ष र सिद्धान्तको नेतृत्व स्व पुष्पलालले गरेको बताउँदै पार्टीका केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका पार्टी नेतृत्व तथा लाभको पदमा बसेकाहरुले समेत आफूभन्दा पनि पार्टीलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष कृष्णबहादुर थापा तथा सचिव बखानसिंह गुरुङले संस्थापक महासचिव पुष्पलालको व्यक्तित्व तथा योगदानमाथि चर्चा गर्दै उनका सपना पूरा गर्न पार्टी कार्यकर्तालाई भावनात्मक रुपमा एकताबद्ध हुन आग्रह गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय