scheduleआइतवार आश्विन ११ गते, २०७७

म हिन्दू हुँ तर हिन्दुुत्वको राजनीति गर्दिनँ

शशी थरुर

म हिन्दू हुँ र हिन्दू हुनुमा गौरव गर्छु भन्ने कुरा मैले कहिल्यै लुकाईनँ । तर कुन प्रकारको, कस्तो हिन्दू हुँ भन्ने कुरा आउँछ । आज भन्दा करिब २२ वर्ष अघि मैले ‘इन्डियाः फ्रम मिडनाइट टु मिलेनियम’ लेखेको थिएँ, त्यतिखेर रामजन्मभूमि, बाबरी मस्जिदजस्ता मुद्दा थिए । मैले त्यतिखेर के बताउन चाहेको थिएँ भने म हिन्दू भएर पनि त्यस्ता कुराको विरुद्धमा छु । किन छु त ? यो प्रष्ट पार्न खोजेको थिए ।

म कस्तो हिन्दू परिवारमा जन्मेँ, कस्तो धर्म सिकेँ मैले–त्यही किताबमा मैले ३–४ पेज लेखेको थिएँ । त्यतिखेर मलाई लागेको थियो, त्यो धेरै भन्न जरुरी छैन । तर, त्यसपछि यो बिषय झनै विवादास्पद हुन थाल्यो ।

त्यसपछि मैले ‘आई एम हिन्दू’ र ‘द वे अफ हिन्दू’ जस्ता किताब लेखेँ । भारतमा बहुलता चाहिन्छ, यही भित्र म एक असल हिन्दू हुन सक्छु । अरु कोही असल मुस्लिम हुन सक्दछ । यदि हामी एकअर्कालाई सम्मान गर्छौं भने यसमा म कुनै जटिलता देख्दिनँ ।

हाम्रो देशमा धर्म एक व्यक्तिगत आस्थाको विषय मानिन्थ्यो । हामी सबै धर्मलाई उत्तिकै सम्मान गर्थ्यौं । तर अहिले स्थिति अलिक फरक छ । विशेषतः सन् २०१४ पछि जुन संस्थापन पक्ष बनेको छ, त्यसले हिन्दू बहुमत अवधारणालाई बढावा दिइरहेको छ । मलाई लाग्यो कि यसको उत्तर दिनुपर्छ ।

शशी थरुर

सबै हिन्दू उनीहरुको पक्षमा छैनन् । भोटमा नै हेर्ने हो भने उनीहरु त्यही २७ देखि ३१ प्रशितसम्म भोट ल्याइहेका छन् । बाँकी मतदाता सबै हिन्दू हैनन्, अरु पनि छन् तर यो पक्का हो कि हिन्दू मतदाताकै एउटा ठूलो हिस्सा उनीहरुको पक्षमा छैन । यो देशमा त्यस्ता धेरै मानिस छन जो हिन्दू धर्म मान्दछन् तर हिन्दुत्वको दर्शनमा आधारित राजनीतिसँग कुनै सरोकार राख्दैनन् वा त्यसलाई ठीक मान्दैनन् ।

जस्तो कि मुस्लिमको कुरान हुन्छ, शिखको गुरुग्रन्थ साहिब हुन्छ, क्रिश्चियनको बाइबल हुन्छ, हाम्रो त्यस्तो कुनै ग्रन्थ हुँदैन । हिन्दूमा एक साथ कयौं ग्रन्थ हुन्छन् । कुनै आधिकारिक चर्च वा पादरी हुँदैन । न कुनै विशेषबार हुन्छ । हिन्दूका लागि न कुनै विशेष आइतवार हुन्छ, सबै बार बराबर हुन्छन् । सबै बार फरकफरक देवताको पूजा गर्न सकिन्छ ।

हिन्दूमा यी सबैको छनौट हुन पाउँछ । ग्रन्थको छनौट, देवताको छनौट, मन पर्ने पवित्र बारको छनौट हुन पाउँछ । कुन देवता मान्ने, कुन ग्रन्थको अनुयायी हुने छान्न पाइन्छ । हिन्दुत्वको मुख्य मूल्य नै छनौटको अधिकार हो । यहाँसम्म कि गुरु पनि छान्न पाइन्छ । गुरु माने पनि हुन्छ, गुरु नमाने पनि हुन्छ । हिन्दू धर्ममा कुनै एक इमाम, एक पोप हुँदैन । यहाँ फतवा जारी गर्ने अधिकार कसैमा हुँदैन ।

हिन्दू एक उदार धर्म हो । यसले हरेक व्यक्तिलाई आफूभित्र चियाउन, खोज्न र आफ्नो सच्चाई आफैं पत्ता लगाउन प्रेरित गर्दछ । यस्तो धर्मलाई कसरी सामूहिक पहिचानको बिषय बनाउन सकिन्छ ? जो यस्तो काम गर्दैछन, त्यो एक प्रकारको गुण्डागर्दी हो ।

यहाँसम्म कि हिन्दू धर्मले नास्तिक हुने अधिकार पनि दिन्छ । हिन्दू हुन ईश्वरको अस्तित्व अस्वीकार गर्न पनि सकिन्छ । हिन्दू धर्ममा ६ वटा दर्शन हुन्छन्, जसलाई षडदर्शन भनिन्छ, ती मध्ये कतिपय दर्शनले भगवान हुन्छ कि हुँदैन भन्ने कुरामै शंका गर्दछ ।

हिन्दूहरुको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा यही कुराको चर्चा छ । त्यहाँ प्रश्न उठाइन्छ– कस्ले बनायो यो संसार ? कसरी भयो सृष्टि ? कहाँबाट आयो यो सबै ? फेरि यो भनिन्छ कि यी कुरा त– भगवानलाई पनि थाहा छैन । अर्थात् हिन्दू धर्ममा प्रश्न गर्न पाइन्छ । शंका गर्न पाइन्छ । अस्वीकार गर्न पाइन्छ । हिन्दू धर्मले सबै प्रश्नको कुनै निर्धारित उत्तर दिँदैन । यही नियम अनुसार गर, यही ग्रन्थ पढ भनेर कसैलाई भन्दैन ।

यी मान्छे जो हिन्दुत्वको राजनीति गर्दैछन्, मलाई लाग्छ यिनीहरुलाई हिन्दुत्वको अर्थ नै थाहा छैन । यिनीहरु हिन्दुत्वलाई एक पहिचानको आधार बनाउँदैछन् । उनीहरु पहिचानको राजनीति गर्दैछन् । हिन्दुत्वलाई पहिचानको आधार बनाउँदैछन् । हिन्दुत्वको राजनीति पहिचानको राजनीति हो ।

म त्रिबरम्बपुरबाट ३ पटक निर्वाचित भए । म त्यहाँ जाँदा मन्दिर पनि जान्छु, मस्जिद पनि जान्छु । यहाँसम्म कि चर्च पनि जान्छु । यो उदारता हिन्दू धर्ममा हुन्छ । यसो गर्नु कुनै नराम्रो कुरा हैन । जसलाई जहाँ जाँदा राम्रै हुन्छ भन्ने लाग्छ जान पाइन्छ । तर, यहाँ केही मानिस हिन्दुत्वलाई यसरी प्रस्तुत गर्दैछन्, मलाई लाग्दछ, त्यो मैले मान्दै आएको हिन्दू धर्म हैन । यहाँका बहुमत हिन्दूहरु त्यस्तो कट्टर हिन्दुत्व बुझ्दैनन्, मान्दैनन् ।

म स्वामी विवेकानन्दमा विश्वास गर्दछु । मैले उनको बारेमा एक अध्याय लेखेको पनि छु । यी मान्छे जो विवेकानन्दको नाम बारम्बार लिन्छन्, उनीहरु विवेकानन्दलाई विश्वास नै नभएको कुरा भनिरहेका हुन्छन् । विवेकानन्दको अत्यन्त चर्चित भाषण छ, सिकागो भाषण । त्यसमा उनी भन्दछन् कि म यस्तो धर्मको तर्फबाट बोल्दैछु जसले स्वीकार हैन, सहिष्णुता सिकाउँछ ।

सहिष्णुताको अर्थ हरेकलाई आआफ्नो बुझाईको सत्यमा विश्वास गर्न अधिकार छ । जेलाई हामी सत्य भनिरहेका छौं, त्यो गलत पनि हुन सक्दछ, यदि कसैलाई गलत कुरा नै पत्याउन मन छ भने त्यो पनि पत्याउन पाउँछ । सहिष्णुताको अर्थ विश्वासको आधारमा कसैलाई आदर वा अनादर गर्न सकिन्नँ । म जे मान्छु त्यही माने वापत मलाई सम्मान गरियोस्, तपाई जे मान्नु हुन्छ, त्यही बापत मैले तपाईलाई सम्मान दिन्छु, आदरको यो पारस्परिकता नै सहिष्णुता हो ।

विवेकानन्द भन्छन् कि जसरी सबै नदीनालाहरु मिल्दै गएर अन्त्यमा सागरमा पुग्दछन, सबै धर्महरु अन्त्यमा एकै ठाउँमा पुग्दछन् । यदि पुग्ने ठाउँ सबैको एउटै हो भने झगडा किन ? अल्लाह भन्नुस्, विष्णु भन्नुस्, ब्रह्म भन्नुस, यी सबै अपरिभाषित शक्ति हुन् । यसले के फरक पर्छ ? किन झगडा गरिरहनु पर्छ ?

हिन्दू धेरै पुरानो धर्म हो । तर हिन्दुत्वको राजनीति शुरुवात भएको मुस्किलले १ सय वर्ष भयो होला । सन् १९२२ तिरबाट यो धारको चर्चा हुन थाल्यो । गोल्वाल्कर तथा दिनदयाल उपाध्यायजस्तो नेता आए । उनीहरुले हिन्दुत्वको अर्थ भारतलाई मातृभमि, पितृभूमि र पवित्रभूमि मान्नु हो भने । यहाँ बस्ने मुस्लिम वा क्रिश्चियनहरुको जन्मभूमि यही होला, तर पवित्र स्थान वा पवित्र भूमि त भारतमा छैन । त्यसो भए गोल्वल्करको मान्यता अनुसार ती कि त पाहुना भए कि त जबरजस्ती भित्र पसेको लुटेरा भए ।

गोल्वाल्कर त उनीहरुलाई खेद्नु पर्छ भन्ने धारणा राख्थे । तर पछि दिनदयाल उपाध्यायले गोल्वालकरको धारणामा परिवर्तन ल्याए । उनले भने कि करोडौं मान्छेहरुलाई खेद्न सम्भव छैन । खेद्न सकिन्नँ । बरु उनीहरु लाई स्वीकार गर्न लगाउनु पर्छ ।

हाम्रो संवैधानिक मान्यतासँग उनीहरुको सोच मिल्दैन । हाम्रो संविधानले भन्छ, भारत एक भूमिको नाम हो, यहाँ जो बसेको छ, त्यो सबै बराबर हो र उसको अधिकार बराबरी हुन्छ । तर हिन्दुत्ववादी नेताहरु यो सोचलाई नै गलत ठान्दछन् । जस्तो कि गोल्वाल्कर, दिनदयाल वा सारवरकारको भनाई हुन्थ्यो कि भारतको संविधान नै गलत हुन्छ ।

उनीहरु ठान्दछन् कि भारत भूमि हैन, देश हो । भारतमा जो बस्छ त्यो हिन्दू हुन्छ । हिन्दू मात्र भारतमा बस्न सक्छ । भारतमा बस्ने हो भने गैरहिन्दुले पनि हिन्दुत्व स्वीकार गर्नु पर्दछ । हिन्दुत्वको अधिनस्थ हुनु पर्दछ । भारत एक हिन्दू राज्य, हिन्दू राष्ट्र हुनु पर्दछ । यसरी हिन्दुत्वको राजनीति हाम्रो संविधान, संवैधानिक अधिकारको मान्यता र सहिष्णुताको सिद्धान्त विपरित छ ।

( वायरमा आरफा खानम शेरवानीसँगको अन्तर्वार्ताबाट भावानुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय